+
+

जब कैदीले जेलबाट निस्कन अर्का कैदीलाई साढे २ करोड बुझाए

विश्वास दिलाउन भाइटीका लगाउन श्रीमतीलाई कारागार पठाए, अनि सुरु भयो ठगीको खेल ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ असार २३ गते २१:२१

२३ असार, काठमाडौं। सधैं जस्तै डिल्लीबजार जेल परिसरभित्र मर्निङ वाकमा  थिए केदारप्रसाद गौतम । हल्का कुदिरहेका बेला केदारको ‘कुम’ अर्का कैदीसँग ठोक्कियो । ठोक्किएपछि बोल्नै पर्‍यो । बोलेपछि चिनापर्ची हुने नै भयो । ‘म दीपकप्रसाद चौलागाईं, घर रामेछापको दोरम्बा–५ ।’

केदार र दीपकबीच थप सोधखोज सुरु भयो । केदारको थर गौतम रहेको जानकारी पाएपछि दीपकले साइनो केलाए, ‘मेरो ससुराली पनि गौतम हो ।’ ‘ज्वाइँसाब’ साइनो फुरिहाल्यो ।

यसरी नजिकिएका थिए सर्लाहीको रानीगञ्ज घर भएका केदारप्रसाद गौतम र दोरम्बा घर भएका ५० वर्षीय दीपक । यो २०७८ भदौको कुनै एक बिहानको कुरा थियो । दुवैको कारागार बसाइमा एउटा समानता भेटिन्छ– बैंकिङ कसुर । कसुर एउटै हो तर फरक–फरक घटनामा, सजाय पनि फरक ।

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएर ११ दिन कैद १५ लाख जरिवाना सुनाइएपछि कैद भुक्तानका लागि कारागार आइपुगेको दीपकले केदारलाई बताए । त्यसपछि केदारले पनि बैंकिङ कसुरमै आफूलाई ५ वर्ष कैद सुनाइएको बेलीविस्तार लगाए । तर कैद भुक्तान गरेको भने ६ वर्ष भइसकेको थियो ।

२०७२ असारदेखि केदार कारागारमै थिए । ५ वर्ष कैद तोकिएको तर ६ वर्षसम्म जेलमै रहेको सुनाएपछि दीपकले थप सोधखोज गरे । कारण खुल्यो करिब ३३ करोड बिगो बुझाउन नसक्दा कैदमै बस्नु परेको ।

कैद बसेको ११ दिनमै छुटेर जाने दीपकले योजना सुनाए– बिगोको बन्दोबस्त म मिलाउँछु । अब कारागारबाट निस्कनुपर्छ । ३३ करोड बिगो तिर्न नसके पनि जायजेथा धरौटी राखेर निस्कन मिल्ने र त्यसका लागि केही रकम खर्च गर्नुपर्ने बताएपछि केदार तयार भए ।

जब विश्वास दिलाउन भाइटीका लगाउन श्रीमतीलाई कारागार पठाए

अनुसन्धानका क्रममा दीपकले विश्वास दिलाउनकै लागि केदारलाई भाइटीका लगाउन आफ्नी श्रीमती रीताकुमारी चौलागाईंलाई समेत पठाएको खुलेको छ ।

२०७८ सालको तिहारमा भाइटीका लगाउन भन्दै दीपकले श्रीमती रितालाई पठाएका थिए । श्रीमती रिताले समेत यो कुरा स्वीकार गरेकी छिन् । ‘श्रीमान्ले कर गरेपछि डिल्लीबजार कारागारमै गएर केदारलाई टीका लगाइदिएकी हुँ । उहाँ पनि गौतम हुनुहुँदोरहेछ । त्यतिबेला मात्रै हाम्रो भेटघाट र चिनजान भएको हो’, रिताले बयानमा भनेकी छिन् ।

त्यतिबेला आफ्ना श्रीमान् दीपकसँग केही कामको कुरा भइरहेको भन्नेबारे केदारले बताए पनि आफूले के काम भनेर सोधीखोजी नगरेकाले आफूलाई केही थाहा नभएको रिताको भनाइ छ । ‘ज्वाइँले अदालतको काम गरिरहनुभएको छ भन्नुभएको हो । तर के काम भनेर मैले थप सोधीखोजी गरिनँ’, रिताले प्रहरी समक्ष बताएकी छिन् ।

अनि सुरु भयो ठगीको खेल

भाइटीका समेत लगाएर विश्वास दिलाएपछि जेलमै बनेको योजना अनुसार दीपकले बाहिर निस्केर केदारका आफन्त लेखराज गौतम र श्रीमती सम्झना गौतमलाई भेटे ।

धरौटीका लागि जग्गा राख्ने बताउँदै एक हप्तापछि कुरा गर्ने भनेर दीपक र लेखराज छुट्टिए । जग्गा मिलाएको भन्दै केदारसँग सुरुमा १५ लाख रुपैयाँ दीपकले मागे । केदारको घर गएर उनकी श्रीमती सम्झनामार्फत बलराम दंगाल नाम गरेको मानिसको १५ लाखको चेक दीपकले बुझे । यद्यपि उक्त चेक आफूले लेखराज गौतमलाई दिएको दाबी गरेका छन् ।

१५ लाख लिएको केही समयपछि फेरि सिन्धुपाल्चोकमा २२० रोपनी जग्गा मिलेको छ । लालपुर्जा समेत छ भन्दै आफूलाई म्यासेन्जरमा लेखराजले पठाएको दीपकले बताएका छन् । उक्त जग्गाको लालपुर्जा देखाएर फेरि केदारबाट २० लाख रुपैयाँ दीपकको समूहले लियो । केदारले निर्मला गौतम मार्फत २० लाखको चेक दिएका थिए ।

यद्यपि यो चेक पनि साटेर लेखराज गौतमको नबिल बैंक लिमिटेडको खातामा जम्मा गरेको दाबी दीपकले प्रहरीसमक्ष गरेका छन् ।

दीपकले पैसा जति सबै लेखराजलाई दिएको दाबी गरेका उनै लेखराजको यही बीचमा मृत्यु हुन पुग्यो । ३५ लाख रुपैयाँ केदारबाट लिइसकेपछि कोरोनाका कारण लेखराजको मृत्यु भएपछि अर्का व्यक्ति जोडिए मीनबहादुर बस्नेत ।

अब काम अघि बढेको भन्दै केदार मार्फत विभिन्न व्यक्तिबाट पटक पटक गरी अहिलेसम्म २ करोड १५ लाख रुपैयाँ यो समूहले लिन्छ । तर काम हुनुको साटो उनीहरू सम्पर्कविहीन हुन्छन् ।

मीनबहादुरले कारागारमै गएर केदारलाई भेटेर काम हुनेमा ढुक्क हुन भन्दै विश्वास दिलाए । थप जग्गा जुटाएर निकाल्ने काममा मीनबहादुरको औपचारिक प्रवेश भयो ।

त्यसपछि मीनबहादुरले सिन्धुपाल्चोककै थप जग्गाहरू खोजी गरिसकेको भन्दै लालपुर्जा समेत लिएर डिल्लीबजार कारागार पुग्छन् । केदारलाई निवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउन लगाउँछन् ।

काम अघि बढेको भन्दै २१ साउन २०७८ मा लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको चुणकुमार गौतमको नाममा खाता रहेको चेक मार्फत ५० लाख यो समूहले लगेको पीडित पक्षको दाबी छ ।

केदारले नै भने अनुसार आफूले पटक–पटक दीपकलाई ५० लाख दिएको भन्दै बयान दिएका छन् । सुरज लामाले पनि दुई पटक गरेर २५ लाख दीपकलाई दिएको बताएका छन् ।

अब काम अघि बढेको भन्दै केदार मार्फत विभिन्न व्यक्तिबाट पटक पटक गरी अहिलेसम्म २ करोड १५ लाख रुपैयाँ यो समूहले लिन्छ । तर काम हुनुको साटो उनीहरू सम्पर्कविहीन हुन्छन् ।

२ करोड १५ लाख तिर्दा पनि अहिलेसम्म बाबु कारागारमै रहेपछि उनका छोरा सिद्धार्थले प्रहरी वृत्त नयाँबानेश्वरमा १ जेठ २०८१ मा ठगीको जाहेरी दिएका थिए । १४ जेठमा काठमाडौंबाट दीपक र उनकी श्रीमती रितालाई पक्राउ गरिएको नयाँबानेश्वर वृत्तका इन्स्पेक्टर सुशोभन श्रेष्ठले बताए । मीनबहादुर भने अहिलेसम्म फरार छन् ।

