+

अर्जेन्टिनाका लागि दशौं अन्तर्राष्ट्रिय फाइनल खेल्दै मेसी, यस्तो छ ९ फाइनल

२०८१ असार  ३० गते १३:१० २०८१ असार ३० गते १३:१०
अर्जेन्टिनाका लागि दशौं अन्तर्राष्ट्रिय फाइनल खेल्दै मेसी, यस्तो छ ९ फाइनल

३० असार, काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि रक्षाका लागि फाइनलमा कोलम्बियासँग खेल्दैछ । टिमका कप्तानसमेत रहेका अर्जेन्टाइन सुपरस्टार फुटबलर लिओनल मेसीले आफ्नो राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दशौं फाइनल खेल्दैछ ।

साविक विजेतासमेत रहेको अर्जेन्टिना लगातार दोस्रो पटक कोपा जित्ने लक्ष्यमा छ । मेसी सम्मिलित अर्जेन्टिनाले सन् २०२१ मा २८ वर्षपछि कोपा अमेरिका जितेको थियो ।

२३ वर्षपछि पहिलो पटक फाइनल पुगेको कोलम्बिया भने दोस्रो पटक कोपा उचालने दाउमा छ । कोलम्बिया यसअघि सन् २००१ मा एकपटक मात्रै कोपा जितेको छ । अर्जेन्टिना र कोलम्बियाबीचको खेल मायामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार सोमबार बिहान ६:१५ बजे सुरु हुनेछ ।

मेसीले यसअघि अर्जेन्टिनाका लागि फिफा विश्वकप, कोपा अमेरिका, ओलम्पिक, यू-२० विश्वकप गरी ९ पटक फाइनल खेलेका छन् । जसमा ५ पटक उनले फाइनल जितेका छन् भने ४ पटक पराजित भएका छन् । यस्तै उनले फाइनलमा ४ गोल गर्दा ४ असिस्ट समेत गरेका छन् ।

मेसीले यसअघि खेलेको ९ फाइनल कस्ता थिए त्यसबारे सामग्री

यू२० विश्वकप २००५

मेसीले अर्जेन्टिनाको जर्सीमा कुनै पनि प्रतियोगिता खेलेको पहिलो फाइनल सन् २००५ मा थियो । त्यसबेला मेसी सम्मिलित अर्जेन्टिना यू-२० विश्वकपको फाइनल पुगेको थियो ।

नेदरल्याण्ड्समा भएको उक्त प्रतियोगितामा अर्जेन्टिनाले नाइजेरियालाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो । अर्जेन्टिनालाई च्याम्पियन बनाउन मेसीले नै फाइनलमा दुवै गोल गरेका थिए । उनले दुई गोल नै पेनाल्टीबाट गरेका थिए ।

उक्त प्रतियोगितामा मेसीले गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जिते । मेसीले ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड सँगै उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका तिए । त्यतिबेलै मेसीलाई भविष्यको स्टारको रुपमा हेर्न थालिएको थियो । उनले त्यस्तै संकेत देखाएका थिए ।

कोपा अमेरिका २००७

दुई वर्षपछि नै मेसीले अर्जेन्टिनाले सिनियर टिमबाट पहिलो फाइनल खेले । सन् २००७ मा भएको कोपा अमेरिकामा अर्जेन्टिना फाइनलमा ब्राजिल विरुद्ध ३-० ले पराजित भएको थियो ।

उमेर समूहको विश्वकप जितेपछि नै मेसी अर्जेन्टिनाको स्थापित सदस्यको रुपमा टिममा थिए । फाइनलमा ब्राजिलसँग पराजित हुनुअघि अजेन्टिनाले राम्रो प्रदर्शन गरेको थियो र त्यसमा मेसीले उत्कृष्ट भूमिका निभाएका थिए ।

