+
+

सडक डिभिजन हेटौंडामा निर्माण व्यवसायीले ताला लगाए, भित्रै थुनिए कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १३:२२

२८ असार, हेटौंडा। निर्माण व्यवसायी संघ मकवानपुरको नेतृत्वमा निर्माण व्यवसायीहरुले शुक्रबार सडक डिभिजन हेटौंडामा ताला लगाएका छन् । सडक डिभिजन कार्यालयको मूल ढोकामै संघका अध्यक्ष बालगोपाल कंडेललगायतका निर्माण व्यवसायीले ताला लगाएका हुन्।

कर्मचारी र सेवाग्राहीहरु कार्यालय भित्रै थुनिएका छन् । संघले सडक डिभिजन हेटौंडाबाट सडक र पुल निर्माण वापत्को २५ करोड बढी रुपैयाँ भुक्तानी नदिएको आरोप लगाएको छ ।

अध्यक्ष कंडेलले डिभिजनको कार्यक्षेत्रभित्र पुल निर्माण कार्य गरेको मात्रै १० करोड बढी भुक्तानी बाँकी रहेको बताए । डिभिजनले सपना÷साग कन्ट्रक्सनको १ करोड ३५ लाख, निरिक्षा निर्माण सेवा प्रालिको १ करोड, मेरिना कन्ट्रक्सन कम्पनी प्रालिको १ करोड ४० लाख, डिएस कन्ट्रक्सन÷मोना जेभीको १ करोड ५० लाख, एलाइट÷मोना जेभीको १ करोड ५० लाख भुक्तानी नभएको उनले बताए ।

करोड भन्दा तल भुक्तानी लिन बाँकी निर्माण व्यवसायी धेरै रहेको र डिभिजनले पटक–पटक आग्रह गर्दा पनि भुक्तानी दिन आलटाल गरेकोले ताला लगाउन बाध्य भएको कंडेलले बताए । प्रहरीले ताला खोलेर वार्तामा बस्न आग्रह गर्दा पनि निर्माण व्यवसायीहरु ताला खोल्न तयार भएनन् । संघले सडक आन्दोलनमा जाने तयारी गरिरहेको उनको चेतावनी छ ।

उनकाअनुसार जिल्लाका स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका अन्य कार्यालयबाट निर्माण व्यवसायीको ५० करोड भन्दा बढी भुक्तानी हुन बाँकी रहेको छ । भुक्तानी नदिने कार्यालयहरुमा धर्ना र तालाबन्दीको कार्यक्रम जारी राख्ने कंडेलले बताए ।

सडक डिभिजन हेटौंडाका प्रवक्ता इन्जिनियर रमेशकुमार पाण्डयेले अर्थ मन्त्रालयबाट पैसा नै नआए पछि निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसकिएको बताए । मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा पनि पैसा नआएको उनको भनाई छ । पाण्डेयले आन्दोलित निर्माण व्यवसायीहरुको २५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?