+

कर्णालीमा किन सम्भव छैन दशौं राष्ट्रिय खेलकुदका ३५ वटै खेल ?

२०८१ असार  ३० गते १७:०९ २०८१ असार ३० गते १७:०९
कर्णालीमा किन सम्भव छैन दशौं राष्ट्रिय खेलकुदका ३५ वटै खेल ?

३० असार, काठमाडौं । कर्णाली प्रदेशमा आगामी मंसिरमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुदमा केन्द्र र प्रदेशबाट फरक संख्यामा खेल प्रस्ताव भएको छ । दशौँ राष्ट्रिय खेलकुद मंसिर २ देखि ९ सम्म हुने तय छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले दशौँका लागि ३५ खेलको प्रस्ताव गरेका छन् । तर कर्णाली प्रदेशले भने राखेपले भनेजति सबै खेल खेलाउन नसक्ने बताउँदै आएको छ ।

बिहीबार काठमाडौंमा बसेको बैठकमा घिसिङले पोखरामा भएको नवौँ राष्ट्रियमा रहेको ३६ खेलमा प्यारग्लाइडिङ बाहेक ३५ खेल समावेश गर्न प्रस्ताव गरेका थिए । यस्तै निर्णायक संख्या १ हजार ४ सय ९९ प्रस्ताव गरिएको छ ।

तर दशौँ राष्ट्रिय खेलकुदको आयोजनाको जिम्मेवारी पाएको कर्णाली खेलकुद विकास परिषद्‌का सदस्य सचिव विश्वामित्र सन्ज्यालले भने नवौँको खेल संख्या घटाएर कर्णालीमा २४ खेल मात्र आयोजना गर्न सकिने प्रस्ताव उक्त बैठकमा पेश गरेका थिए ।

यसले अब दशौँ राष्ट्रिय खेलकुद कति खेल आयोजना गर्न सकिन्छ कति खेल समावेश गर्ने, कुन खेल कहाँ खेलाउने भन्ने बहस सिर्जना गरेको छ । राखेपले प्रस्ताव गरेको ३५ खेल मध्ये २४ खेल कर्णाली प्रदेशमै भित्रै आयोजना गर्ने गरी मिति र स्थान राखिएको छ । त्यसमा १७ खेल सुर्खेतमै र बाँकी ७ खेल कर्णाली प्रदेशको अन्य जिल्लामा खेलाउन प्रस्ताव गरिएको छ ।

बृहत राष्ट्रिय खेलकुद भएकोले धेरै खेल आयोजना गर्नुपर्छ भन्ने एकथरीको तर्क छ भने अर्काथरीको तर्क कर्णाली सम्भव हुने जति खेल आयोजना गर्ने र बाँकी खेलका लागि फरक तरिकाले च्याम्पियनससिप आयोजना गर्ने वा बजेट दिने व्यवस्था गर्नुपर्नेछ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशबाटै २४ खेल आयोजना गर्न सकिने प्रस्ताव आएकोले बाँकी खेल कहाँ गर्ने भन्ने विषयमा अहिले निर्णय नभएको बताए । ‘हामीले दशौँका लागि ३५ खेल प्रस्ताव गरेका छौँ’, सदस्य सचिव टंकलाल घिसिङले भने, ‘बाँकी खेलका लागि अन्य प्रदेशहरुले पनि इच्छा देखाएका छन् । तर कहाँ कसरी आयोजना गर्ने निर्णय भएको छैन ।’

घिसिङले अब हुने राखेपको बोर्ड बैठकबाट बाँकी खेलको आयोजना स्थल टुंगो लाग्ने बताए ।

यस्तै आयोजक प्रदेश कर्णाली प्रदेश खेलकुद विकास परिषद्‌का सदस्य सचिव सन्ज्यालले योजना र व्यवस्थापनका हिसावले दशौँमा कर्णाली भित्र २४ खेल मात्र हुन सकिने बताए ।

‘हामीले प्रस्तावित तालिका कर्णालीमा गर्न सकिने २४ खेलको कहाँ कहाँ गर्न सम्भव छ भनेर स्थान पनि प्रस्ताव गरेका छौँ’, कर्णाली प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव विश्वामित्र सन्ज्यालले भने, ‘बाँकी खेलका लागि हामीसँग पूर्वाधार पनि छैन र अब बनाएर सम्भव पनि छैन ।’

उनले २४ खेलका लागि धेरै जसो संरचना निर्माण भइरहेको र दुई महिना भित्रै बनिसक्ने बताए ।

