+

एन्जल डि मारियाको सुखद बिदाइ

२०८१ असार  ३१ गते १३:३८ २०८१ असार ३१ गते १३:३८
एन्जल डि मारियाको सुखद बिदाइ

३१ असार, काठमाडौं । अर्जेन्टिनी विङ्गर एन्जल डि मारियाले कोपा अमेरिका २०२४ को उपाधि जित्दै अन्तर्राष्ट्रिय फुटबलबाट सुखद बिदाइ लिएका थिए ।

यसअघि नै कोपा अमेरिकापछि सन्यास लिने घोषणा गरेका डि मारियाले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलका रुपमा कोपा अमेरिका जिते ।

अर्जेन्टिनाले कोपा अमेरिका, फिफा विश्वकप जे जित्दा पनि धेरै चर्चा सुपर स्टार कप्तान लिओनल मेसी र पर्खालजस्ता गोलकिपर इमिलियानो मार्टिनेजको धेरै चर्चा भयो । तर अर्जेन्टिनी टिमको मुख्य खम्बाको रुपमा यिनै डि मारिया थिए ।

सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जित्दा नाइजेरियाविरुद्ध फाइनलमा गोल गर्दा होस् या सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जित्दा ब्राजिलमा फाइनलमा गोल गर्दा होस् एन्जल डि मारिया नायक बने ।

मेसीले अन्तर्राष्ट्रियस्तरमा जति सफलता हात पारेका छन् त्यसमा धेरै जसो हात उनै डि मारियाको छ । त्यसैले त उनले यसअघि नै सन्यास लिन खोजे पनि मेसीले कोपा खेल्न आग्रह गरेको र आफूले नकार्न नसकेको डि मारियाले बताएका छन् ।

आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा कोलम्बियाविरुद्ध उनले लगभग पूरा समय खेले । उनी ११६ औं मिनेटमा रिप्लेस हुँदा मैदानबाट आशु झार्दै बाहिर आएका थिए ।

‘मैले यस्तै सपना देखेको थिएँ । त्यसैले त मैले यो कोपा नै मेरो अन्तिम प्रतियोगिता भनेको थिएँ र यहीँ सकियो’, डि मारियाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेपछि भने ।

‘मैले फाइनल पुग्ने सपना देखेको थिएँ । मैले उपाधि जितौं भनेर सपना देखेको थिएँ । मैले यस्तै गरी सन्यास लिन चाहेको थिएँ’, डि मरियाको भनाइ उदृत गर्दै एएफसीले खेलपछि लेखेको छ ।

कोलम्बियालाई फाइनलमा १-० ले हराउँदै उपाधि जित्दा एन्जल डि मरिया नै खेलको प्लेअर अफ दि म्याच घोषित भए ।

खेलको अन्त्यतिर प्रशिक्षक लियोनल स्कालोनीले डि मारियालाई  रिप्लेस गरेका थिए । त्यसको फेयरवेलमा समर्थकहरु भावुक बनेका थिए ।

डि मारियाले आफूलाई धेरै राम्रो महसुस भएको बताएका छन् । सन् २००८ मा मेसीसँगै ओलम्पिकमा स्वर्ण जितेदेखि नै डि मारिया अर्जेन्टिनी टिमको स्टारको रुपमा थिए ।

मेसीले जस्तै डि मारियाले पनि २०२१ को कोपा अमेरिका २०२२ को फिफा विश्वकप र २०२४ को कोपा अमेरिका उपाधि जिते ।

‘यो सहज जस्तो देखिए पनि धेरै कठिन छ । यसका लागि १०-११ वर्ष मैले अर्को साइडमा बसेर फाइट गर्नुपर्‍यो’, डि मारियाले भने ।

उनले फाइनल पुगेर उपाधि जित्न सधैं सहज नहुने बताए ।

३६ वर्षीय डि मारियाले अर्जेन्टिनाका लागि १४५ खेल खेल्दै ३१ गोल गरेका छन् । उनले अर्जेन्टिनाका लागि ६ कोपा अमेरिका र ४ विश्वकप खेलेका छन् ।

अर्जेन्टिना एन्जल डि मारिया फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय