+

किन गोल गर्न सकिरहेको छैन फ्रान्स ?

२०८१ असार  २५ गते १८:२८ २०८१ असार २५ गते १८:२८
किन गोल गर्न सकिरहेको छैन फ्रान्स ?

२५ असार, काठमाडौं । पोल्याण्डका जाकुब किबिओरले डी–बक्सभित्र उसमान डेम्बेलेलाई खराब ट्याकल गरे ।

त्यसपछि पाएको पेनाल्टीमा केलियन एमबाप्पेले गोल गरे । यो युरोकपको समूह चरणको अन्तिम खेल थियो । यो खेल अघि र पछि फ्रान्सका समर्थकले एमबाप्पेको गोलमा सेलिब्रेसन गर्न पाएका छैनन् ।

विश्वकै उत्कृष्ट र महंगा खेलाडी एमबाप्पे मात्रै नभएर उनको देश फ्रान्स अहिले गोलको खडेरीसँग जुधिरहेको छ । अवस्था यस्तो छ, फ्रान्सले किन गोल गर्न सकेन भनेर खोज्नुपर्ने अवस्था आएको छ ।

सेमिफाइनलसम्म आइपुगेका टिमले पाँच खेल खेलिसकेका छन् । पाँच खेल सकिँदासम्म फ्रान्स जस्तो टिमका खेलाडीको नाममा जम्मा १ गोल मात्रै छ, त्यो पनि पेनाल्टीमार्फत ।

पहिलो खेलमा अष्ट्रियाका डिफेन्डर माक्सीमिलान ओबरको आत्मघाती गोलमा फ्रान्सका समर्थकले खुसी मनाउनु परेको थियो ।नेदरल्याण्डसँगको दोस्रो खेलमा त गोलरहित बराबरीमा टुंगिनु नै फ्रान्सको उपलब्धी बन्यो ।

तेस्रो खेलमा एमबाप्पेले पोल्याण्डविरुद्ध पेनाल्टीमार्फत गोल गरेका थिए । तर त्यो खुसी धेरै समय टिक्न सकेन पोल्याण्डले पनि पेनाल्टीमार्फ नै गोल फर्काएपछि फ्रान्स बराबरीमा रोकियो ।

अन्तिम १६ को नकआउट चरणको खेलमा फ्रान्स भाग्यमानी ठानियो । बेल्जियमका डिफेन्डर भेर्टोगेनले आफ्नै पोस्टमा गोल गरेपछि आत्मघाती गोलकै कारण फ्रान्सले अन्तिम ८ मा पोर्चुगलसँगको भेट पक्का गर्‍यो ।

पोर्चुगलले ६० प्रतिशत बल आफ्नो पक्षमा राख्दै आक्रमण बुने पनि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भयो । जहाँ फ्रान्सले जित निकाल्यो ।

अर्थात सेमिफाइनलसम्म आइपुग्दा फ्रान्सका खेलाडीको नाममा १ गोल मात्रै छ । फ्रान्स टिमको नाममा ३ गोल भए पनि २ गोल विपक्षी टिमका खेलाडीको आत्मघाती गोल उपहारस्वरुप पाएको थियो । अहिले फ्रान्सेली टिममाथि उठेको प्रश्न हो, गोल गर्न किन सकेको छैन ?

विश्वकै महँगा र सर्वोत्कृष्ट खेलाडी केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, उसमान डेम्बेले, ओलिभर जिरुड जस्ता फरवार्डहरुले फ्रान्स भरिभराउ छ । तर ऊ आफैं गोलको खोजीमा भौंतारिरहेको छ ।

पहिलो खेलमै अस्ट्रियाका डिफेन्डर केभिन डान्सोसँग ठोक्किन पुगेपछि मुख्य खेलाडी एमबाप्पेको नाक भाँचिएको थियो । त्यसपछि उनले मैदान छाडेका थिए । दोस्रो खेलमा एमबाप्पे मैदान छिरेनन् । त्यसपछि खेलमा फेसमास्क लगाएर एमबाप्पे मैदानमा उत्रिरहेका छन् ।

खेलकुद विश्लेषकहरु प्रशिक्षक डिडियर डेसच्याम्पले मुख्य गरी एमबाप्पेमा भर पर्दा गोलका लागि संघर्ष गर्नुपरेको बताउँछन् ।

डेसच्याम्प भने यी कुरालाई मान्न तयार छैनन् । विपक्षीको रणनीति अनुसार पनि गोल हुन्छ/हुँदैन भन्नेले धेरै अर्थ राख्ने उनको भनाइ छ ।फ्रान्सको गतिलाई रोक्ने गरी विपक्षीहरुले डिफेन्सिभ खेल खेलेकाले सोच अनुसार गोल नभएको डेसच्याम्पको तर्क छ ।

त्यसो त जारी युरोमा एमबाप्पे मात्रै होइन ठूला र स्टार खेलाडीहरुको गोल रेकर्ड राम्रो छैन । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका लुकाकु गोलको खाता नखोली घर फर्किए । इंगल्याण्डका साका, पोल्याण्डका लेवान्डोस्कीको नाममा पनि जम्मा १/१ गोल मात्रै छ । अर्का ठूला खेलाडी जर्मनीका काइ हार्भटजले २ गोल गरेका छन् । ती दुबै गोल पेनाल्टीमार्फत भएका हुन् ।

जारी युरोमा जम्मा १ गोल गरेका एमबाप्पेले विपक्षीको पोस्टमा २० पटक आक्रमण गरेका छन् । त्यसमा ८ सट अन टार्गेट छन् । विपक्षीको डी–बक्सभित्र ४० पटक एमबाप्पेले बल छोएका छन् ।

गोल गर्न नसके पनि अर्को तथ्यांक हेर्ने हो भने फ्रान्स निकै बलियो छ । जारी युरोमा फ्रान्सको सबैभन्दा बलियो पक्ष भनेको अहिलेसम्म एक खेल पनि हारेको छैन भने जम्मा १ गोल मात्रै खाएको छ ।

५ खेल सकिँदासम्म फ्रान्सले पोल्याण्डको १ गोल खाएको थियो, त्यो पनि पेनाल्टीमार्फत । पोल्याण्डका लेवान्डोस्कीले पेनाल्टीमार्फत गरेको गोल बाहेक फ्रान्सको पोस्टमा अरु टिमले गोल गर्न सकेका छैनन् । जारी युरोमा १ गोलमात्रै खाने फा्रन्स एक्लो टिम हो ।

एम्बाप्पे फ्रान्स युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय