+
+

फिल्म ‘ईश्वर’मा माओत्से र ध्रुवको सहकार्य, ११ साउनमा रिलिज तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते २२:०४

काठमाडौं । माओत्से गुरुङ र ध्रुव थापा बाल्यकालदेखिका साथी हुन् । फिल्मप्रति दुबैको मोह उत्तिकै छ । गुरुङ कलाकारको रुपमा फिल्म क्षेत्रमा स्थापित भइसक्दा थापा अमेरिका भासिए । उनै ध्रुव अहिले देश फर्किएर फिल्ममा जोडिएका छन् ।

उनले अभिनय गरेको फिल्म ‘ईश्वर’ प्रदर्शन तयारीमा छ । फिल्मको शीर्ष भूमिकामा देखिएका थापाले अभिनेत्री कृष्टि गुरुङसँग गीत ‘पुरा भयो सपना मेरो’मा नाचेका छन् । केही दिनअघि सार्वजनिक यो गीतलाई अहिले युट्युवमा रुचाइएको छ ।

गीतमा दुवैलाई निकै रोमान्टिक मुडमा देखाइएको छ । सानैदेखिको फिल्मको मोहलाई अहिले आएर ध्रुवले पूरा गरेको अभिनेता गुरुङले मरण गरे । २ करोड रुपैयाँ लगानी रहेको फिल्ममा ध्रुव पनि लगानीकर्ता हुन् ।

राजु गिरी निर्देशित यो फिल्म ‘ईश्वर’ ११ साउनदेखि रिलिज हुँदैछ । गिरीका अघिल्ला फिल्मले दर्शक तान्न सकेनन् । यो फिल्मले व्यवसायिक रुपमा राम्रो गर्नेमा निर्माता आशावादी छन् ।

विगतका तुलनामा फिल्म उत्कृष्ट बनेको अभिनेता गुरुङको बुझाइ छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्म निर्माता हरिबहादुर थापा पनि उपस्थित थिए ।

उनले फिल्ममा पहिलो पहिलोपल्ट लगानी गरेको बताए । फिल्म राम्रो बनेको दाबी गर्दै उनले वर्षमा दुईटा नभए एउटासम्म फिल्म गर्ने योजना रहेको सुनाए । उनका अनुसार फिल्ममा करिब १ करोड ८० लाख लगानी छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका याङ्जाकोटमा सुटिङ भएको फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ ।

यो फिल्मले अन्याय र अत्याचारको विरुद्धमा लाग्ने एक जना प्रहरी अधिकृतको कथा भन्ने गुरुङ बताउँछन् । यो गुरुङ फिल्म हो कि भन्ने कतिपयको जिज्ञासामा उनले फिल्ममा नायक खसआर्य समुदाय र नायिका जनजाति समुदायको भएकोले पनि त्यस्तो नभएको प्रस्ट पारे ।

अभिनेत्री कृस्टि गुरुङको लागि नेपाली फिल्ममा यो डेब्यु हो । उनले यसअघि गुरुङ फिल्म खेलेकी छन् । यो फिल्मसम्म माओत्सेसहित धेरैको साथ रहेको उनले बताइन् ।

‘फिल्ममा कति धेरै दुःख गरियो । संघर्ष गरियो,’ उनले भनिन्, ‘सबैको आ-आफ्नो कथा हुन्छ । सबैजनाले मेरो अभिनयलाई मन पराइदिनुहुन्छ भन्ने आशा गर्दछु ।’

सेनामा दुई दशक सेवापछि पोखरा चाउथेका हरिबहादुर थापा नितान्त नौलो फिल्म क्षेत्रमा हाम फालेका हुन् । उनी भन्छन्, ‘यो मेरो आगमन होभन्दा पनि एउटा राम्रो चलचित्रको आगमन हो ।’

अर्का कलाकार कुविना गुरुङले फिल्मको कथाबारे बोल्दै आफ्नो जातीय परम्पराअनुसार मामाको छोरी, फूपूको छोराबीच नै विवाह हुनुपर्छ भन्ने नभई उनीहरुले चाहेको खुसी अनुसार विहे गर्न सक्ने बताउँछिन् ।

फिल्ममा सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्मको प्रस्तुतकर्ता लक्ष्मी कुँवर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?