+

प्रशिक्षक विनै पेरिस ओलम्पिकमा प्रिन्सको प्रतिस्पर्धा

२०८१ असार  २५ गते ८:३२ २०८१ असार २५ गते ८:३२

नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम उपलब्ध नगराउँदा पहिलोपटक ओलम्पिकमा सहभागी हुन लागेका ब्याडमिन्टनका प्रिन्स दाहाल प्रशिक्षक विनै हुनेछन् ।

प्रशिक्षक विनै पेरिस ओलम्पिकमा प्रिन्सको प्रतिस्पर्धा

२५ असार, काठमाडौं । ओलम्पिक २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै ६ खेलका ७ जना खेलाडी सहभागी हुँदैछन् । फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेल्न छनोट भएका खेलाडीले आआफ्नै तरिकाले तयारी गरिरहेका छन् ।

पेरिस ओलम्पिकमा छनोट भएका अन्य खेलाडीले प्रशिक्षकसहित तयारी थाल्दा ब्याडमिन्टनका प्रिन्स दाहाल भने अपवाद बनेका छन् । ब्याडमिन्टनबाट पहिलोपल्ट ओलम्पिकमा सहभागी हुन लागेका प्रिन्सले प्रशिक्षकबिनै ओलम्पिकमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

नेपालको प्रतिनिधित्व गर्दै पेरिस ओलम्पिक–२०२४ मा भाग लिइरहँदा प्रिन्सको साथमा कुनै पनि नेपाली प्रशिक्षक रहने छैनन् । मैदानमा भिडिरहँदा उनी त्यहाँ एक्लो हुनेछन् । ओलम्पिकमा प्रिन्सका लागि छुट्याइएको प्रशिक्षक सिट ‘खाली’ हुनेछ ।

किन पाएनन् प्रशिक्षक ?

प्रिन्सले पेरिस ओलम्पिकका लागि प्रशिक्षक नपाउनुमा ब्याडमिन्टन संघ र ओलम्पिक कमिटी दुवै उत्तिकै जिम्मेवार छन् । संघले बेलैमा प्रशिक्षकको नाम पठाउन सकेन भने, ओलम्पिक कमिटीले समयमा लङ लिस्ट तयार गर्न सकेन ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार ब्याडमिन्टन संघ नवीकरण पनि भएको छैन । यद्यपि, पदाधिकारी भने संघ नवीकरण भइसकेको दाबी गर्दै आएका छन् ।

संघले ओलम्पिकमा प्रिन्स सहभागी हुने या नहुने भन्ने विषयमै अन्योल रहेकाले आफूहरुले बेलैमा प्रशिक्षकको नाम पठाउन नसकेको बताउँछन् ।

‘पहिले त प्रिन्स हुने नहुने फिक्स नभएको र संघलाई लङलिस्टमा प्रशिक्षकको नाम मार्चभित्रमा पठाइसक्नु पर्ने थाहा नभएपछि उसलाई ओलम्पिकमा प्रशिक्षक पठाउन समस्या भएको हो,’ संघका संयोजक रामजी बहादुर श्रेष्ठ भन्छन् ।

प्रिन्स नेपाल ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो खेलाडी भएकाले पनि प्रक्रियाबारे अन्योल भएको श्रेष्ठको दाबी छ । ‘ओलम्पिक कमिटीबाट हामीलाई लङलिष्टको बारेमा जानकारी भएन, जसले गर्दा हामीले प्रशिक्षक पठाउन ढिला भयो’, उनले भने ।

प्रिन्स २ वर्ष यता ओलम्पिकको छात्रवृत्ति पाइरहेका खेलाडी हुन् । त्यस्तै उनले ब्याडमिन्टन एसियाबाट पनि वर्षमा ३ हजार डलरका दरले छात्रवृत्ति पाइरहेका थिए । जसमा उनले धेरै अन्तर्राष्ट्रिय स्तरमा अंक प्राप्त गर्दा एसियन क्षेत्रमा सबैभन्दा धेरै अंक प्राप्त गर्दै ओलम्पिक छनोट भएका हुन् ।

प्रिन्सका लागि छुट्टै प्रशिक्षक पठाउन नसके पनि हाल श्रीलंकामा प्रशिक्षण गराइरहेका प्रशिक्षक टोनी वाहयुदीले ओलम्पिकमा उनलाई निरीक्षण गर्ने संघले दाबी गर्दै आएको छ । यद्यपि, प्रिन्स भने टोनी पनि पेरिस ओलम्पिकमा सहभागी नहुने बताउँछन् ।

देशको प्रतिनिधित्व गर्दै ओलम्पिकमा बिनाप्रशिक्षक सहभागी हुनुपर्दा ‘टुहुरो’ महसुस भएको प्रिन्स सुनाउँछन् । ‘प्रशिक्षकबिना अप्ठ्यारो त हुन्छ नै । आफैं म्यानेज गर्ने त होला !’ उनी भन्छन्, ‘अब आफैं खेल्नुपर्ने भयो ।’

देवु दोहोरिइन्

नेपालबाट छनोट भएका अन्य खेलाडीले भने ओलम्पिकका लागि एक/एक जना प्रशिक्षक पाइसकेका छन् । केही समय अघिसम्म एथलेटिक्स, टेबल टेनिस र जुडोमा पनि को प्रशिक्षक जाने भन्नेबारे टुंगो लागेको थिएन ।

जुडो प्रशिक्षकका लागि संघबाट प्रत्येक संस्करणमा पालैपालो प्रशिक्षकहरु जाने आन्तरिक सहमति नै भएको थियो । सोही सहमतिअनुसार संघले चन्द्रकुमार डंगोललाई सिफारिस गरेको थियो । तर, त्यसमा देवु थापाले असहमति जनाएकी थिइन् ।

स्रोतका अनुसार देवु यसअघि सन् २०१६ को ओलम्पिकमा पनि प्रशिक्षकका रुपमा सहभागी भइसकेकाले संघले डंगोललाई अगाडि सारिएको थियो । यद्यपि, खेलाडीलाई आफूले नै प्रशिक्षण दिइरहेकोले आफैं जान पाउनुपर्ने अडान राखेकी थिइन् । अन्ततः संघले मनिता श्रेष्ठ प्रधानको प्रशिक्षकमा देभुलाई नै पठाउने निर्णय गरिसकेको छ ।

त्यस्तै, प्रशिक्षकमै अन्योल रहेको एथ्लेटिक्समा पनि कान्ति महतो प्रशिक्षकका रुपमा टुंगो लागिसकेका छन् । पेरिस ओलम्पिकमा धावक सन्तोषी श्रेष्ठ एथ्लेटिक्समा सहभागी हुँदैछिन् । त्यस्तै, टेबल टेनिसका स्यान्टु श्रेष्ठका लागि राजेन्द्र कपाली प्रशिक्षकको रुपमा रहनेछन् ।

पौडीमा एलेक्स शाह र डुवाना लामाको प्रशिक्षकको रुपमा नयना शाक्य र सुटिङ सुस्मिता नेपालले प्रदिप खातीको प्रशिक्षणमा ओलम्पिक खेल्नेछिन् ।

७ खेलाडीले कहाँ गर्दैछन् प्रशिक्षण

नेपाली एथ्लेटिक्सकी ‘गोल्डेन गर्ल’ले परिचिति सन्तोषी श्रेष्ठले नेपालको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा ओलम्पिकका लागि तयारी गरिरहेकी छन् । त्यसका साथै उनले बूढानीलकण्ठ क्षेत्र, रनिङका लागि दशरथ रंगशालाको सेन्थेटिक ट्रयाक र लङ रनका लागि भक्तपुरको पिच रोडहरुमा प्रशिक्षण गरिरहेकी छन् ।

ब्याडमिन्टनका प्रिन्स दाहाल हाल ब्याडमिन्टन प्रशिक्षणका लागि श्रीलंकामा छन् । उनलाई टोनी वाहुयादीले प्रशिक्षण गराइ रहेका छन् । उनीसँगै हाल राखेप (राष्ट्रिय खेलकुद परिषद्) का प्रशिक्षक सुदिप योञ्जन पनि छन् ।

जुडोकी मनिता श्रेष्ठ प्रधान पनि नेपालमा नै प्रशिक्षण गरिरहेकी छिन् । उनलाई ओलम्पियन देभु थापाले प्रशिक्षण दिइरहेकी छिन् । उनी एक महिनायता ओलम्पिकका लागि तयारी गरिरहेकी छिन् ।

यसो त ओलम्पिक छात्रवृत्तिमा रहेकी मनिताले विगत २ वर्ष यता ओलम्पिक छात्रवृत्तिमा रहेर विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु भने खेलिरहेकी थिइन् । जसको माध्यमबाट उनले अंक जोड्दै कन्टिनेन्टल कोटामा ओलम्पिक खेल्ने भएकी हुन् ।

सुटिङकी सुस्मिता नेपाल पनि हाल नेपालमा नै प्रशिक्षक प्रदीप खातीसँग प्रशिक्षण लिइरहेकी छन् । उनले ओलम्पिककै लागि भनेर प्रशिक्षणमा रहेको करिब एक वर्ष भइसकेको छ ।

सुस्मिताको नाम वाइल्ड कार्डमा आउनुअघि नै उनी ओलम्पिक छात्रवृत्ति अन्तर्गत रहेर प्रशिक्षण गरिरहेकी थिइन् । यसबीचमा उनले ओलम्पिक छात्रवृत्ति अन्तर्गत रहेर ४ वटा प्रतियोगिता खेलिन् । जसले गर्दा उनलाई वाइल्ड कार्डमार्फत् ओलम्पिक खेल्ने मौका मिलेको हो ।

पौडीका दुवै खेलाडी एलेक्सजेन्डर(एलेक्स) शाह अमेरिकामा पढाइसँगै प्रशिक्षण पनि गरिरहेका छन् । त्यस्तै, डुवाना लामा हाल थाइल्यान्डमा प्रशिक्षणमा रहेकी छन् । एलेक्सले दोस्रो पटक ओलम्पिक खेल्न लागेका हुन् भने डुवानाको यो पहिलो ओलम्पिक हो ।

टेबल टेनिसका स्यान्टु श्रेष्ठ हाल अस्ट्रेलियामा प्रशिक्षण गरिरहेका छन् । उनी यस पटक ओलम्पिक खेल्नेमध्ये छनोट चरण पार गरी ओलम्पिक खेल्ने एक्ला खेलाडी हुन् । यसअघि दीपक विष्ट र संगिना वैद्यले ओलम्पिकका लागि छनोट चरण पार गरी ओलम्पिक खेलेका थिए ।

त्यस्तै पारातर्फ पलेशा गोवर्धनले पनि पारा तेक्वान्दोमा छनोट चरण पार गरी पेरिस पारा ओलम्पिक खेल्ने भएकी हुन् ।

पेरिस ओलम्पिक प्रिन्स दाहाल
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय