+

ओलम्पिक खेल्ने खेलाडीसँग राखेप सदस्य सचिवको छलफल

२०८१ असार  २३ गते १९:५६ २०८१ असार २३ गते १९:५६
ओलम्पिक खेल्ने खेलाडीसँग राखेप सदस्य सचिवको छलफल

२३ असार, काठमाडौं । यही जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्समा हुने ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छलफल गरेका छन् ।

ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूको तयारी र सरकारका तर्फबाट गर्नुपर्ने कामका विषयमा सदस्य सचिव घिसिङले खेलाडीहरूसँग छलफल गरेका हुन् ।

ओलम्पिकमा नेपालका तर्फबाट ६ खेलमा ७ खेलाडी सहभागी हुँदैछन् । त्यसमध्ये नेपालमै बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्बन्धित प्रशिक्षकहरू सँग भएको छलफलमा सदस्य–सचिव घिसिङले तयारीका लागि कुनै कमी हुन नदिने बताए ।

उनले खेल सामग्री, खेल पोशाक, प्रशिक्षणको तालिका सम्बन्धमा सदस्य–सचिवले चासो राखेका थिए ।

देशले ठूलो आशा र भरोसा गरेको भन्दै खेलाडीहरूलाई उच्च मनोबलका साथ तयारी र प्रतिस्पर्धाका लागि सदस्य–सचिव घिसिङले सुझाव दिए । स्वास्थ्यलाई विशेष ख्याल गर्न सुझाव दिंदै घिसिङले उचित प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् ।

खेलाडीले आफूहरूलाई घरबाटै ट्रेनिङमा आउन सहज भएको भन्दै बन्द प्रशिक्षण निकै उपलब्धिमूलक भएको बताएका छन् । प्रशिक्षकहरूले खेलाडीको प्रशिक्षण तालिम, खुराक, खेल सामग्री व्यवस्थापनका विषयमा जानकारी दिएका थिए ।

प्रशिक्षणमा रहेका खेलाडीहरूले बिहान–बेलुका दैनिक ५ घण्टाभन्दा बढी प्रशिक्षण गरिरहेको राष्ट्रिय टिम तयारीका निर्देशक दिपक बिष्टले जानकारी दिए ।

छलफलमा नेपालमै बन्द प्रशिक्षणमा रहेका एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र प्रशिक्षक कान्ति महतो, जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान, प्रशिक्षक देवु थापा, सुटिङ खेलाडी सुस्मिता नेपाल र प्रशिक्षक प्रदिप खाती सहभागी थिए ।

पेरिस ओलम्पिमा यस पटक नेपालबाट सहभागी हुने सात जना खेलाडीमध्ये टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका डुवाना लामा र एलेकजेण्डर शाह वैदेशिक प्रशिक्षणमा रहेको निर्देशक बिष्टले जानकारी दिए । श्यान्टु अष्ट्रेलिया, प्रिन्स श्रीलंका, डुवाना थाइल्याण्ड तथा अलेकजेण्डर अमेरिकामा प्रशिक्षण गरिरहेका छन् ।

छलफलमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी र राष्ट्रिय टिम तयारीका उपनिर्देशक दिपक श्रेष्ठको पनि उपस्थिति थियो ।

राष्ट्रिय खेलकुद परिषद्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय