+
+

संसद्का चार रोचक दृश्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १९:३७
आलोपालो प्रतिपक्षी : संसदमा हात मिलाउँदै गृहमन्त्री रवि लामिछाने र कांग्रेस महामन्त्री गगन थापा । सहकारी मुद्दाका कारण पछिल्लो समय दुई नेताबीच वादप्रतिवाद बाक्लिएको थियो । अब गगन सत्तापक्षको कुर्सीमा हुनेछन्, रवि विपक्षमा । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२८ असार, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले यसअघि पनि विश्वासको मत लिने गरिरहेकै हुन् । तर पाँचौंपल्ट विश्वासको मत लिन लाग्दा प्रतिनिधिसभाको माहोल केही भिन्न थियो । किनभने झन्डै शतप्रतिशत हाराहारीमा समेत मत पाउने गरेका प्रचण्ड यसपल्ट पदमुक्त हुनेवाला थिए ।

यीमध्ये केही दृश्य हाम्रो आँखामा परिहाले ।

एक– उपेन्द्र यादव र अशोक राईको अररो हाउभाउ

भर्खरै जसपा नेपाल फुटेर जसपा बनेसँगै यादव र राईबीचको चिसो सम्बन्ध संसदमा प्रकट भइहाल्यो । मन परे पनि नपरे पनि संयोगवश उनीहरुको ‘सिटिङ एरेन्जमेन्ट’ संसदमा साथसाथै थियो । कुम जुधिहाल्ने खालको ।

प्रधानमन्त्री प्रचण्डले बोलून्जेल यादव उनीतिर नहेरी अन्तै हेरिरहन्थे । राई चाहिँ प्रचण्डतिर सिधा हेर्दै बसेका थिए । क्यामेराले घरिघरि उनीहरुलाई देखाइरहन्थ्यो, जहाँ उनीहरुको असहजता प्रकट भइरहन्थ्यो । प्रचण्ड बोलिसकेपछि यादव फुत्त निस्के । पछि भोट हाल्ने बेला आए । राईचाहिँ दिनभर बसिरहे ।

रोचक के छ भने यादव र राई अलग कित्तामा भए पनि दुवैले प्रचण्डको विपक्षमा मत दिएका थिए ।

दुई– प्रचण्डको भाषणमा रास्वपाको ढ्यापढ्याप

 आज प्रधानमन्त्री प्रचण्डले केवल नियमित सम्बोधन गरिरहेका थिएनन् । उनी बहिर्गमित हुने पक्कापक्की भएकैले हुनुपर्छ, विगतमा आफूलाई कुन एजेन्डाहरुले यहाँसम्म बढोत्तरी गराउँदै लगे, सम्झना गरिरहेका थिए । उनले दलित, महिला, मधेसी, मुस्लिम लगायतका कुरा गर्दैरहे । सुशासनदेखि समावेशीतासम्मका कुरामा उनले बोल्दा सत्तासाझेदार रास्वपा सांसदले ताली बजाइरहे ।

तीमध्ये उत्साहित हुँदै ताली बजाइरहेथे रास्वपा प्रमुख सचेत सन्तोष परियार लगायतले । माओवादीको अग्रसरतामा अरु दलसमेतले अनुमोदन गरेको समावेशीताको एजेन्डाकै कारण परियार जस्ता अनेकौं सांसद आज संसदसहित विभिन्न ठाउँमा छन् । उसो त सँगै रहेका स्वर्णिम वाग्ले लगायत सांसदले पनि ताली ठोकेकै हुन् । प्रचण्डका थुप्रै भनाईहरुमा उनीहरुले समर्थन गर्दै हेराहेर गरेको देखिन्छ । एक ठाउँ त ताली ठोकाठोक गरिसकेपछि वाग्लेले परियारको कुम नै छोएको देख्न सकिन्थ्यो । सम्भवतः उनले यति धेरै ताली पनि नबजाउँ भनेको हुनुपर्छ, किनभने त्यसपछि परियार रोकिएको देखिन्छ ।

तीन– देउवासँग नरम प्रचण्ड, प्रचण्डसँग कोमल देउवा

 एक घन्टा २२ मिनेट बोल्दासम्म प्रचण्डले निकट विगतको सत्ता साझेदार एमालेलाई कटाक्ष गर्दैरहे, तर कांग्रेसप्रति उनको भाव नरम थियो । कांग्रेसलाई उनले सद्भावनापूर्वक अपिल गर्दैरहे । बोलिसकेपछि उनले आफ्नो सिटतर्फका मन्त्रीहरुसँग हात मिलाए । अर्को लहरमा देउवा बसेका थिए, प्रचण्डतर्फ हेर्दै । तर प्रचण्ड उनीतर्फ नफर्की आफ्नो सिटमा बसे ।

विश्वासको मत परिणाम सार्वजनिक भएसँगै प्रचण्डलाई मन्त्रीलगायत साझेदारले हात मिलाए । उनले पनि धन्यवाद दिए । देउवाले पनि हात मिलाउन एकछिन पर्खे । बल्ल प्रचण्ड देउवा सामुन्ने देखिए । उनीहरुले आपसमा हात मिलाए । प्रचण्डले ओलीसँग हात मिलाएको भने देखिएन ।

चार– रवि बोल्दाबोल्दै रोकिए

 प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने घोषणा गर्न रोष्ट्रममा पुगेका गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने बोल्दाबोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरे ।

लामिछानेले संसदमा बोल्ने क्रममा कांग्रेस र एमालेमाथि प्रश्न उठाउँदै सरकारमार्फत् सुशासनको पक्षमा काम गर्दागर्दै छाड्नुपरेको भनाई राख्दै थिए । त्यस क्रममा उनले गृहसहित रास्वपाले सम्हालेका मन्त्रालयहरुको चार महिने प्रगति विवरण पनि पेश गर्न थाले ।

कांग्रेस सांसद खतिवडाले विश्वासको मतसम्बन्धी बहसबाट विषयान्तर किन भएको भनी तलबाट प्रश्न उठाए । सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले प्रष्ट गरिन्, ‘माननीय लामिछानेलाई गृहमन्त्री तथा रास्वपा सभापतिकै हैसियतमा बोल्न दिइएको हो ।’

त्यसपछि उनले लामिछानेलाई भनिन्,‘आफ्नो भनाई संक्षिप्तमा राख्न अनुरोध छ ।’

लामिछानेले तुरुन्तै प्रतिवाद गरे । सत्तामा आउन नपाउँदै आफ्नो पारा देखाउन थालिहालेको भन्दै उनले खतिवडातर्फ कटाक्ष गरे । अरु थप नबोली तुरुन्त भाषण टुंग्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?