+
+

सहकारी पीडितले संसदीय समितिमा खोजे रवि र जीबी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १७:०१
गृहमन्त्री रवि लामिछाने

२६ असार, काठमाडौं । चितवनको सहारा सहकारी पीडितले आफूहरुको बचत रकम अपचलन गर्ने गोर्खा मिडिया प्रालिका सञ्चालकलाई संसदीय समितिले बयानका लागि बोलाउनुपर्ने बताएका छन् ।

बुधबार सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिमा सहारा सहकारीका बचतकर्ता शालिग्राम दुवाडीले आफूहरुको बचत गरेको रकम गोर्खा मिडिया नेटवर्कमा लगेको बताए । तर गोर्खा मिडिया कम्पनीको नाम आउनेबित्तिकै प्रहरीले अनुसन्धान नगरेको बताए ।

गोर्खा मिडिया प्रालिका अध्यक्ष जीबी राई हाल फरार छन् भने गृहमन्त्री रवि लामिछाने राजनीतिमा आउनुअघि गोर्खा मिडिया नेटवर्कको सञ्चालक र प्रबन्ध निर्देशक थिए ।

‘सहारा सहकारीको रकम गोर्खा मिडिया नेटवर्क लगायत विभिन्न कम्पनीमा ५१ करोड गएको छ । ती कम्पनीहरुलाई मुद्दा हाल्दा चितवन प्रहरीले रोकेको छ । गोर्खा मिडिया नेटवर्क प्रालिको नाम आउनेबित्तिकै मद्दा रोकिनुपर्ने हो, किन रोकियो मुद्दा, राज्य किन मौन हुन्छ ?’, उनले प्रश्न गरे ।

सहारा सहकारीको रकम गोर्खा मिडियामा लैजाने जोसुकै भए पनि कारबाही हुनुपर्ने दुवाडीले बताए । ‘त्यहाँ जतिसुकै शक्तिशाली मान्छे प्रहरी प्रमुख, गृहमन्त्री जोसुकै भएपनि उनीहरुमाथि गहिरिएर अनुसन्धान गर्नुस् । अनुसन्धान गरेर त्यो व्यक्ति दोषी छ भने चलअचल सम्पत्ति, बैंक खाता रोक्का गर्नुस् । अनि मात्रै पैसा उठ्छ’, उनले भने ।

ओरेन्टल सहकारीका पीडित खगेन्द्रनाथ काफ्लेले सहकारी बचतकर्ताको पैसा सहकारी सञ्चालकहरुले आफ्नो इच्छाले घर जग्गाहरुमा लगानी गर्ने र जग्गा अर्काको नाममा राखेर बचतकर्ताको पैसा सक्ने काम गरेको बताए ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पीडित चक्रबहादुर श्रेष्ठले सहकारीका सञ्चालक केदारनाथ शर्मा र गीता शर्माको नाममा रहेको २६ करोड रकमबाट १ लाख जना बचतकर्ताको रकम फिर्ता गर्न सकिने बताए ।

यमुना आइडल सहकारी पीडित दिनेश घिमिरेले सहकारी पीडितलाई सहकारी विभागले न्याय दिन नसक्दा प्रहरीकोमा गएको तर प्रहरीबाट पनि न्याय पाउन नसकेको बताए ।

‘…त्यहाँ पनि अड्चन आएको छ । एक वर्षको लागि सहकारी सञ्चालकहरुले समय माग गरेर सरकारले उनीहरुलाई भाग्न र जग्गा नामसारी गर्नको लागि समय दिएको छ’, उनले भने ।

इमेज सहकारी पीडत डिलबहादुर कार्कीले सहकारी सञ्चालकको सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने बताए ।

‘सहकारीका अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताले जम्मा गरेको रकमबाट व्यक्तिगत रुपमा सम्पत्ति आर्जन गरेका थिए । उनको वास्तविक रकम २ अर्ब देखिएको छ । अपचलन २ अर्ब ३५ करोड रहेको छ । सम्पत्ति लिलामी भयो भने बचतकर्ताहरुको रकम पाउने अवस्था छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?