सन्ज्यालले केही समयअघि अनलाइनखबरसँग कर्णालीमा २२ खेल मात्र गराउन सकिने र त्यही खेलमा मात्र आफ्नो प्रदेशका खेलाडीहरु रहेको बताएका थिए । त्यस बाहेक बाँकी खेल कहाँ कसरी बयोजना गर्ने भन्ने विषयमा राखेपबाट टुङ्गो लाग्नुपर्ने उनको भनाइ थियो ।

बिहीबारको बैठकमा अन्य प्रदेशले बाँकी खेल आफ्नो प्रदेशलाई आयोजना गर्न दिन प्रस्ताव गरेको सन्ज्यालले बताए । बिहीबारको बैठकमा राखेप सदस्य सचिव घिसिङले दशौँ राष्ट्रिय खेलकुदको लागि लोगो र मस्कटको डिजाइन बनिसकेको र केही समयपछि सार्वजनिक गरिने बताएका छन् ।

दशौं राष्ट्रिय मंसिर २ देखि ९ गतेसम्म तय भए पनि केही खेलहरु भने कात्तिक २७ गतेबाट औपचारिक सुरु गर्ने प्रस्ताव गरिएको छ । कार्तिक २७ गतेदेखि गर्न प्रस्तावित खेलहरुमा महिला फुटबल, बास्केटबल महिला/पुरुष, जुडो, उसु, तेक्वान्दो र महिला/पुरुष हक्की रहेका छन् ।

त्यस्तै कात्तिक २८ गतेदेखि महिला/पुरुष ह्याण्डबल तथा २९ गतेदेखि महिला/पुरुष क्रिकेट, फेन्सिङ तथा मंसिर १ गते महिला भलिबल र फुलकन्ट्याक्ट सुरु गर्ने प्रस्ताव गरिएको ।

सुर्खेत र कर्णालीभित्र हुने खेल

बिहीबार बसेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी बैठकमा प्रस्तावित २४ खेल र सुर्खेत बाहेकको  अन्य जिल्लामा सम्भावित आयोजना स्थानहरुको समेत बैठकमा छलफल भएको थियो ।

दशौँ राष्ट्रिय खेलकुदलाई नै मध्यनजर गर्दै सुर्खेतमा मुख्य रंगशालासहित खेलकुदको संरचना बनिरहेको छ । कर्णाली प्रदेश सरकारले नै यसलाई प्रदेशको गौरवको आयोजनामा राखेर निर्माण गरिरहेको छ । जहाँ दर्जन भन्दा बढी खेलको संरचना तयार हुँदैछ ।

त्यो संरचनाभित्र १७ खेल खेलाउने प्रस्ताव गरिएको छ । जसमा मुख्य रंगशालमा एथ्लेटिक्स र पुरुष फुटबल, सुर्खेत फुटबल ग्राउण्डमा महिला फुटबल, सुर्खेत कभर्डहलमा ब्याडमिन्टन, सुर्खेतको क्रिकेट ग्राउण्ड २ मा पुरुष क्रिकेट र क्रिकेट ग्राउण्ड १ मा महिला क्रिकेट, इन्डोर/आउटडोर कभर्डहलमा भलिबल महिला र पुरुष, बास्केटबल महिला र पुरुष, ह्याण्डबल महिला र पुरुष तथा तेक्वान्दो खेल खेलाउन प्रस्ताव गरिएको छ ।

यस बाहेक सुर्खेतमा बक्सिङ, उसु, जुडो, शारीरिक सुगठन, पौडी, रग्बी महिला र पुरुष, भारोत्तोलन, कुस्ती तथा खो खो महिला र पुरुषको खेल प्रस्ताव गरिएको छ ।

यस्तै सुर्खेतबाहेक कर्णालीको अन्य जिल्लामा ६ खेल प्रस्तावित गरिएको छ ।

जसमा फुलकन्ट्याक्ट कराते र बुद्धिचाल जुम्ला, टेबलटेनिस सल्यान, हक्की महिला र पुरुष हुम्ला, कबड्डी महिला र पुरुष दैलेख, कराते कालिकोट र आईटिएफ तेक्वान्दो रुकुम पश्चिममा प्रस्ताव गरिएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सन्ज्यालले कर्णालीभित्र यही २४ खेलका संरचना मात्र रहेको बताए । ‘हामीले कर्णालीमा आयोजना गर्न सक्ने खेल यही २४ वटा हो । त्यसमा १७ खेल सुर्खेतमा आयोजना गर्न सकिन्छ र केही खेलहरु सुर्खेत बाहिर कर्णालीका अन्य जिल्लामा गर्न सकिन्छ ।’

