+
+

अवैधानिक पोलिक्लिनिकमा जाँच गराउँदा बिरामीको अवस्था जटिल

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ असार २७ गते १९:३२

२७ असार, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ की ६८ वर्षीया गायत्रीदेवी महतो दुई महिनादेखि आफैं उठबस, हिँडडुल र खाना खान सक्दिनन् ।

‘आमालाई दुई जनाले उठबस गराउनुपर्छ । खुवाउन, दिसा गराउन अरुकै सहारा चाहिन्छ’, छोरा वसन्तकुमार महतो भन्छन् । उच्च रक्तचाप र मधुमेहका बिरामी गायत्री वैशाख दोस्रो सातासम्म सामान्य नै थिइन् ।

छोरा वसन्तका अनुसार बिरामी भएपछि गत ११ वैशाखमा गायत्रीलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरस्थित प्रभात पोलिक्लिनिकमा उपचारका लागि लगिएको थियो ।

पोलिक्लिनिक सञ्चालक रामबाबु महतोले गायत्रीका श्रीमान रामहृदयसँग एक हप्तामा ठीक हुने बताए थिए । रोजगारीका क्रममा बुटवलमा रहेका छोरा वसन्तले टेलिफोनबाटै आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका थिए ।

लामो समय उपचार गराउँदा पनि ठीक नभएपछि वसन्तले सोधखोज गरे । त्यसपछि उनले थाहा पाए आमाको उपचार त दर्ता नभएको पोलिक्लिनिकमा गराइएको रहेछ र त्यहाँ डाक्टरले जाँच गरेका पनि होइन रहेछ ।

‘उपचारमा खटिएका सञ्चालक रामबाबु आफैं ननमेडिकल सेक्टरको रहेको थाहा पाएँ । त्यति बेलासम्म आमाको अवस्था धेरै बिग्रिसकेको थियो । त्यहाँबाट जबर्जस्ती डिस्चार्ज गरेर काठमाडौं लगेँ’, वसन्त भन्छन् ।

काठमाडौंको उपेन्द्र देवकोटा मेमोरियल हस्पिटलमा चेकजाँच गराउँदा चिकित्सकले मष्तिस्कमा ब्लकेज रहेको देखिएको वसन्तले बताए ।

उनले भने, ‘सुरुमै ल्याइएको भए औषधिबाटै निको हुन सक्थ्यो । तर अहिले त्यहाँको नशा सुकिसकेको छ । अप्रेसन गर्ने अवस्था छैन । अब लामो समय यो बिरामी बाँच्न सक्दैन भनेका छन् ।’

चिकित्सकको सल्लाहमै गायत्रीलाई घर ल्याएर जनकपुरकै एक हस्पिटलमा उपचार गराइरहेको वसन्तले बताए ।

वसन्तले उपचारको नाममा फर्जी पोलिक्लिनिक खडा गरी मानव स्वास्थ्यसँग खेलबाड गरेको भन्दै प्रभात पोलिक्लिनिक र सञ्चालक रामबाबु महतोविरुद्ध गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय, क्षिरेश्वरनाथ नगरपालिका, मधेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल लगायतमा उजुरी गरेका छन् । उजुरी दिएको लामो समयसम्म ती निकायले पोलिक्लिनिकविरुद्ध कारबाही प्रक्रिया अघि नबढाएको वसन्तको गुनासो छ ।

‘दोब्बर खर्च लिएर मिल्न राजनीतिक दल र विभिन्न माध्यमबाट दबाब दिइरहेका छन् । तर म आमालाई पैसासँग साट्न सक्दिँन । आज लापरबाही गरेर नै मेरो आमा मृत्युको मुखमा पुग्नुभएको छ । फेरि पनि अरुमाथि यस्तो घटना नहोस् भन्ने भनेर नै कानुनी उपचार खोजेको हुँ’, वसन्त भन्छन् ।

पोलिक्लिनिक सञ्चालक रामबाबुले भने बिरामीको उपचारमा लापरबाही नभएको दावी गरे । बिरामी घर जान नमानेपछि १५ दिन पोलिक्लिनिक भित्रै कोठा भाडामा दिएर राखेको तर्क गरे ।

‘बिरामीको उपचार गर्दा सुधार भएको थियो । घर फर्किन नमानेपछि भित्रै कोठा भाडामा दिएको थिएँ । १५ दिनपछि निको भएर घर जानुभयो । मैले बाहिर पनि चेकजाँच र उपचार गराउन सुझाव दिएको थिएँ’, पोलिक्लिनिक सञ्चालक रामबाबुले भने, ‘चिकित्सक डा. मनोजकुमार साहले नै उपचार गर्नुभएको हो । अहिले उल्टै मलाई फसाउन खोज्दैछन् ।’

बिरामीका छोरा वसन्तले पैसामा बार्गेनिङ गरेको आरोप उनले लगाए । तर वसन्त भने पोलिक्लिनिक सञ्चालकले कारबाहीबाट जोगिन जथाभावी आरोप लगाएको बताउँछन् ।

रामबाबुले ४ वर्षदेखि पोलिक्लिनिक दर्ता बिना नै सञ्चालन गरिरहेको स्वीकार गरे । नगरपालिकामा दर्ताको लागि चार वर्षदेखि दौडधुप गर्दा पनि दर्ता नगरिदिएको उनको गुनासो छ ।

क्षिरेश्वरनाथ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबहादुर यादवले उक्त पोलिक्लिनिकको घटनाको बारेमा जानकारी आएको बताए ।

मापदण्ड नपुगेकाले सो पोलिक्लिनिक दर्ता नगरेको पनि उनको भनाइ छ । ‘मापदण्ड नै पुगेको छैन भने कसरी दर्ता गर्ने ? क्षिरेश्वरनाथ नगरपालिका सबै पोलिक्लिनिक बिना दर्ता नै चलिरहेको छ’, स्वास्थ्य संयोजक यादवले भने ‘हामीसँग प्रहरी प्रशासन छैन, कसरी अनुगमान गर्ने, बन्द गराउने ?’

धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले उजुरीका विषयमा अनुसन्धान भइरहेको बताए । ‘सम्बन्धित चिकित्सकले उपचार गरेको छ कि छैन त्यस विषयमा बुझ्ने काम गरिहेका छौं । गलत डाक्टरले उपचार गर्‍यो भने उपचारसम्बन्धी कसुर प्रहरीले हेर्छ, यदि सही डाक्टरले उपचार गरेर पनि यो घटना भएको छ भने त्यो मेडिकल काउन्सिलले हेर्छ’, एसपी तिवारीले भने ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?