+
+
कञ्चनपुरमा बाढीले बिजोग :

‘एक जोर कपडाबाहेक केही बाँकी रहेन’

‘पशुचौपाया, बाख्रा, लत्ताकपडा, भाँडाकुडा, अन्नपात सबै गयो हजुर । बाँकी रहेको घर मात्र हो । त्यो पनि बस्न लायक छैन ।’

जनक विष्ट जनक विष्ट
२०८१ साउन १ गते ९:३२

१ साउन, धनगढी । लगातार परिरहेको पानी नरोकिएपछि कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–३ को पटराखल्लास्थित जमुनाघाट टोलका हेमबहादुर सुनारलाई २३ असारको राति निन्द्रा नै परेन । भारी वर्षाका कारण बस्ती डुबानमा पर्ने हो कि ? भन्ने चिन्ता सुनारलाई थियो ।

नभन्दै राति १२ बजेतिर महाकाली नदीमा मिसिने भारतको जगबुढा नदीको पानी बिस्तारै बस्तीमा पस्न थाल्यो । नदीको पानी बस्तीमा पस्न थालेपछि सुनारलाई अब आफ्नै घरको चिन्ता लाग्न थाल्यो ।

मध्यरातसम्म जाग्राम बसेका सुनार सुत्ने कुरै थिएन । उनले छरछिमेकलाई खबर गर्न नभ्याउँदै जगबुढा नदीको बाढी बस्तीतिर यसरी उर्लियो कि एकपछि अर्को घर उनले हेर्दाहेर्दै डुब्न थाले । घर डुबेपछि सुरक्षित स्थानतिर उक्लिनुबाहेक अरु विकल्प स्थानीयसँग थिएन ।

हेर्दाहेर्दै बस्तीमा पसेको ठूलो बाढीले पशु चौपाया, घरभित्र भएको अन्नपात आँखाअगाडि बगाएर लग्यो । ‘राति बाहिर ठूलो पानी परिरहेका थियो । के हुन्छ भन्ने चिन्ताले निदाउन सकिरहेको थिएन,’ सुनारले अनलाइनखबरसँग भने, ‘एक्कासि जगबुढा नदीको बाढी घरभित्रै पस्यो । गोठमा बाँधेका पशु चौपायालाई त क्षणभरमै बगायो । ज्यान बचाउन नै मुस्किल भइहाल्यो नि !’

आधा शरीर डुबिसकेको अवस्थामा आफूसहितका छरछिमेकीहरु राति सुरक्षित स्थानमा सरेको उनी बताउँछन् । स्थानीय जमुना आधारभूत विद्यालयमा आश्रय लिएर बसिरहेका उनले बाढीबाट ज्यान जोगाएपनि अरु केही पनि बाँकी नरहेको सुनाएका छन् ।

‘बाँच्नै मुस्किल भइसकेको थियो तर ज्यान जसोतसो जोगाइयो । अरु केही पनि बाँकी रहेन नि,’ सुनारले सुनाए, ‘पशुचौपाया, बाख्रा, लत्ताकपडा, भाँडाकुडा, अन्नपात सबै गयो हजुर । बाँकी रहेको घर मात्र हो । त्यो पनि बस्न लायक छैन ।’ बाढीले बस्तीलाई बगरमा परिणत गरिदिएको छ भने खेतसमेत नासिदिएको छ ।

सोही बस्तीका वीरबहादुर सुनार पनि बाढीले घर डुबानमा परेपछि विद्यालयमै आश्रय लिएर बसिरहेका छन् । बाढीले घर, खेत डुबाएर बगर बनाइदिएपछि उनी घर न घाटका भएका छन् ।

‘बाढीले बिजोग बनाएको पनि हप्ता दिन भइसक्यो हजुर । घर, खेत पूरै बगर भइसकेकाले बस्न मिल्न अवस्था छैन,’ वीरबहादुरले भने, ‘गाउँका सबै जना अहिलेसम्म स्कुलमै बास बसिरहेका छौँ ।’ बाढीले घरमा भएको सबै सरसामान बगाएपछि उनले ज्यान र शरीरमा भएको एक जोर लुगा मात्र जोगिएको बताउँछन् ।

‘बचेको यही एक जोर लत्ता(कपडा) र चप्पल मात्रै हो । लाज छोप्न पनि केही बाँकी रहेन । यो वर्षको बाढीले हामीलाई घर न घाटको बनाइदियो के गर्ने,’ उनले भने ।

स्थानीय मन्जु सुनार पनि हप्ता दिनदेखि टोलका अन्य मानिसले आश्रय लिइरहेको विद्यालयमा लालाबालासहित बसिरहेकी छन् । बस्तीमा बाढी पसेपछि तीन जना छोराछोरीसहित राति नै घर छाडेकी उनको समस्या पनि अरु भन्दा फरक छैन ।

घरमा भण्डारण गरेर राखेको अन्नपात, लुगाफाटो, भाडाकुडा, पशुचौपाया सबै बाढीले सखाप पारेको छ भने घर पनि पूर्ण रुपले क्षतिग्रस्त भएर बस्न नसक्ने अवस्था रहेको छ । त्यसैकारण अहिलेसम्म घर फर्किन नसकेको उनको भनाइ छ ।

‘यहाँ(स्कुल) बस्दा त्यस्तो कुनै समस्या छैन । तर सरहरु बाहिर रिसाउनुहुन्छ । अरु सबै थोक बगेपछि घर छँदैछ तर पानी सुकेको छैन । बस्न लायक पनि छैन,’ मञ्जुले अनलाइनखबरसँग भनिन्, ‘थोरै भएपनि हामीलाई राहतको आवश्यकता छ । सरकारले अहिलेसम्म कुनै पहल गरिदिएको छैन ।’

कापीकलम बाढीमै बग्यो, पढाइ प्रभावित

यो टोलका बालबालिकाको कापी, किताब र विद्यालय पोशाकसमेत बाढीले बगाएपछि पढाइ समेत प्रभावित भएको छ । अहिले स्काउट नामक संस्थाले उनीहरुलाई आश्रयस्थलमै पुगेर पढाइरहेको छ ।

दोधाराचाँदनी नगरपालिका कार्यालयका अनुसार २३ र २४ असारको बाढी तथा डुबानका कारण प्रभावित भएका वडा नम्बर ३ को पटराखल्लाका ४० परिवारलाई स्थानीय जमुना माध्यमिक विद्यालयमा व्यवस्थापन गरेर राखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले नगर क्षेत्रका कम्तीमा पनि साढे २ हजार घरधुरी बाढी तथा डुबानका कारण प्रभावित भएको बताए । उनीहरु मध्ये अवस्था सामान्य हुँदै गएपछि धेरैजसो घर फर्किएपनि वडा नम्बर ३ को पटराखल्लाका ४० परिवारलाई भने विद्यालयमै राखिएको उनी बताउँछन् ।

प्रभावितहरुलाई गैरसरकारी संघसंस्थाको सहयोगमा आवश्यक पर्ने राहत, खाद्यान्न लगायतका सामग्री दिइरहेको नगरपालिकाले जनाएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुगेका प्रदेशका स्वास्थ्य महिला तथा बालबालिकामन्त्री ओमविक्रम भाट ‘सरल’ ले औषधी तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

मन्त्री भाटले दोधाराचाँदनी नगरपालिकासहित कञ्चनपुरका सबै प्रभावित स्थानीय तहलाई औषधी र स्वास्थ्य सामाग्री वितरण गर्दै प्रदेश सरकारले चाडै राहत समेत प्रदान गर्ने बताएका छन् ।

उनले दोधाराचाँदनी र कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका बाढी तथा पहिरो प्रभावितको अवस्था निकै दर्दनाक भएकाले उनीहरुलाई तत्काल राहत आवश्यक परेको समेत बताएका छन् ।

 

 

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?