फाइनलमा भने परिचित प्रतिद्वन्द्वी ब्राजिलसँग पराजित हुँदा मेसी सिनियर टिमबाट पहिलो फाइनलमा उपविजेता बने ।

 बेइजिङ ओलम्पिक २००८

सन् २००८ मा चीनमा भएको बेइजिङ ओलम्पिकमा मेसी अर्जेन्टिनाको यू-२३ टिमको महत्वपूर्ण सदस्य थिए । सर्जियो बाटिस्टाको टिममा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा नाइजेरिया विरुद्ध १-० को जित निकालेको थियो । त्यसमा मेसीले एन्जल डि मारियाको गोलका लागि पास मिलाएका थिए ।

२१ वर्षको उर मेसीले ओलम्पिकमा च्याम्पियन बन्दै स्वर्ण जिते । ओलम्पिकमा मेसीले आइभरीकोस्ट र नेदरल्याण्ड्स विरुद्ध एक-एक गोल गरेका थिए ।

विश्वकप २०१४

सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकप मेसीका लागि पहिलो विश्वकप फाइनल थियो । मेसीले विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्‍याउन महत्वपूर्ण योगदान गरेका थिए ।

अलेजान्द्रो साबेलाको प्रशिक्षणमा रहेको अर्जेन्टिनाले तेस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्य राखेको थियो ।

तर माराकाना स्टेडिययमा भएको खेलमा मारियो गोट्चाले अतिरिक्त समयमा गोल गर्दै जर्मनीलाई १-० को जित दिलाए । अर्जेन्टिनाका लागि विश्वकप जित्ने मेसीको सपना अधुरो बन्यो । उपाधि जित्न नसकेपनि मेसी विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जितेका थिए ।

कोपा अमेरिका २०१५

मेसीले अर्जेन्टिनाका लागि दोस्रो पटक कोपा अमेरिका फाइनल खेल्दै थिए । चिलीमा भएको कोपाको फाइनमा अर्जेन्टिनाको भेट घरेलु टोलीसँगै भयो । उपाधि दाबेदार भएपछि अर्जेन्टिना पेनाल्टीसुटआउटमा चिलीसँग पराजित भएको थियो ।

१२० मिनेटसम्म खेल गोलरहित बराबरी भएपछि पेनाल्टीसुटआउटमा पुगेको थियो ।

मेसीले सुटआउटमामा पहिलो पेनाल्टी हान्दै गोल गरेका थिए । तर त्यसपछि गोन्जालो हिग्वेन र एभर बनेगाले पेनाल्टीमा गोल गर्न नसक्दा अर्जेन्टिना ४-१ ले पराजित भयो र  चिलीले उपाधि जित्यो ।

कोपा अमेरिका २०१६

एक वर्षपछि नै कोपा अमेरिकाको एक सय पुगेको अवसरमा कोपा अमेरिका सेन्टेनारियो भएको थियो । यस पटक पनि फाइनल पुगेको अर्जेन्टिना लागि चिली नै बाधक बन्यो ।

पेनाल्टीसुटआउटमै पुगेको फाइनलमा अर्जेन्टिना ४-२ ले पराजित भयो । तत्कालीन समयमा मेसीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

समह चरणमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको थियो । फाइनलमा दाबेदार भएपनि अर्जन्टिना चुक्यो । चिलीले समूह चरणको बदला लियो । हारको पीडा कतिसम्म रह्यो भने उक्त फाइनलमा मेसीले पेनाल्टी गुमाएपछि उनले सन्यास नै घोषणा गरेका थिए ।

‘मेरो दिमाखमा आएको पहिलो कुरा र लकर रुममा म सोचिरहेको थिएँ अब यो सकियो । नेसनल टिममा मेरो समय सकियो’, मेसीले त्यसबेला यस्तो भनेका थिए, ‘त्यहाँ चार फाइनल भयो । यो मेरो लागि थिएन । मैले यसका लागि हेरिहरेको थिएँ तर मेरो लागि यसले काम गरेन । तर मेरो विचारमा यो सकियो ।’

