+
+

सुदूरपश्चिममा कांग्रेस-एमालेसहित ३ दलले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

रासस रासस
२०८१ असार २९ गते १७:१६

२९ असार, सुदूरपश्चिम । सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । तीन दलले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री प्रदेशसभामा अल्पमतमा परिसकेकाले राजीनामा दिनुपर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताए । ‘अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित हुँदैन’, उनले भने ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई राजीनामा गर्न आग्रह गरे ।

संघमा सत्ता समीकरण परिवर्तन भएसँगै एमालेले प्रदेशका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन यही असार २३ गते फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।

एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्ने अन्योल देखिएको छ । बजेटमाथिको छलफल प्रदेशसभामा अझै सुरु हुन सकेको छैन ।

नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बताए ।

प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक हुन्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?