+
+

पहिरोले अवरुद्ध बेनी–दरबाङ सडक ३ दिनपछि खुल्यो   

रासस रासस
२०८१ असार २४ गते १७:२२

२४ असार, म्याग्दी । पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।

पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रुपमा बन्द भएको थियो । बांगे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो ।

पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भएको थियो ।

यसैबीच बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिए । भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उनले बताए ।

सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । ‘यहाँ १८ वर्षअघि सडक खोल्नुपूर्व पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ’, सांसद गर्बुजाले भने, ‘पश्चिम म्याग्दीमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?