+
+

जोखिम नभएको भनिएको सिमलतालमा कसरी गयो बस बगाउने पहिरो ?

केही वर्षअघि भरतपुर महानगरपालिका–२९ कै मौरी पुलमा पनि यस्तै ठूलो पहिरो गएको थियो । त्यतिबेलाको पहिरोभन्दा सिमलतालको पहिरो सामान्य लाग्न सक्छ । तर, जानकारका अनुसार यो पहिरो एकदमै भयानक प्रकृतिको हो ।

सुवास पण्डित सुवास पण्डित
२०८१ साउन १ गते १९:५०

१ साउन, काठमाडौं । ओरालोओरालो परेको ठाउँ । काखैमा गड्गडाउँदै बगिरहेको त्रिशूली नदी । सडकमाथिको डाँडामा आकर्षक हरियाली छ । नदी पारितर्फ देखिन्छन् आकर्षक दुई वटा झरना ।

नारायणगढ-मुग्लिन सडकखण्ड भएर यात्रा गर्ने जो कसैको आँखा नदीपारि देखिने यी झरनामा पुगेकै हुन्छन् । स्थानीयले एउटा झरनाको नाम ‘जरी’ र अर्कोको नाम ‘मुक्ति’ राखेका छन् । ‘जरी’ अलि ठूलो छ भने ‘मुक्ति’ सानो ।

पूर्व र पश्चिम नेपाललाई राजधानी काठमाडौंसँग जोड्ने ३६ किलोमिटर लामो मुग्लिन–नारायणगढ सडकखण्डमा दैनिक १२ हजारभन्दा बढी सवारी साधन गुड्ने गर्दछन् । यही सडकखण्डमा पर्छ, सुन्दर सिमलताल क्षेत्र ।

यही सिमलताल क्षेत्रमा गत शुक्रबार बिहान एउटा दुर्घटना भयो । हिउँदमा पानीसमेत नभेटिने सिमलतालको सिन्दुरे गैह्रेमा आएको लेदोसहितको पहिरोले सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगायो ।

काठमाडौंबाट रौतहटको गौरतर्फ जान आउँदै बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको यात्रुबाहक बस र त्यही समय वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको पहिरोमा परेर एक साथ त्रिशूलीमा खसे ।

सिमलताल क्षेत्र ।

काठमाण्डौंबाट आउँदै गरेको गणपति डिलक्समा ३८ यात्रु र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स डिलक्समा २७ यात्रु सवार थिए । त्रिशूलीमा खसेका दुबै बसका ६५ जनामध्ये ३ जनामात्रै पौडिएर बाँच्न सके ।

सडक छेउमा २ वटा सुरक्षा पर्खाल त थियो । तर ती सुरक्षा पर्खाललाई समेत भाँचेर पहिरोले बसलाई त्रिशूलीमा खसालेको घटनास्थलका आधारमा अनुमान लगाउन सकिन्छ ।

बस खसेको स्थानमा बसको सिसाको कुनै टुक्रा पनि छैन । खसेका बस त्रिशूलीको वेग भएको ठाउँमा नै झरे । उद्धार टोलीका अनुसार जहाँनेर बस खसेको भनिएको छ, त्यहाँनेर नदीको वेग पनि तुलनात्मक रुपमा धेरै छ ।

खोल्सामा गेग्य्रान थुप्रिँदा सुरु भएको पहिरो

घटनास्थल नजिकै रहेको सिन्दुरे गैह्रेमा हिजोआज पानीको मात्रा घटेको छ । गैह्रे खोल्साको पानी जानका लागि सडकमुनि कल्भर्ट पनि बनाइएको थियो । तर, स्थानीयका अनुसार असार ८ गते परेको पानीले गेग्य्रान बगाएर ल्याउँदा उक्त कल्भर्ट थुनिन थालेको थियो ।

सडकभन्दा केही माथि बनेका ग्याबिन जालीमा पनि धेरै चाप पर्दै गएपछि ह्वात्तै बग्दा पहिरोले ठूलो रुप लिएको अनुमान लगाउन सकिन्छ । खोल्साको केही माथि देब्रेतर्फबाट झरेको पहिरो र त्यही पहिरोले ग्याविनसमेत लछार्दै भत्काएको दृश्य अहिले पनि देख्न सकिन्छ ।

पहिरोले भत्किएको ग्याबिन जाली ।

केही वर्षअघि भरतपुर महानगरपालिका–२९ कै मौरी पुलमा पनि यस्तै ठूलो पहिरो गएको थियो । त्यतिबेलाको पहिरोभन्दा सिमलतालको पहिरो सामान्य लाग्न सक्छ । तर, जानकारका अनुसार यो पहिरो एकदमै भयानक प्रकृतिको हो ।

मुग्लिन-नारायणगढ सडक विस्तारका क्रममा लामो समयसम्म सूचना अधिकारी भएर काम गरेका इन्जिनियर शिव खनालले सिमलताल पहिरोको जोखिम क्षेत्रमा नरहेको बताउँछन् । मुग्लिन-नारायणगढ सडकखण्डमा २५ स्थानमा पहिरोको जोखिम क्षेत्र भनिए पनि सिमललाल क्षेत्र भने त्यसमा समेटिएको थिएन ।

‘नपत्याएको ठाउँमा पहिरो खस्यो, यहाँ जोखिम थियो जस्तो पनि लाग्थेन’, इन्जिनियर खनाल भन्छन्, ‘यो भन्दा खतरनाक ठाउँहरु छन् । सिमलताल क्षेत्र सम्वेदनशील हो तर यतिको खतरा ठाउँ होला भन्ने थिएन ।’

पहिरो सुरु भएको ठाउँ ।

६० को दशकसम्म यो क्षेत्रमा पहिरोको समस्या रहे पनि त्यसपछि भने कुनै समस्या नआएको इन्जिनियर खनाल सुनाउँछन् । उनका अनुसार माथिल्लो भेगमा गरिएको वृक्षारोपण तथा पहिरो नियन्त्रणका लागि गरिएको उपाय र डाँडाको झुकाव पनि २५ डिग्रीको हाराहारी भएकाले सिमलताललाई जोखिम क्षेत्रमा राखिएको थिएन ।

भूगर्भविद् टुकलाल अधिकारीले त्यस समयमा सिमलतालका १ सय मिटर लम्बाइ र ५०/६० मिटर लम्बाइमा दुई ठाउँमा पहिरोले नराम्रोसँग सडक भत्काएको बताए । उनका अनुसार मनसुन सुरु हुनुभन्दा केही समय अगाडि सडकको भौगौलिक अवस्थाको जाँच गर्दा त्यस क्षेत्रमा सडकको धरातल बलियो नै थियो ।

‘सिन्दुरे गैह्रेमा रहेको सडक तलको कलभर्टले अहिलेसम्म आउने पानीलाई थेगिरहेको थियो, पहिला बनाउँदा जत्रो थियो, पछि विस्तार गर्दा पनि त्यसलाई बढाइएन’, अधिकारीले भने, ‘तर अहिले लेदोसहितको गेग्रानले पुरै भरेर सडक माथिबाट आउँदा बस बगायो ।’

डोजरे विकासले निम्ताएको विनास

जहाँ दुर्घटना भयो, त्यसको नजिकै माथि नारायणगढतर्फबाट कविलास डुम्रेबेसी जाने सडक खनिएको छ । सो सडकको केही भागमा ढलानसमेत गरिएको छ । यसअघिका भरतपुर–२९ का वडाध्यक्ष मनबहादुर मगरले आफ्नो पालामा शाखा सडक खनेर गाउँतिर लगेको बताए ।

मुग्लिन-नारायणगढ सडक भन्दा माथि पनि बस्ती भएकाले जनताको माग अनुसार नै सडक बनाएको मगरको प्रष्टीकरण छ छ । डुम्रेबेंसीबाट डुम्रे गाउँसम्म जाने सडक भने हालसालै खनिएको थियो । भरतपुर महानगर–२९ का अध्यक्ष सूर्यबहादुर गुरूङले वडास्तरीय बजेटबाट ५ लाख रकम विनियोजन गरेर डुम्रेबेसीदेखि गाउँसम्म ट्याक खनिएको बताए ।

गाउँ जाने बाटो ।

सडक खनेको ठाउँको माटो र ढुंगा सडकको किनारमा राख्ने, सडकबाट नै पानी बग्ने र नयाँ बाटो भएकाले पानीले भत्काउने गर्दा पहिरो आएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

जिओटेक एक्सपर्ट टुकलाल अधिकारीले यसरी अचानक पहिरो आउनुका पछाडि जथाभावी खनिएको ग्रामीण सडक हुनसक्ने बलियो आधार रहेको बताउँछन् । ‘हामीले पहिले पनि ड्रोन इमेजहरु लिएका थियौं, बाटो त बनाए बनाए, ठाउँठाउँबाट डोजर लगाएर माथि डाँडामा मेट्रियल्सहरु पनि निकालेको देख्यौं,’ विज्ञ अधिकारीले भने, ‘यसरी जथाभावी भत्काएपछि एकातिर नियमित बगिरहेको पानी अर्कोतिर बग्छ, जमिन कमजोर बन्छ, नयाँ ठाउँ भएपछि खोतल्न र भत्काउन सजिलो हुन्छ । यस्ता दुर्घटना अन्यत्र नहोला भन्न पनि सकिन्न ।’

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले माथि ६५० मिटर नयाँ बाटो खनेको देखिएको बताए । ‘सडकबाट करिब ९ सय मिटर माथिबाट पहिरो झरेर त्यसले भोल्यूम बढाउँदै लगेर खोल्सीमा जम्मा भई एकैपटक सडकमा आएको जस्तो देखिन्छ,’ डिभिजन प्रमुख पौडेल भन्छन्, ‘सिमलतालमा भएको भयानक दुर्घटनाको कारण जथाभावी खनेको बाटो नै हो भन्ने मेरो बुझाइ हो, यी भेगमा डोजरले छुन पनि दिनु हुन्न भन्छु म ।’

राजमार्गबाट मनपरी ग्रामीण बाटो

मुख्य राजमार्गबाट ग्रामीण सडक खन्दा मुखमा ५०/६० मिटरसम्मको अवस्था हेरेर अनुमति दिने गरिन्छ । तर, त्यसभन्दा माथि भने अनुमति पनि लिने गरेको पाइँदैन । सुरुमा अनुमति लिने तर पछि आफूखुसी जथाभावी डोजर चलाउने गरिएको सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख पौडेल बताउँछन् ।

पौडेलले कम्तीमा पनि ‘लाइफलाइन’बाट जथाभावी ग्रामीण सडक खन्ने काम रोक्न संघीय मन्त्रालयबाटै नीतिगत निर्णय हुनुपर्ने बताउँछन् । डिभिजनले कतिसम्म कार्यक्षेत्र लिने भन्ने प्रश्न भए पनि लाइफलाइनको हकमा जोखिम क्षेत्रसम्म हेर्ने गरी नीतिगत निर्णयका लागि माग गरेको उनले सुनाए ।

नारायणगढ–मुग्लिन सडकखण्डको २७ किलोमिटरमात्रै भरतपुर महानगरपालिकाको २९ नम्बर वडामा पर्छ । यही खण्डमा सहायक सडक खन्न बढी माग हुने गरेको डिभिजन प्रमुख पौडेलले बताए ।

‘इच्छाकामनामा बरु त्यति समस्या छैन, खासै बाटो पनि बनेको छैन, तर भरतपुर २९ को हकमा समस्या छ,’ उनले भने, ‘उहाँहरु जबर्जस्ती गर्न पनि तयार हुनुहुन्छ, मैले २ ठाउँमा त प्रशासनको सहयोगमा पर्खाल नै लगाइदिएँ ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?