+

मुटुरोगले मात्र छाती दुख्दैन, यस्ता छन् १० कारण

२०८१ असार  २७ गते १२:५८ २०८१ असार २७ गते १२:५८
मुटुरोगले मात्र छाती दुख्दैन, यस्ता छन् १० कारण

बारम्बार वा एक्कासि छाती दुख्नु सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन ।

कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती दुख्न सक्छ । छातीमा दुखाइसँगै आउने लक्षणले मात्र कुन समस्याले दुख्यो भनेर यकिन गर्न सकिन्छ ।

के कस्ता कारणले छाती दुख्छ ?

हृदयघात

छाती दुख्ने मुख्य कारण हृदयघात हुनसक्छ । कुनै कारणवश मुटुको मांसपेशीले पर्याप्त मात्रामा अक्सिजनयुक्त रगत नपाउँदा छातीको बायाँ छेउमा वा मध्यभागमा दुखाइ महसुस हुन्छ ।

यससँगै छातीमा गह्रुङ्गो वस्तुले थिचेको वा राखेको, खलखल पसिना आउने, डर लागेको जस्तो हुने र बिस्तारै बाँया हात र गिजातर्फ दुखाइ सरेमा लगभग हृदयघातको लक्षण हो भन्न सकिन्छ । अनियन्त्रित उच्च रक्तचाप, मधुमेह वा मुटुरोगको कारणले यो समस्या हुनसक्छ ।

हृदयघात आपतकालीन अवस्था हो । जसकारण यस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल जाने बन्दोबस्त गर्नुपर्छ ।

एनजाइना

एनजाइना कुनै रोग होइन, तर यो एक प्रकारको छाती दुख्ने समस्या हो । मुटुरोगको कारण मुटुका धमनीहरु अवरुद्ध छन् तर हृदयघात भइसकेको छैन भने कडा परिश्रम गर्दा, भर्‍याङ चढ्दा, उफ्रिंदा र कडा कसरत गर्दा छाती दुख्न सक्छ ।

यस्ता क्रियाकलाप हुने बित्तिकै छातीको मध्यभाग र देब्रे भागमा केही राखेको वा कुनै वस्तुले थिचेको जस्तो अनुभव हुनसक्छ । त्यो दुखाइ अन्त सरेको छैन । र, केहीबेर आराम गर्दा हराउँछ भने यो एनजाइना भएको बुझिन्छ । यो त्यति स्थायी होइन, तर यसले हृदयघातको बढ्दो जोखिमलाई संकेत गर्छ ।

हृदयघात हुने बेलामा शतप्रतिशत धमनी अवरुद्ध हुन्छ भने एनजाइनामा ७० देखि ८० प्रतिशत धमनी अवरुद्ध भएको अवस्थामा कडा शारीरिक गतिविधि गर्दा हुनसक्छ ।

यस्तो समस्या लिएर आउनेलाई ट्रेड मिल टेस्ट (टीएमटी) परीक्षण गरिन्छ । जसमा बिरामीलाई कुदाएर मुटुमा भार पारी कस्तो अवस्था छ भनेर हेरिन्छ । जसबाट कस्तो उपचार हुनसक्छ भनेर निर्णय लिन सकिन्छ ।

मुटुको मांसपेशी सुन्निनु  

कुनै कारणवश मुटुको मांसपेशी सुन्निंदा छातीको बायाँतर्फ दुख्न सक्छ । जुन भाइरल संक्रमणको कारणले हुनसक्छ । बायाँतर्फ दुख्ने, ज्वरो आउने र चिसो अनुभव यसको प्रमुख लक्षण हुन् ।

ब्याक्टेरिया जहाँ पनि हुनसक्छ । यो हाम्रो शरीरमा पनि हुन्छ र हाम्रो रगतमा पनि । यदि कसैसँग मुटुसँग जोडिएको कुनै सामान्य रोग छ भने बेलाबखत रगतमा भएको ब्याक्टेरिया क्षतिग्रस्त तन्तुमा टाँसिएर बस्छ र एक किसिमको संक्रमणको कारण बन्न सक्छ ।

यसलाई एन्डोकार्डाइटिस पनि भनिन्छ । जब शरीरको कुनैपनि भागबाट पुगेको ब्याक्टेरिया एन्डोकार्डियमसम्म पुग्छ, तब संक्रमणको कारण बन्छ ।

एरोटिक डिसेक्सन

एरोटिक डिसेक्सन पनि हृदयघात जतिकै आपतकालीन अवस्था हो । यस्तो अवस्थामा मुटुबाट निस्कने रक्तनली च्यात्तिनु हो । यसलाई एक्युट एरोटिक सिन्ड्रोम पनि भनिन्छ । जसमा छातीको बायाँ र मध्यभागमा दुखाइ भई ढाडको पछाडि सर्दै गएर खलखल पसिना आउन सक्छ । यो दुखाइ छातीमा तीखो छुरा हानेको जस्तो हुन्छ ।

यस्तो अवस्थामा तुरुन्तै अस्पताल लगेर कति भाग च्यातिएको छ, त्यो भाग शल्यक्रिया गरेर सिलाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा त्यसभागमा पाइप राखेर मात्र बिरामीलाई बचाउन सकिन्छ । यो समस्या रक्तचाप अत्यधिकरुपमा बढ्दा वा भनौं, अनियन्त्रित हुँदा सो रक्तनली तन्किंदै गएर च्यातिने प्रबल सम्भापना हुन्छ । त्यस्तै, केही वंशाणुगत रोग हुने व्यक्तिमा यो समस्या देखिनसक्छ ।

ओस्टियोकोन्ड्राइटिस

ओस्टियोकोन्ड्राइटिसको समस्या हुँदा पनि छातीमा दुखाइ हुनसक्छ । वास्तवमा त्यो दुखाइ करङको दुखाइ हो । छातीमा करङ हुन्छ । करङमा कुरकुरे हड्डी हुन्छ । यी सबैलाई मांसपेशीले ढाकेर राखेको हुन्छ ।

यस्तोमा जब हामी भारी काम गर्दा, चोटपटक वा सुताइ र बसाइको पोस्चर नमिल्दा छातीमा भएको मांसपेशी र करङ तन्किने वा चोट लाग्ने हुनसक्छ । यस्तोमा सियोले घोचेको जसरी छातीमा दुख्ने र लामो सास लिने र फाल्ने क्रममा दुख्न सक्छ ।

घाँटीको मेरुदण्ड खिइनु

घाँटीको पछाडि हुने हड्डी मेरुदण्ड खिइँदा पनि छातीमा दुखाइ हुनसक्छ । जसलाई (सरभाइकल स्पोनडाइलोसिस) पनि भनिन्छ । यही मेरुदण्डबाट नै नसाहरु आउने हो । यो समस्या हुँदा हातमा करेन्ट लागेको जस्तो झमझम हुने, छातीको भाग दुख्ने गर्छ ।

फोक्सोमा समस्या

छातीसँगै मुटु र फोक्सो पनि रहेको हुन्छ । यस्तोमा फोक्सोमा समस्या हुँदा छाती दुखेको अनुभव हुनसक्छ । निमोनियाले फोक्सो संक्रमण गराउँदा, लगातार लामो समयसम्म खोकी, फोक्सोमा रगत जम्ने समस्या (पोल्मनेरी इबोलिजम) भएमा पनि छाती दुख्न सक्छ ।

पेटमा समस्या

कहिलेकाहीं ग्यास्ट्रिकको समस्याले पनि छाती पोल्ने र दुख्ने हुनसक्छ ।  हामीले खाएको खानेकुरा मुखदेखि पेटसम्म जाँदा छातीको भाग भएर जान्छ । ग्यास्ट्रिकको समस्या हुँदा पेटबाट निस्किएको अम्ल अन्ननली हुँदै डकारको रुपमा आउँछ । जसकारण छाती पोल्ने र दुख्ने हुन्छ । जुन उपचार र रोकथाम गरेमा निको हुन्छ ।

माथि उल्लेखित लक्षणमध्ये आपतकालीन अवस्था भनेको हृदयघात र एरोटिक डिसेक्सन हो । यस्तोमा तुरुन्त पहिचान र अस्पताल पुर्‍याउनुपर्छ ।

त्यसैले छाती दुख्यो भनेर बेवास्ता गरेर बस्नु हुँदैन । हृदयघात हुन लागेको भनेर आत्तिएर चुप लागेर बस्न हुँदैन । यस्तोमा नआत्तिकन अस्पताल जाने बन्दोबस्त गर्नुपर्छ । ताकि सही समयमा सही उपचार होस् ।

डा. रन्जितकुमार शर्मा मुटुरोग स्वास्थ्य
डा. रन्जितकुमार शर्मा
लेखक
डा. रन्जितकुमार शर्मा
सिनियर कन्सलटेन्ट कार्डियोलोजिस्ट

डा. शर्मा काठमाडौंको मेडिसिटी अस्पतालको कार्डियोलोजी विभाग प्रमुख हुन् । कार्डियोलोजीमा एमडी र इन्टरनभेन्सनल कार्डियोलोजीमा फेलोसिप गरेका उनको नेपाल मेडिकल दर्ता नम्बर २५९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?