+
+

भारतको केन्द्रीय सुरक्षा बलमा पूर्वअग्निवीरलाई १० प्रतिशत आरक्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १३:१४

२८ असार, काठमाडौं । भारतको गृह मन्त्रालयले पूर्वअग्निवीरहरूलाई केन्द्रीय सुरक्षा फोर्समा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको छ ।

बिहीबार गरिएको निर्णय केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ), सीमा सुरक्षा बल (बीएसएफ), रेलवे पुलिस बल (आरपीएफ), सशस्त्र सीमा बल (एसएसबी) र केन्द्रीय रिजर्व पुलिस बल (सीआरपीएफ)मा लागू हुने घोषणा गरिएको हो ।

यसअन्तर्गत अग्निवीर सेवाबाट अवकाश प्राप्त सैनिकहरूले उमेर हद र शारीरिक परीक्षणमा छुट पाउनेछन् ।

सरकारले सन् २०२२ मा सेनाका तीन शाखा– सैनिक, वायुसेना र नाविकको पदमा भर्नाका लागि अग्निवीर योजना ल्याएको थियो ।

प्रतिपक्षले यो योजनालाई लिएर सरकारमाथि प्रश्न उठाएको छ । तालिम लिएका अग्निवीरले सेनाबाट अवकाश पाएपछि के गर्ने भन्ने योजना बनाउनुपर्ने प्रतिपक्षी दलको माग छ ।

हालै कांग्रेस नेता राहुल गान्धी लोक सभामा विपक्षी नेता बनेपछि फेरि अग्निवीरको मुद्दामा बहस सुरु गरेका छन् । उनले आफ्नो सरकार बनेमा अग्निवीर योजना खारेज हुने बताउँदै आएका छन् ।

गान्धीले भनेका छन्, ‘सरकारले उसलाई सेना भन्दैन, ‘अग्निवीर’ भन्छ । उसले पेन्सन, क्षतिपूर्ति, शहीदको दर्जा केही पाउँदैन । सरकारले नै अग्निवीरलाई सिपाही मानेको छैन ।’

औद्योगिक सुरक्षा बलकी महानिर्देशक नीना सिंहले आफ्नो सुरक्षा फोर्समा पूर्व अग्निवीर भर्ती गरिने प्रतिक्रिया दिएकी छन् । औद्योगिक बलले हवल्दार पदमा भर्तीका लागि १० प्रतिशत सिट आरक्षित गरेको उनको भनाइ छ ।

औद्योगिक सुरक्षा बलकी महानिर्देशक नीना सिंह

भारतीय सीमा सुरक्षा बलका महानिर्देशक नितिन अग्रवालले पनि सरकारको निर्णय कार्यान्वयन गर्न सकिने बताएका छन् । भारतको सरकारी समाचार च्यानल दूरदर्शनलाई प्रतिक्रिया दिंदै उनले भनेका छन्, ‘बीएसएफ भर्तीमा पूर्व अग्निवीरका लागि १० प्रतिशत पद आरक्षित गरिने छ ।’

अग्निवीरबारे उनले भने, ‘उनीहरूले कडा परिश्रम गरेका छन्, काम गरेका छन् र अनुभव प्राप्त गरेका छन् । कडा अनुशासनमा छन् र बीएसएफका लागि उपयुक्त छन् । हामी एक तरिकाले तयार सैनिकहरू ल्याउँदैछौं ।’

उनले पूर्वअग्निवीरलाई छोटो तालिम दिएर सीमामा तैनाथ गर्न सकिने बताएका छन् । उनले भने ‘बीएसएफको कुल रिक्त पदमध्ये १० प्रतिशत तिनीहरूका लागि आरक्षित हुनेछ ।’

सशस्त्र सीमा बलका महानिर्देशक दलजीत सिंह चौधरीले भने, ‘पूर्वअग्निवीर नियुक्तिमा १० प्रतिशत कोटा तोकिएको छ, सशस्त्र सीमा बलमा नियुक्तिसम्बन्धी नियमावलीमा यो परिवर्तन भइसकेको छ ।’ उनका अनुसार सीमा बलमा आउन चाहने पूर्वअग्निवीरको पहिलो ब्याचका लागि पाँच वर्ष उमेरमा छुट दिइनेछ । शारीरिक दक्षता परीक्षण गरिने छैन ।

रेलवे पुलिस बलका महानिर्देशक मनोज यादवले हवल्दार तहका सबै विधामा १० प्रतिशत आरक्षणको व्यवस्था गरिने बताएका छन् । उनले भने, ‘आरक्षण मात्रै नभई उमेरमा पनि छुट दिइनेछ ।’

यादवले पूर्वअग्निवीरको आगमनले रेलवे पुलिस बललाई नयाँ गति, ऊर्जा र मनोबल दिने बताएका छन् ।

‘अग्निवीर’ को हुन् ?

अग्निपथ योजना जुन २०२२ मा घोषणा गरिएको थियो । यो भारतीय सेनाको तीन पङ्क्ति– सेना, वायुसेना र नौसेनामा सैनिक, वायुसेना र नाविकको पदहरूमा भर्तीको लागि रक्षा मन्त्रालयले ल्याएको योजना हो ।

अग्निवीर योजनासँगै, रक्षा मन्त्रालयले यी पदहरूमा भर्तीका लागि अन्य योजना बन्द गर्‍यो । यस योजनाअन्तर्गत भर्ती भएका सैनिकहरूलाई ‘अग्निवीर’ भनिन्छ ।

भारतको अग्निपथ योजनामा भर्ना भएका अग्निवीरमध्ये २५ प्रतिशतमात्रै स्थायी सेवामा राख्ने व्यवस्था छ । बाँकी ७५ प्रतिशतले चार वर्षमा अवकाश पाउँछन् ।

त्यसबेला देशका विभिन्न राज्यहरूमा विशेषगरी बिहार, उत्तर प्रदेश, राजस्थानमा यो योजनाको विरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?