२ करोड १५ लाख मागदाबी गर्दै मुद्दा दर्ता

यो ठगी प्रकरणमा प्रहरी वृत्त नयाँबानेश्वरले मुद्दा दायर गरेको छ । वृत्तका इन्स्पेक्टर सुशोधन श्रेष्ठका अनुसार २ करोड १५ लाख माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

जसमा दीपक र उनकी श्रीमती ४७ वर्षीया रिताका साथै मकवानपुरको थाहा नगरपालिका–४ का मीनबहादुर बस्नेत विरुद्ध मुद्दा दायर गरिएको छ । श्रीमान्–श्रीमती पक्राउ परे पनि मीनबहादुर भने अहिलेसम्म फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको नयाँबानेश्वर वृत्तले जनाएको छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्तर्गतको ठगी कसुर गरेको भन्दै उनीहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ । जसमा ठगी बराबरको बिगो २ करोड १५ लाख भराउनुका साथै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना माग दाबी गरिएको छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्तर्गतको ठगी कसुर गरेको भन्दै उनीहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ । जसमा ठगी बराबरको बिगो २ करोड १५ लाख भराउनुका साथै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना माग दाबी गरिएको छ ।

त्यस्तै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क भराउन समेत मागदाबी गरिएको छ ।

उनीहरूलाई बयानका लागि आइतबार अदालत उपस्थित गराइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासमा उनीहरूको बयान भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ ।

ताराप्रसादलाई पनि जेलबाट निकाल्छु भन्दै ४८ लाख ठगी

त्यसैगरी जेलमै रहेका अर्का व्यक्ति ताराप्रसाद काफ्लेलाई पनि बाहिर निकाल्ने भन्दै ४८ लाख रुपैयाँ दीपकले ठगी गरेको खुलेको छ ।कृषि विकास बैंकको जाहेरीपछि सीआईबीले ताराप्रसादलाई पक्राउ गरेको थियो । तर उच्च अदालत पाटनले उनलाई ३३ लाख धरौटीमा छोड्न आदेशपछि छुटेका थिए ।

पछि अदालतले फैसला गर्दा ४ वर्ष कैद र ३ करोड १४ लाख ४८ हजार जरिवानाको फैसला सुनाइएको थियो । उक्त फैसला विरुद्ध ताराप्रसाद सर्वोच्च अदालत पुगेका थिए ।

अन्तिम पटक तारेख लिन अदालत पुग्दा ३ करोड १४ लाखको धरौटी राख्न नसकेकाले अब तारेखमा बस्न नमिल्ने भन्दै ताराप्रसादलाई जेल पठाइएको थियो । उनी कारागारभित्रैबाट मुद्दा लड्दै ३ करोड जरिवाना बापतको जायजेथा धरौटी राख्ने प्रयासमा थिए ।

सोही क्रममा ताराप्रसादको जेलमै दीपकसँग भेट भएपछि दीपकले धरौटी राख्ने व्यवस्था मिलाइदिन्छु भन्दै ४८ लाख रुपैयाँ लिएर ठगी गरेको खुलेको छ ।

४८ लाख रुपैयाँ बुझाइसकेपछि १७ माघ २०७८ मा ताराप्रसादको डिल्लीबजार कारागारमै मृत्यु भएको थियो । आफ्ना श्रीमान्लाई जेलबाट निकाल्छु भन्दै ४८ लाख रुपैयाँ ठगी गरेको पाइएपछि श्रीमती विनिता काफ्लेले प्रहरीमा दीपक र उनकी श्रीमती रिता विरुद्ध जाहेरी दिएकी थिइन् । अहिले यी दुवै मुद्दा एकसाथ राखी प्रतिवादी विरुद्ध बयान भइरहेको छ ।

 जेलबाट निस्कन २ करोड १५ लाख बुझाउने केदार को हुन् ?

 केदार अहिले केन्द्रीय कारागार सुन्धारामा छन् । जेलबाट निस्कन भन्दै उनले २ करोड १५ लाख त दीपकको समूहलाई मात्रै बुझाएका थिए । जेलबाट निस्कन २ करोड बढी बुझाउने केदार भने कुनै समय कृषि विकास बैंकको शाखा अधिकृत थिए ।

बैंककै करिब ३४ करोड हिनामिना गरेपछि उनी पक्राउ परेर अहिलेसम्म जेलमै छन् । २०७२ सालसम्म केदार कृषि विकास बैंकको स्वयम्भूस्थित शाखामा शाखा अधिकृतको रूपमा कार्यरत थिए । सोही बेला उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८ असार २०७२ मा पक्राउ गरेको थियो ।

केदारले कोर बैंकिङ सिस्टम लागू नभएका शाखाहरूमा रेमिट्यान्सबाट रकम आएको देखाएर आफूले खोलेको नक्कली खातामा रकम जम्मा गरेका थिए । उनले आफूलाई तेजबहादुर थापा भनेर चिनाउँथे र सोही अनुसारका आईडी कार्डहरू समेत बनाएका थिए भने तेजबहादुरकै नाममा नक्कली खाता खोलेका थिए ।

उनले २०७१ असारदेखि एक वर्षमा ५५ पटकमा गरी ३३ करोड ८२ लाख ५७८ रुपैयाँ निकालेका थिए । त्यतिबेला सीआईबीले केदारबाट करिब १ करोड रुपैयाँ रिकभर गरेको थियो ।

 

केदारले कोर बैंकिङ सिस्टम लागू नभएका शाखाहरूमा रेमिट्यान्सबाट रकम आएको देखाएर आफूले खोलेको नक्कली खातामा रकम जम्मा गरेका थिए । उनले आफूलाई तेजबहादुर थापा भनेर चिनाउँथे र सोही अनुसारका आईडी कार्डहरू समेत बनाएका थिए भने तेजबहादुरकै नाममा नक्कली खाता खोलेका थिए ।

यो प्रकरणमा केदारका साथै उनकी जेठी श्रीमती सम्झना, कान्छी श्रीमती जेनी श्रेष्ठ, स्वयम्भू शाखाकी लेखापाल गीता पन्त, शाखा प्रबन्धक भरतबहादुर बानियाँ, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दिप गुप्ता र रामकुमार कुम्हार गरी ९ जना पक्राउ परेका थिए ।

उच्च अदालत पाटनकी न्यायाधीश नीता गौतम दीक्षित र शान्तिसिंह थापाको संयुक्त इजलासले २८ कात्तिक २०७४ मा केदारलाई मात्रै ५ वर्ष कैद र ३२ करोड ९४ लाख ८० हजार ७०४ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

शाखा प्रबन्धक भरतलाई १ लाख जरिवाना र १ महिना कैद, गीता, जेनी र सुमनलाई सफाइको फैसला गरेको थियो । सम्झनालाई ५० लाख जरिवाना, रामकुमार र सन्दिपलाई जनही २५ हजार जरिवाना र १५ दिन कैद र सूर्यबहादुरलाई ३० लाख जरिवाना र २ वर्ष कैदको फैसला सुनाएको थियो ।

केदार विरुद्ध अख्तियारदेखि सम्पत्ति शुद्धीकरणको समेत मुद्दा

बैंकिङ कसुरमा दोषी ठहर भएका केदार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले समेत मुद्दा दायर गरेका छन् । केदार सहित ८ जनालाई अभियुक्त बनाउँदै अख्तियारले ९ मंसिर २०७६ मा मुद्दा दायर गरेको थियो ।

सरकारी सम्पत्ति हिनामिना गरी लाभ लिएको भन्दै करिब ३४ करोड मागदाबी सहित मुद्दा दायर भएको थियो ।

यसैगरी गत चैतमा मात्रै केदार विरुद्ध सम्पत्ति शुद्धीकरणले पनि मुद्दा दायर गरेको छ । ८ वर्ष लामो अनुसन्धान सकेर ५ चैत २०८० मा केदार विरुद्ध सम्पत्ति शुद्धीकरणले ३४ करोड ६९ लाख ४१ हजार बिगो कायम गर्दै मुद्दा दायर गरेको छ । यी दुवै मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छन् ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?