दशौं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेशमा बन्दै गरेको रंगशाला ।

सुरुमा कर्णाली भित्र २२ खेल मात्र खेलाउन सकिने भनिएपनि पछि भारोत्तोलन र फुल कन्ट्याक्ट कर्णाली भित्रै खेलाउने प्रस्तावमा समावेश छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सन्ज्यालले आवासको व्यवस्थापन कारण कर्णाली प्रदेशको ५ जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताउँदै बाँकी खेलका विषय चाँडै टुंगो लगाउनु पर्ने बताए ।

कर्णालीमा खेलाउन नसकिने खेल

कर्णाली प्रदेशका सदस्य सचिवले प्रस्ताव गरेको खेलतालिका पोखरामा नवौँमा समावेश ३६ खेल नै सूचीकृत छ । जसमा प्याराग्लाइडिङ पनि राखिएको छ ।

तर ३६ मा २४ बाहेकका बाँकी खेल कहाँ हुने भनेर ठाउँ उल्लेख गरिएको छैन । जसमा आर्चरी, फेन्सिङ, गल्फ, जिम्न्यास्टिक, टेनिस, सफ्ट टेनिस, स्क्वास, सुटिङ, साइक्लिङ, ट्रायथलन, सेपाकताक्रो र प्यारग्लाइडिङ छन् ।

यी खेलहरु कर्णाली प्रदेश भित्र आयोजना गराउन नसकिने सन्ज्यालले बताएका छन् । अब यी खेल कुन प्रदेशमा आयोजना गर्न वा फरक किसिमले आयोजना गर्ने भन्ने विषयमा कुनै टुंगो लागेको छैन ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको कर्णाली प्रदेशले पूर्वाधार र ब्यवस्थापनका हिसाबले २४ खेलमात्र कर्णाली प्रदेशमा सम्भव भएको बताएको हो ।

कर्णाली गराउन नसकिने खेलका पूर्वाधार केही प्रदेशमा मात्र छ । स्क्वास र टेनिसको पूर्वाधार ललितपुर र पोखरामा छ भने सुटिङको पूर्वाधार काठमाडौँ नेपालगन्ज र विराटनगरमा छ ।

गल्फ काठमाडौं पोखरा र धरानमा खेलाउन सकिन्छ । यस्तै आर्चरी र प्याराग्लाइडिङ गण्डकी प्रदेशमा खेलाउन सकिन्छ । यस्तै ट्रायथलन पोखरामा हुँदै आएको छ ।

कर्णाली भित्र आयोजना हुन नसक्ने खेलहरु अन्य प्रदेशमा हुने वा फरक किसिमले हुन्छ भन्ने चासोको विषय बनेको छ ।

दशौँलाई ६० करोड बजेट

राखेप सदस्य सचिव घिसिङले बिहीबारको बैठकमा दशौं राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६० करोड रुपैयाँ बजेट सुनिश्चित भइसकेको जानकारी दिए । साथै उनले कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताएका थिए ।

घिसिङले बृहत राष्ट्रिय खेलकुद देशकै ओलम्पिक खेलकुद जस्तै रहेको हुँदा यसलाई सफलतापूवर्क सम्पन्न गर्न सरोकारवाला सबै जिम्मेवार र गम्भीर हुनु पर्नेमा जोड दिए ।

सदस्य सचिव घिसिङले दसौं राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न परिषद् तयार रहेको बताउँदै खेलकुदलाई व्यवसायिक बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले लोगो र मस्कटको छनोट भइसकेको अवगत गराउँदै खेल पोशाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने गरी तयार थालिएको बताए ।

सदस्य सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलन अनुसार दसौं राष्ट्रिय खेलकुद सकिए लगत्तै नेपालमा पहिलोपटक कर्णालीमै पारा खेलकुद पनि आयोजना गर्न लागिएको बताउँदै प्रस्ताव गरिएका बुदाँमा यथाशीघ्र सुझाव उपलब्ध गराउनसमेत आग्रह गरे ।

कर्णाली प्रदेश कर्णाली प्रदेश खेलकुद विकास परिषद्‌ दशौं राष्ट्रिय खेलकुद
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय