+
+
सिमलताल घटना :

बस खसेको ठाउँसँगै देवघाटबाट पनि खोजी सुरु

सुवास पण्डित सुवास पण्डित
२०८१ असार २९ गते १९:३०

२९ असार, चितवन । मुग्लिन नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका-२९ सिमलतालबाट असार २८ गते राति दुईवटा बससँगै कम्तीमा ५२ यात्रु त्रिशुलीमा खसे ।

तीमध्ये ३ जना पौडिएर ज्यान बचाउन सके भने थप एक जनाको शनिबार शव भेटिएको छ । अरु यात्रुको घटना भएको २ दिनसम्म पनि अत्तोपत्तो छैन । बस खसेको स्थानमा बस खसेको कुनै निशाना छैन ।

बस खसेको ठाउँमा नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गण र शशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका तालिम प्राप्त सुरक्षाकर्मीहरुले आफूसँग उपलब्ध प्रविधिको सहयोगले खोजी गरे पनि अहिलेसम्म कुनै प्रगति हात परेको छैन ।

सेना तथा सशस्त्र प्रहरीका गोताखोरहरु पटक पटक नदीमा पस्ने, भित्र गएर हेर्ने प्रयास गरे । तर कुनै उपलब्धी हासिल भएन ।

हिजो दिनभर बस खसेको ठाउँ नजिकै केन्द्रित भएर खोजी गरे पनि सो ठाउँमा बस नभएको पाइएपछि सुरक्षाकर्मीहरुको टोली शनिबार दिउँसो घटनास्थलबाट ६ सय मिटर तलसम्म गएर खोजी गर्‍यो । तर, कुनै उपलब्धी हात लागेन ।

सशस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसएसपी माधवप्रसाद पौडेलले देवघाट र घटनास्थलबाट एकसाथ खोजी सुरु गरेको बताए । उनले अनलाइनखबरसँग भने, ‘अब घटना भएको ठाउँमा बस छैन भन्ने भयो, त्यसैले आज ६ सय मिटर तलसम्म खोजी गरियो । त्यहाँ पनि कुनै भेटिने संकेत देखिएन ।’

उनका अनुसार सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालयका तालिम प्राप्त प्रहरी र सशस्त्र प्रहरी गण आँपटारीका प्रहरीहरु मिलेर घटनास्थल र देवघाट क्षेत्रबाट खोजी सुरु गरिएको छ ।

दिउँसो करीव ४ बजेतिर सशस्त्र प्रहरी बलको एक टोली देवघाट क्षेत्रमा आएको छ । ‘अब हामीले दुई ठाउँबाट एक साथ खोजी गर्ने सोच बनायौं, एक टोली घटनास्थलबाट देवघाटतिर जान्छ, अर्को टोली देवघाटबाट माथि आउँछ’, एसएसपी पौडेलले भने, ‘नदीका किनारहरुमा पनि खोजतलास गछौं । साँझ साढे ६ बजेसम्म खोजी गरेका छौं ।’

नदीमा पानी निकै धमिलो भएको र नदी तीब्र बेगमा भएकाले सोचेजस्तो गरी काम गर्न नसकिएको उनले बताए । बेपत्ता बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीको तालिमप्राप्त ९ जना गोताखोर परिचालन गरिएको छ ।

शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ ।

यी बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भएका छन् भने अरु बेपत्ता भएका थिए । बेपत्तामध्ये शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटमा नारायणी नदीमा भेटिएको शव काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साहको भएको पुष्टि भएको छ ।

शनिबार दिउँसो नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका- ७ स्थित नारायणी किनारमा २ जनाको शव भेटिएको छ । उनीहरु सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ । ती शवहरु भरतपुर आएका बेपत्ताका आफन्तलाई देखाएर पहिचान गरिने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?