+
+

प्रधानमन्त्रीले अझै राजनीतिक खेल बुझ्नुभएको छैन : केसी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २५ गते १४:३४

२५ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक खेल बुझ्न नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदभित्र र बाहिर दुई ठूला पार्टी मिलेपछि नेपाल सबै क्षेत्रमा सबल हुनेवाला रहेको भन्ने स्वर सुनिरहेको बताए । तर, आफूले नेपाली कांग्रेस र नेकपा एमालेसँग लामो समयदेखि संगत गरेकाले खेल सबै बुझेको उनले सुनाए ।

‘नेपालमा बहुदलीय व्यवस्था ल्याउँदा र यो व्यवस्था ल्याइसकेपछि म यिनै ठूला पार्टीसँगै छु । त्यसकारण मैले सुरुमै भनेको थिएँ– यदि तपाईंहरू संसदीय व्यवस्था मान्ने भएको भए ठूला पार्टीले नेतृत्व नगरेर सानो पार्टीलाई किन दिनुभयो ?’ केसीले भने ।

तर प्रचण्डले खेल बुझ्न नसकेको उनले बताए । ‘सानो पार्टी, वर्तमान प्रधानमन्त्रीले बुझ्नु भएन खेल । तपाईं पुस १० गते जहाँ पुग्नुभयो त्यही दिनदेखि तपाईंलाई दशा सुरु भएको थियो । त्यो बुझ्नु भएन । यसो भन्दा नराम्रो लाग्ला– तपाईं कति चोटी बालकोट जानुभयो ? कतिपटक बूढानीलकण्ठ पुग्नुभयो ? यसरी चल्छ राजनीति ?’ उनले प्रश्न गरे ।

पछिल्लो पटक कांग्रेससँगको समीकरण बदलिएर एमालेसँग समीकरण बनाउँदा प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउनका लागि नगरिएको उनले बताए ।

‘पछिल्लो पटक तपाईंलाई पाँचै वर्षको लागि सत्तामा शक्तिमा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन । तपाईंले बल्ल भोग्नुभयो,’ केसीले भने ।

एमालेसँगको समीकरणपछि मन्त्रिपरिषद् गठन हुँदै यसको दृश्य देखिएको उनको दाबी छ ।

‘तपाईंको भन्दा ठूलो पार्टीले अर्थ मन्त्रालय किन लिएन ? गृह मन्त्रालय किन लिएन ? त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिएँ– केही न केही त पक्कै छ ।’

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिसिनु नै प्रचण्डको सत्ता बर्हिगमनको कारण भएको उनको भनाइ छ ।

‘बूढानीलकण्ठको आफ्नो पार्टीभित्र केही विवाद भएको कारणलाई आधार बनाएर फुत्त तपाईं (प्रचण्ड) बालकोट पुग्नुभयो । त्यसको परिणाम भोग्नुभएको छ अहिले । अब केही गरे पनि दुइटा ठूला पार्टी मिसिइसकेपछि हुनेवाला केही छैन । मुखको तितो पोख्ने कुरा मात्रै हो,’ सांसद केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?