+
+

के जुम्ल्याहा बच्चाका पिता फरक-फरक हुन सम्भव छ ?

एजेन्सी एजेन्सी
२०८१ असार २७ गते १२:३८

बलिउड फिल्म ब्याड न्युज अहिले चर्चामा छ । यो फिल्म वास्तवमा एउटा अनौठो कथानकका कारण चर्चामा आएको हो ।

फिल्ममा एउटा अचम्मको गर्भको कथा छ जहाँ एक महिलाको गर्भमा हुर्किरहेका जुम्ल्याहा बच्चाका पिता भने दुईजना फरक-फरक पुरुष छन् ।

एक महिलाको पेटमा एकसाथ हुर्किरहेका दुई जुम्ल्याहा बच्चाका पिता फरक-फरक हुने कुरा मनगढन्ते वा कोरा कल्पनाको विषय मात्रै जस्तो लाग्दछ ।

यो कुनै काल्पनिक विषय होइन किनकि यस्तो गर्भधारण एक दुर्लभ घटना भएपनि असम्भव भने हुँदैन। यसलाई ‘हेटेरोप्याटर्नल सुपरफेकन्डेसन’ भनिन्छ।

हेटेरोप्याटर्नल सुपरफेकन्डेसन के हो ?

साँच्चीकै जब जुम्ल्याहा बच्चाको कुरा आउँछ तब हाम्रो दिमागमा एउटै जीउडाल तथा अनुहार भएका दुई बच्चाको छवि निर्माण हुन्छ । जब महिलाको एउटा डिम्ब पुरुषको एउटै शुक्रकिटबाट फर्टिलाइज अर्थात् निषेचित हुन्छ र उक्त भ्रूण दुई भागमा बाँडिन्छ, तब दुरुस्तै जुम्ल्याहा अर्थात् आइडेन्टिकल ट्विन्स बन्दछन् । जसको पिता पनि एउटै हुन्छ।

तर, जब एउटै रजश्वला चक्रमा महिलाको डिम्बाशयमा दुईवटा डिम्ब तयार भएर ती दुवैलाई दुई अलग-अलग शुक्रकिटले गर्भाधान गर्दछन् त्यसबाट तयार हुने जुम्ल्याहालाई fraternal twins भनिन्छ। त्यो अवस्थालाई Heteropaternal Superfecundation  पनि भनिन्छ। त्यस प्रक्रियामा जन्मिने जुम्ल्याहाहरू दुरुस्तै नभई एक अर्काभन्दा केही फरक देखिन सक्दछन् ।

Heteropaternal Superfecundation एउटा दुर्लभ घटना हो । किनकि सन् २०२० मा विश्वमा यस्ता केवल १९ वटा घटना मात्रै सार्वजनिक भए । त्यसैले भलै यस्तो खालको गर्भाधारण आमरुपमा भैरहेको हुँदैन, तर वैज्ञानिक रुपमा जुम्ल्याहा बच्चाहरुको पिता दुई फरक-फरक पुरुष हुने कुरा नितान्त सम्भव हुन्छ ।

कस्ता हुन्छन् Fraternal Twins ?

आम रुपमा महिलाले आफ्नो एक रजश्वला चक्रमा एउटा मात्रै परिपक्व डिम्ब उत्सर्जित गर्दछन् । त्यसको ovulation window १२ देखि २४ घण्टाको हुन्छ ।

डिम्ब रिलिज भएसँगै यदि महिलाले कुनै पुरुषसँग यौन सम्पर्क गरिन् अनि सोही रजश्वला चक्र अर्थात् ओभुलेसन विन्डोमा यदि दोस्रो डिम्बसमेत परिपक्व भएर रिलिज भयो र महिलाले कुनै दोस्रो पुरुषसँग यौन सम्पर्क गरिन् भने त्यस्तो अवस्थामा दुईवटा डिम्ब दुई फरक-फरक पुरुषका शुक्रकिटबाट निषेचित अर्थात् फर्टिलाइज हुन्छन् । अर्थात् महिलाको गर्भमा रहेका जुम्ल्याहाका पिता फरक-फरक हुन्छन् ।

यो त्यसबेला मात्र सम्भव हुनसक्छ जब कुनै महिलाको एकै रजश्वला चक्रमा दुईवटा डिम्ब फरक-फरक समयमा रिलिज हुन्छन् र ती महिलाले दुई फरक-फरक पुरुषसँग यौन सम्पर्क गर्दा ती डिम्ब फरक-फरक पुरुषका शुक्रकिटबाट फर्टिलाइज हुन्छन् ।

स्मरण रहोस् महिलाको गर्भाशयमा आमरुपमा पुरुषको शुक्रकिट अधिकतम ५ दिनसम्म जीवित रहन सक्दछ र त्यसबीचमा दुईवटा डिम्बलाई दुई फरक शुक्रकिटले गर्भाधान गर्न सक्छन् । यसरी जुम्ल्याहा बच्चाको आमा एउटै हुँदा बुवा भने फरक-फरक हुन्छन् ।

निकै दुर्लभ हुन्छ यस्तो घटना

म्याक गिल विश्वविद्यालयका अनुसार जुम्ल्याहा बच्चाको पिता फरक-फरक हुने घटना निकै दुर्लभ हुन्छ। आमरुपमा यस्तो रहस्यको खुलासा पनि हुन गाह्रो हुन्छ, जबसम्म दम्पतीमा कुनै विवाद हुँदैन ।

अहिलेसम्म सार्वजनिक भएका यस्ता जुम्ल्याहाका बारेमा तबमात्रै पत्ता लागेको थियो जब जुम्ल्याहा बच्चाको अनुहार तथा जीउडालको वर्ण नै एक अर्काभन्दा नितान्त फरक थियो । त्यसपछि उनीहरूको पितृत्वको परीक्षण गराउँदा मात्रै उनीहरूका पिता फरक-फरक रहेको पुष्टि भएको थियो ।

जनावरमा भने सामान्य घटना

एनिमल जेनेटिक्समा प्रकाशित एक शोध अनुसार विभिन्न जनावरहरु खासगरी भेडा तथा गाईमा यस्तो घटना सामान्य हुन्छ। किनकि यी जनावरमा एउटा पोथीले धेरैवटा भालेसँग समागम गर्दछ। जसका कारण ती सबै भालेहरूबाट गर्भाधान गरेर फरक-फरक पितृत्व भएका बच्चाहरू एकै बेतमा जन्माउने सम्भावना अधिक रहन्छ। मानिसमा भने यस्तो स्थिति निकै दुर्लभ हुन्छ र विश्वका निकै कममात्रै यस्ता घटना सार्वजनिक भएका छन् ।

के हुन्छ क्षति ?

चिकित्सकहरुका अनुसार Heteroparental Superfecundation बाट आमा तथा जैविक पिताको भावनात्मक स्वास्थयमा असर पर्न सक्दछ। यसबाट डिप्रेसन, तनाव तथा चिन्ताजस्ता मानसिक स्वास्थय समस्याहरु बढ्न सक्दछन् । यस्तो खालका घटनाहरुमा अवधि नपुग्दै बच्चा जन्मिने तथा जुम्ल्याहामध्ये एउटा बच्चाको वजन कम हुने जस्ता समस्याहरू पनि आउन सक्दछन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?