+
+

‘आखिर बच्चै त हुन्’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १३:२२

काठमाडौं । गोठ–कटेरो । भित्तामा अँगेनो छ र अँगेनामाथि कालो कित्ली । त्यसबाट पनि माथि दाउरा सुकाइएको छ । अनि त्यसैलाई पृष्ठभूमिमा पारेर बसेका छन्, अमृत गुरुङ । गोठको पिंढीमा पिर्कामाथि बसेका उनले आफ्नो काखमा दुईवटा बिरालोलाई स्नेहपूर्वक राखेका छन् । नजिकै कुकुर सुतेको देखिन्छ । यही फोटो सामाजिक सञ्जालमा सेयर गर्दै उनले लेखेका छन्, ‘धेरै दिनको झरीपछि, गोठको पिंढीमा के बसेथें, म्याउँहरु आएर काखमा बसिहाले । आखिर बच्चै त हो ।’

अमृत गुरुङ, जसलाई चिनाउनका लागि धेरै विशेषण जोडिरहनु पर्दैन । आफ्नो गायकीको आलोकमा टेकेर देश–दुनियाँ चहार्ने उनी सरल जीवन र मिजासिलो शैलीका कारण पनि प्रिय छन् । अकबरी सुनलाई कसी लगाउनु पर्दैन भने झैं उनको धेरै बखान गरिरहनु पर्दैन ।

९० को दशकमा उदाएको पोखरेली सांगीतिक समूह नेपथ्यका मुख्य गायक हुन् उनी । छेक्यो छेक्यो, रेशम, जीवन हो घामछाया, भेडाको ऊनजस्तो, तालको पानी, जस्ता दर्जनौं गीतबाट युवाको ढुकढुकी बनेका उनको ब्यान्डले लण्डनस्थित संसारकै प्रसिद्धमध्ये एक वेम्ब्ली एरिनामा समेत भव्य सांगीतिक प्रस्तुति दिइसकेको छ । यो सांगीतिक समूहले हिमाल चुचुरे, मीनपचास, रेशम, शृंगार, भेडाको ऊनजस्तो, घटना, मेरो देश, ऐना झ्याल लगायत गीति एल्बम बजारमा ल्याइसकेको छ । अधिकांश गीत पारखीको मुख–मुखमा झुण्डिएका छन् ।

अब फर्कौं, अमृत गुरुङतर्फ । कन्सर्ट, रेकर्डिङका अतिरिक्त उनी घुमफिरमा रमाइरहेका देखिन्छन् । त्यससँगै खेती किसानीमा पनि उनी तल्लीन रहन्छन् । खासगरी असार–साउनको महिनामा अमृत गुरुङ आफ्नो खेतबारीमा भेटिन्छन्, हिलोमाटोमा काम गरिरहेको अवस्थामा ।

यसपालि पनि उनले सामाजिक सञ्जालमा त्यस्ता केही फोटो सार्वजनिक गरे, जहाँ उनी खेती किसानीमा व्यस्त देखिन्छन् । केही समयअघि दुम्सी र बाँदरले घोगा लाग्दै गरको मकैबारी सखाप पारिदिएको फोटो राखेका थिए । त्यसअघि रोपाइँ सम्पन्न भएको भन्दै खेतबारीको फोटो राख्दै उनले लेखेका थिए,

‘असारै मास झरीमा परे रोपाइँ पर्मैको

जानीमा पाप गरेको छैन दुखिया कर्मैको

यो पालिको रोपाइँ सम्पन्न भो, गाउँका मनकारी सहयोगी हातहरु र प्रकृति मातालाई धन्यवाद ।

त्यसो त अमृत गुरुङ प्रकृति र प्राणीप्रति सद्भाव राख्ने गर्छन् । उनी डाँडापाखा डुल्छन्, वनजंगल चहार्छन्, हिलोमाटोमा खेल्छन्, पशुपक्षीसँग रमाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?