+
+
चितवन पहिरो :

‘म त पौडिएर बाहिर आएँ, नातिनातिना हराए’

‘म त बसमा मुभी हेरिरहेको थिए, बस त एक्कासि पल्टा खाँदै तल खस्यो, सबैले हे भगवान् ! भगवान् भने, पानी भित्रै पुगेपछि एक्कासि पानीले नै मलाई बाहिर फालिदियो अनि पौडिएर बाँचें ।’

सुवास पण्डित सुवास पण्डित
२०८१ असार २८ गते १३:५५

२८ असार, चितवन । गरुडा ९ रौतहटका ४५ वर्षीय जुगेश्वर राय यादवले काठमाडौंमा नातिनातिनाको उपचार गरेर छोरीसहित बसमा फर्किंदै थिए । उनी र छोरी एउटा सिटमा थिए भने १० वर्षका छोरा र नातिनी अर्को सिटमा । २ वर्षीय नाति जुगेश्वरको काखमै थिए ।

४० हजार रुपैयाँ लिएर काठमाडौं उपचार गराउन गएका उनीहरु ६ दिन बसेर गौर जाने बस चढे । काठमाडौंबाट बस हिंड्दा रात परिसकेको जुगेश्वर बताउँछन् । उनकाअनुसार मुग्लिन कटिसक्दा पानी परिरहेको थियो ।

धेरै जसो यात्रुहरु निदाइरहेका थिए, केही बसमा लगाएको फिल्म हेरिरहेका थिए । विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरिएकाले निकै लामो जाम भइसकेको थियो । बसको गति सुस्त थियो ।

त्यही जाममा थियो, ०००१ ख २४९५ नम्बरको गणपति डिलक्स ।

चितवनको भरतपुरस्थित सिमताल क्षेत्र जाम छिचोल्दै विस्तारैविस्तारै अगाडि बढिरहेको उक्त बसमाथि पहिरो खस्यो । लेदोसहित खसेको पहिरोले बसलाई पुरेन मात्रै, हुत्याउँदै त्रिशूली नदीमा खसाल्यो ।

‘बस ५/६ पल्टा खाँदै नदीमा खस्यो । यात्रुहरु गाडीमा नै चिच्याउन थाले । बसमा भएका हामी सबै जना पानीमा बससहित खस्यौं’ जुगेश्वर यादवले भने, ‘पानी ठूलो थियो, कसरी कसरी पानीले मलाई बाहिर हुत्याइदियो । झ्यालबाट बाहिर आएँ कि कसरी बाहिर आएँ मलाई नै पत्तो छैन ।’

जुगेश्वर चढेको त्यही बसमाथि नै पहिरो खसेको थियो । बससँगै त्रिशूलीमा खसे पनि पानीले हुत्याएपछि पौडी खेल्दै बाहिर आउँदा बाँच्न सफल भएको उनी बताउँछन् ।

‘बाहिर किनारमा आए पछि माथि सडकतिर हेर्दा अलि अलि मसिनो बत्तीहरु बलेको देखें, अरु केही देखिनँ, बस कता छ भन्ने पनि थाहै भएन’ उनी भन्छन्, ‘बसभित्र रहेका मेरा ४ जना कता छन्, केही थाहा छैन ।’

चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा उपचार गराइरहेका जुगेश्वरको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । उनीसँगै बसमा रहेका थप २ जना यात्रु पनि पौडिएरै बाँच्न सफल भएका छन् ।

पानीमा पौडिएरै बाँच्न सफल देवाही गोनाही १, करुनिया, रौतहटका नन्दन दास चितवन मेडिकल कलेजमा नै उपचार गराइरहेका छन् । उनको चिउँडोको हड्डी भाँच्चिएको छ ।

‘म त बसमा मुभी हेरिरहेको थिए, बस त एक्कासि पल्टा खाँदै तल खस्यो, सबैले हे भगवान् ! भगवान् भने, पानी भित्रै पुगेपछि एक्कासि पानीले नै मलाई बाहिर फालिदियो अनि पौडिएर बाँचें’, उनी भन्छन् ।

खाना खाइसकेर अघि बढेको एक/डेढ घण्टापछि नै यो दुर्घटना हुन पुगेको नन्दन बताउँछन् । उनका अनुसार बसमा ३०/३५ जना यात्रु थिए ।

बसमा रहेका अर्का यात्रु रौतहटकै बौद्धिमाई नगरपालिका–३ का सरोजकुमार गुप्ता पनि पानीमा पौडिएर नै बाँच्न सफल भएका छन् । उनलाई भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।

प्रहरीकाअनुसार उनको परिवारका अन्य ४ जना पनि बसमा थिए । उनीहरुको अवस्था अज्ञात छ । अर्धबेहोसी अवस्थामा भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएका गुप्ताले परिवारका सदस्य खोजिरहेको एक प्रहरीले बताए ।

सरोजलाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटना विवरण टिपाइएको छ । उनका परिवारका अन्य सदस्यहरु पनि अस्पताल आएका छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?