+
+

कस्तो छ भरतपुरको दियालो बंगला दरबार ?

गुरुयोजना महानगरले बनाउँछ : रेनु दाहाल

सुवास पण्डित सुवास पण्डित
२०८१ असार २४ गते १४:४९

२४ असार, चितवन । तत्कालीन राजा महेन्द्रको निधन भएको भरतपुर आँपटारीस्थित दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला भएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार असार २३ गतेदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुला गरिएको हाे ।

नेपाल ट्रष्ट मातहतका सम्पदाहरु स्थानीय तहसँग समन्वय गरेर सर्वसाधारणका लागि खुला गर्ने उद्देश्य अनुरुप भरतपुर महानगरको व्यवस्थापन रहने गरी गत चैत ९ गते महानगरपालिका र नेपाल ट्रष्टका बीचमा सम्झौता भएको थियो ।

नेपाल ट्रष्टले ऐतिहासिक एवं सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि २०८० बनाएर पूर्वराजाहरूले भोगचलन गरेका दरबारहरू सर्वसाधारणका लागि खुला गर्ने नीति लिएको छ ।

सोही अनुसार गत वर्ष पोखरामा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको थियो भने, यस वर्ष दियालो बंगला दरबार खुला गरिएको छ । हेटौंडाको कान्ति ईश्वरी गृह पनि खुला गरिएको छ । राजा महेन्द्रले २०२६ सालमा निर्माण गरेको यो दरबारलाई शीतकालीन दरबार समेत भनिन्छ । राजा महेन्द्र राजपरिवारका सदस्यहरू यहीं आउने गर्दथे ।

दरबारको मूल गेट

झण्डै ५४ बिघामा फैलिएको यो दरबारको ६ बिघा ३ कट्ठा जग्गा भने नारायणगढ मुग्लिन सडकखण्डको दायाँतर्फ र बाँकी दरबार सहितको भाग भने बायाँतर्फ पर्छ ।

नारायणी नदीको किनारमा, धार्मिकस्थल देवघाटको नजिकै जंगल नै जंगल नै ढाकिएको यो दरबार राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रहरु विशेष गरी जाडोको समयमा शिकार खेल्न र जाडो छल्नका लागि यहाँ आएर बस्ने गर्दथे ।

चितवन देशको मध्यभागमा भएकाले गर्दा पनि पूर्व तथा पश्चिमको यात्रामा निस्कनु पर्दा पनि राजाहरू यहीं आएर बस्थे । शान्त, सुन्दर र एकान्त ठाउँमा रहेको दरबार क्षेत्र वरपरको सुरक्षा भने नेपाली सेनाले गर्दै आएको छ । दरबारको दक्षिणतर्फ जाडोमा राजाहरुले आगो बालेर ताप्ने ठाउँ पनि छ ।

उत्तरतर्फ राजाहरू तथा परिवारका सदस्यहरूको स्वीमिङ पुल छ । अहिले यो जीर्ण बनेको छ । नजिकै त्यसलाई छेक्न बनाइएको पर्खाल छ ।

दरबारको पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्व राजारानी महेन्द्र र वीरेन्द्रको तस्वीर देख्न सकिन्छ । भर्‍याङमा २०२६ सालमा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही राखिएको छ ।

भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ । दरबारमा पाँचवटा बेडरुम छन् । राजपरिवारका सदस्यले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ ।

दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वार्टर छ । केही पर सवारी साधन राख्नका लागि ग्यारेज छ ।

मनमोहक तटीय क्षेत्र, जलपर्यटनका क्रियाक्रलापहरु, साल, जामुन, यमुना, सिन्दुर, सिसौ जस्ता रुखहरूको हरियाली, वनस्पति, विभिन्न प्रजातिका चराचुरुङ्गी एवम् राजाहरूले प्रयोग गरेका सामग्रीहरू दियालो बंगलाको प्रमुख आकर्षण हुन् ।

२०२८ माघ ३ गते यो दरबारमा बस्न आएका राजा महेन्द्रलाई माघ १६ गते राति ११ बजेतिर अचानक हृदयघात भएको थियो । उनलाई चिकित्सकहरुले बिहान पौने ४ बजे मृत घोषणा गरेका थिए । उनी एक महिना बस्ने भनेर त्यतिबेला चितवन आएका थिए ।

राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ । राजा महेन्द्र बेलाबखत परिवारसहित यहीं दरबारमा आएर बस्ने, नारायणी नदीको तटीय क्षेत्रमा घुम्ने गर्दथे ।

राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए । देशमा गणतन्त्र आएपछि लामो समयसम्म मर्मतसम्भार र उपभोग नहुँदा दरबार जीर्ण बन्दै गएको थियो । दरबारको अगाडिको भागको बार्दली नै भत्किएकोले हालै मर्मत गरिएको छ ।

नेपाल ट्रष्टको ९० लाख र भरतपुर महानगरको २० लाखको लागतमा दरबारको मर्मत तथा सरसफाइ र विभिन्न पूर्वाधारहरु तयार गरिएका छन् ।

दरबारमा विगत २५ वर्षदेखि काम गर्दै आएका नेपाल ट्रष्टका कार्यालय सहयोगी नवराज ढकालले दरबारको भत्किएका केही संरचनाहरु पछिल्लो समयमा पुनर्निर्माण हुँदा खुसी लागेको बताए ।

दरबारको मूल भवनको अगाडिको भत्किएको भाग जस्ताको त्यस्तै पुनर्निर्माण गरिएको छ । अन्य संरचनाहरुमा रंगरोगन गरिएको छ ।

दरबारको बगैंचा, पेटी जस्ता संरचनाहरुमा सुधार गरिएको छ । टिकट घर, शौचालय, पार्किङ, गार्डेनिङ लगायतका कामहरु हुँदैछन् ।

दरबारमा यतिकै रहेका सामानहरुलाई मिलाएर र्‍याकमा राख्ने, तिनीहरुको कोडिङ गर्ने र संक्षिप्त विवरण राख्ने काम बाँकी रहेको भरतपुर महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए ।

महानगरले ५ लाख रुपैयाँ बजेटले ती कामहरू गर्ने उनले बताए । दरबारमा अवलोकनका लागि जान आँपटारीमा अहिले भइरहेको गेटबाट नभई अर्को गेटबाट भित्र जाने व्यवस्था मिलाइने छ ।

दरबार खुला गरिएको भनिए पनि सर्वसाधारणले अहिले नै भित्र गएर अवलोकन गर्न भने पाउँदैनन् । भित्रका आन्तरिक केही कामहरु सकेपछि मात्रै घुम्ने व्यवस्था गरिने महानगरका इन्जिनियर लामाले बताए । दरबार भित्रको आन्तरिक व्यवस्था, रेखदेख र व्यवस्थापनको काम नेपाल ट्रष्टका ४ जना कर्मचारीहरुले गर्नेछन् ।

दरबारका कर्मचारी ढकालले भित्री भागको हेर्ने जिम्मा आफूहरुको रहेको भन्दै अहिले दरबारको मूल भवन हेर्न पाइए पनि एडीसी भवनहरु भने खुला नगरिएको बताए ।

भित्र सीसीटिभी जडानका काम भइसकेका छन् । टिकट काट्नका लागि टिकट घर सञ्चालन गर्न बाँकी छ ।  टिकटको दर कति राख्ने भन्नेबारेमा निर्णय लिन पनि बाँकी छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न पाइने छ । टिकटबाट उठेको रकमबाट ५० प्रतिशत रकम ट्रष्टलाई र ५० प्रतिशत महानगरले लिने सम्झौतामा उल्लेख छ ।

२०८२ चैतसम्म महानगरले यसको व्यवस्थापन लिने गरी सम्झौता गरिएको नगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । त्यसपछि पुनः म्याद थप गरेर काम गर्न सकिने प्रावधान पनि छ । महानगरले नचाहेको खण्डमा मात्रै दरबारको व्यवस्थापन ट्रष्टले लिन सक्छ ।

महानगरपालिकाले भरतपुर भ्रमण वर्ष मनाइरहेको बेला ऐतिहासिक दियालो बंगला दरबार खुला गर्ने विषय निकै महत्वपूर्ण हुने महानगर प्रमुख रेनु दाहालले बताइन् ।

बंगलालाई अध्ययन अनुसन्धान तथा संग्रहालयको रुपमा विकास गर्ने उद्देश्य राखिएको बताइन् । दरबारभित्र थप आवश्यक पर्ने पर्यटकीय पूर्वाधार निर्माणमा महानगरपालिकाले पनि सहयोग गर्ने उनले बताइन् ।

दरबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको अध्ययन तथा अनुसन्धानको थलो बन्ने प्रमुख दाहालको भनाइ छ । उनले दियालो बंगला दरबार चितवनको एक प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरिन् ।

भित्रका कुनै पनि संरचना नबिगार्ने गरी दरबारको थप गुरुयोजना बनाउने नगर प्रमुख दाहालले जानकारी दिइन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?