कोपा अमेरिका २०२१

अब मेसीको पालो आयो । वर्तनमान विश्व फुटबलमा उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि केही जित्न नसकेको आरोप लगादै आएको थियो । तर उनले धैर्य गरे र अन्तिममा सफलता पाए ।

सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिना च्याम्पियन बन्यो । मेसीले सिनियर टिमबाट पहिलो उपाधि उचाल्ने मौका पायो । यो उपाधि मेसीका लागि मात्र नभएर अर्जेन्टिनाका लागि पनि ठूलो महत्वको थियो । किनभने अर्जेन्टिनाले अर्जेन्टिनाले सन् १९९३ पछि अर्थात २८ वर्षपछि कोपा जितेको थियो र २८ वर्षमा त्यो नै कुनै ठूलो उपाधि थियो ।

त्यसअघि अर्जेन्टिनाले १९८६ मा डिएगो म्याराडोनाको पालमा विश्वकप उपाधि जितेको थियो ।

कोभिड १९ का कारण २०२० मा हुनुपर्ने कोपा २०२१ मा भएको थियो । ऐतिहासिक माराकाना स्टेडियममा भएको फाइनलमा खेलमा अर्जेन्टिनाले एन्जल डि मारियाको एक मात्र गोलमा ब्राजिललाई १-० ले हराएर उपाधि जितेको थियो । जुन अर्जेन्टिनाका लागि अर्को खुशीको क्षण थियो ।

फिनालिसिमा २०२०

कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा फिनालिसिमा खेलेको थियो । जहाँ दक्षिण अमेरिका र युरोको च्याम्पियनबीच प्रतिस्पर्धा हुन्छ ।

कोपा जेता अर्जेन्टिनाले युरो २०२ को जिता इटलीसँग फिनानिसिमा खेलेको थियो । जहाँ अर्जेन्टिनाले इटलीलाई ३-० ले हराउँदै उपाधि जितेको थियो ।

दुई असिस्ट गरेका मेसी प्लेअर अफ दि म्याच समेत बने । लण्डनस्थित वेम्बली मैदानमा भएको खेलमा अर्जेन्टिनाको लागि लाउटारो मार्टिनेज, एन्जल डि मारिया र पाउलो डिबलाले गोल गरेका थिए ।

विश्वकप २०२२

महादेशको उपाधि जितेपछि अर्जेन्टिनाले अर्को महादेशको विजेतालाई हराएर आफ्नो प्रभुत्व देखायो । मेसीले पनि देशका लागि उपाधि जित्न थालेका थिए । यस्तोमा उनले चाहेको अन्तिम उपाधि कतार विश्वकपमा प्राप्त गरे ।

सन् २०२२ मा कतारमा भएको फिफा विश्वकपको उपाधि पनि अर्जेन्टिनाले जित्यो । अर्जन्टिनालाई सन् १९८६ पछि अर्थात ३६ वर्षपछि विश्वकप उपाधि जिताउन मेसीले प्रेरणादायी प्रदर्शन गरे ।

गोलको वर्षा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई हराएर उपाधि जितेको थियो । फ्रान्सका लागि केलिएन एमबाप्पेले ह्याट्रिक गरेपनि काम लागेन । फाइनलमा मेसीले दुई गोल गरेका थिए । निर्धारित समयम र अतिरिक्त समयम ३-३ को बराबरी भएपछि पेनालटीसुटआउटमा अर्जेन्टिना विजयी भएको थियो ।

मेसीले यस विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल अवार्ड जिते । फ्राइनलमा ह्याट्रिक गरेपछि एमबाप्पेले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जिते । ७ गोल गरेका मेसीले सिल्भर बुट जितेका थिए ।

अर्जेन्टिना फुटबल कोपा अमेरिका २०२४ लिओनल मेसी
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय