+
+
बाढी–पहिरो प्रभाव :

तरकारी गाउँमा कुहियो, सहरमा महँगियो

सहरमा तरकारी महँगो भएको गुनासो आइरहँदा गाउँमा तरकारी फलाउने किसानका गुनासो बेग्लै छ । उत्पादन भएका तरकारी सहर पुर्‍याउन नसक्दा बारीमै कुहिएको टुलुटुल हेर्ने बाहेक उनीहरूसँग विकल्प पनि छैन ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असार २९ गते १९:०२

२९ असार, काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण सहरका उपभोक्ता महँगोमा तरकारी किन्न बाध्य छन् । तरकारी महँगो भएको गुनासो दिनहुँ सुनिन थालेको छ ।

उता, गाउँमा तरकारी फलाउने किसानका गुनासो बेग्लै छ । उत्पादन भएका तरकारी सहर पुर्‍याउन नसक्दा बारीमै कुहिएको टुलुटुल हेर्ने बाहेक उनीहरूसँग विकल्प पनि छैन ।

काठमाडौं जडीबुटीको तरकारी बजार पुगेका सीताराम शिवाकोटी तरकारी भाउ सुनेर अक्क न बक्क परे । गोलभेँडा किलोको १ सय ६०, काउली १ सय ४० रुपैयाँ…। उनले नियमित किन्ने पसल छाडेर ठेलावालासँग सोद्धा पनि उस्तै मूल्य पर्न गयो ।
‘एक छाक तरकारीको मूल्य २ सयभन्दा धेरै भएपछि भान्सा कसरी चल्छ ? कालोबजारी हो कि महँगी नै यस्तो हो ?,’ शिवाकोटीको प्रश्न छ ।

अविरल वर्षाका कारण किसानलाई हरियो तरकारी उत्पादन तथा ढुवानीमा समस्या भइरहेको छ । मकवानपुर भीमफेदी गाउँपालिकाका ग्रामीण कृषि सडक अवरुद्ध हुँदा त्यहाँ उत्पादित तरकारी बजार आउन सकेको छैन ।

‘खुर्सानी, टमाटरको भाउ बढिरहेको छ, तर बारीमै कुहिने अवस्था छ,’ स्थानीय मानबहादुर तामाङ भन्छन्, ‘झरी परेको पर्‍यै छ, गाउँका सडकमा गाडी गुड्ने अवस्था छैन । तरकारी जति बारीमै कुहिने भयो ।’

६ बोरा हरियो बुलेट खुर्सानी र ११ क्रेट गोलभेँडा बजार लैजान नसकिँदा कुहिने अवस्थामा रहेको उनको भनाइ छ । उनले वर्षामा भाउ आउने बेला तरकारी बजार पुर्‍याउन नसक्दा वर्षेनि किसान मारमा पर्ने गरेको गुनासो उनको छ ।

‘तरकारी लगाउँदाको जोखिम नै यही हो, अब कहिले भाउ आउँदैन, भाउ आको बेला बजार लैजान सक्दैनौं,’ तामाङले अनलाइनखबरसँग फोनमा भने, ‘स्थानीय तहहरू कोल्ड स्टोर बनाइदिएको भए अहिले समस्या आउने थिएन ।’

तामाङको जस्तै अवस्था गोरखाका किसानको पनि छ । गोरखा–आँबुखैरनी सडकखण्ड सहित स्थानीय ग्रामीण कृषि सडक अवरुद्ध हुँदा तरकारी संकलन हुन सकेको छैन ।

स्थानीय विष्णुप्रसाद अधिकारी भन्छन्, ‘केरा लोड गरेर पठाएको गाडी बाटोमै रोकिएपछि सबै गलेको छ, अब बजारमा कसरी बिक्री हुन्छ ? वर्षाले किसानको मिहिनेत त खेर जान्छ नि यस्तो भएपछि ।’ उनले सडक अवरुद्ध हुँदा हरियो तरकारी बजारसम्म पुर्‍याउन नसकिएको पनि बताए ।

गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध छ । उक्त सडक अन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रूपमा सडक अवरुद्ध भएको उनी बताउँछन् ।

मकवानपुर र गोरखाका यी दुई किसानले भोग्नु परेको समस्या त उदाहरण मात्रै हुन् । देशभरिका किसानहरूले यस्तै समस्या झेलिरहनु परेको किसानहरू बताउँछन् ।

राष्ट्रिय कृषक महासंघका अनुसार तराई क्षेत्र डुबान र पहाडी क्षेत्रमा पहिरोका कारण तरकारी संकलन र ढुवानीमा समस्या भइरहेको छ ।

‘देशभरिका किसानको हरियो तरकारी संकलन तथा ढुवानीमा समस्या हुँदा किसानलाई घाटा भइरहेको छ,’ महासंघका अध्यक्ष उद्धव तिमल्सिनाले भने, ‘एक त झरी परेपछि हरियो तरकारी एवम् बालीमा किराहरू धेरै लाग्ने समस्या हुन्छ, त्योमाथि उत्पादन भएको तरकारी बजारसम्म पुर्‍याउन नपाएपछि किसान मर्कामा पर्ने नै भए । स्थानीय तहरूले कृषि सडक मर्मत गर्न बेलैमा ध्यान दिनुपर्ने हो, तर त्यसो हुन सकेन ।’

हरेक वर्षायाममा किसानले यस्तै समस्या भोग्नु परेपनि सरकारले समाधान गर्न नसकेको उनको गुनासो छ ।

‘वर्षामा किसान मात्रै होइन, उपभोक्ता पनि मारमा परेका छन् । प्रत्येक वर्ष यही समस्या झेलिरहनु परेको छ । तरकारीको मूल्य बढ्नुमा भारतीय तरकारी पनि कम भित्रिन थालेको छ,’ तिमल्सिनाले भने ।

देशभरि १५ सडक अवरुद्ध

सडक विभागका अनुसार शुक्रबार साँझ ५ बजेसम्म देशभरिका १५ वटा सडक खण्ड अवरुद्ध रहेको छ । कोशी राजमार्गको विभिन्न स्थान, डुम्रे बेंसीसहर चामे सडक खण्ड, तानसेन रिडी कोरला सडक खण्ड अवरुद्ध रहेको छ ।

डोटीमा ३ ठाउँमा, बाग्लुङमा ४ ठाउँमा, म्याग्दीमा २ ठाउँमा, सिन्धुली, तनहुँ, गुल्मीमा १ ठाउँ र संखुवासभामा एक ठाउँमा राजमार्ग अवरुद्ध रहेको छ ।

बजार भाउ उकालो

बिहीबारदेखि तरकारीको भाउ उकालो लागेको छ । वर्षाका कारण ढुवानी प्रभावित हुँदा कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारीको भाउ महँगिएको छ ।

अघिल्लो दिनको तुलनामा स्थानीय काउली ४६, लाम्चो भेन्टा १८, तने बोडी ६१, तिते करेला २७, लौका ६९, परवर ४९, घिरौंला २६, भिन्डी १४ प्रतिशत बढेको छ ।

कालीमाटी बजारमा ठूलो गोलभेँडा प्रतिकिलो १२०, गाजर १००, स्थानीय काउली १००, तने बोडी १५०, घिउ सिमी २२०, तितेकरेला १२०, घिरौंला १००, भिन्डी १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

त्यस्तै कन्य च्याउ ३ सय, डल्ले च्याउ ४ सय ५०, कुरिलो ३ सय, न्युरो १ सय, ब्रोकाउली १ सय २० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

कालीमाटी बजारमा रातो आलु प्रतिकिलो ६८, प्याज ९५, सेतो मुला ४०, लाम्चो भेन्टा ८०, परवर ९०, पाकेको फर्सी ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । यद्यपि शुक्रबार केही घटेपनि वृद्धिको तुलनामा कम हो ।

बजारसम्म लैजान नसकेपछि तरकारी थन्काउँदै मकवानपुरको भीमफेदी-९ का किसान ।

आपूर्ति घट्यो

ढुवानी प्रभावित हुँदा उपत्यकामा तरकारीको भाउ उच्च भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार उपत्यकामा धेरै तरकारी आउने चितवन, मकवानपुर, काभ्रे, रामेछाप, धादिङ, नुवाकोट लगायत जिल्लाको ग्रामीण कृषि सडकहरू अवरुद्ध हुँदा तरकारी संकलनमा असर परेको छ ।

बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा आउने तरकारी नै ४० प्रतिशत घटेको समितिले जनाएको छ । समितिका महानिर्देशक डा. महादेव पौडेलका अनुसार बाढी–पहिरो बढ्न थालेपछि काठमाडौंमा ७ सय टन दैनिक तरकारी आउनेमा ४ सय टन मात्रै आइहरको छ ।

बल्खु तरकारी बजार, जडीबुटी तरकारी बजार लगायत स्थानमा पनि सोही अनुपातमा आपूर्ति घटेको छ । पौडेलका अनुसार आपूर्ति घटे पनि माग भने उस्तै रहेकोले बजार भाउ बढिरहेको छ । ‘२–४ दिन नै बाढी–पहिरोले तरकारी रोकिने हो भने त मार्केट नै डाउन हुन्छ । तर, उपत्यका नजिकैका जिल्लाबाट तरकारी आइरहँदा हा–हाकारको स्थिति भने छैन । मूल्य त वर्षाका कारण बढ्ने नै भइहाल्यो,’ पौडेलले भने ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?