+
+

त्रिवि क्रिकेट मैदान धमाधम गरिँदैछ स्तरोन्नति

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ साउन १ गते २०:४९

१ साउन, काठमाडौं । गत जेठ पहिलो साता ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप फाइनलपछि त्रिवि क्रिकेट मैदान खाली छ । नेपाल टी–२० विश्वकप खेल्न अमेरिका र वेष्टइण्डिज गएपछि र वर्षायाम सुरु भएकाले प्रतियोगिताहरु भएनन् ।

एसीसी वुमन्स एसिया कप खेल्न जानुअघि महिला टोलीले घाम लागेको दिन त्रिवि मैदानमा अभ्यास गरेको थियो । तर औपचारिक खेलहरु भने भएका छैनन् ।

मनसुन सुरु भइसकेको र निरन्तर पानी पर्ने भएकाले भदौअघि त्रिवि मैदानमा बिरलै खेलहरु हुने गर्छन् । यसै समयमा त्रिवि मैदान स्तरोन्नतिको काम हुन्छ ।

अहिले त्रिवि क्रिकेट मैदानमा स्तरोन्नतिको काम धमाधम चलेको छ । ‘पिचको जरासम्म गएर बिग्रिएको लेयर हटाउन हामीले चार इन्च जति माटो फालेर नयाँ माटो हालेका थियौं । रोलर लगाएपछि घाँस रोप्ने काम सकियो । घाँस राम्रो आएको हुँदा लास्ट लेयरको रुपमा धुलोमाटो हालेर काम गरी रहेका छौं’, त्रिवि मैदानका मैदानका प्रमुख क्युरेटर मधु थोकरले भने ।

मैदानको पिच कस्तो बनाउने यो चार महिनामा गर्ने कामले निर्धारण गर्दछ ।

‘घाँसको जरा जति मुनिसम्म जान्छ त्यतिसम्म विकेट राम्रो भइराख्छ । चिसो सुरु भएपछि माथिको मुनाहरु फाल्नुपर्ने हुन्छ र जरा जानुपर्ने जति तल जादैन’, उनले भने ।

क्रिकेट मैदानमा गर्नुपर्ने सुधारका लागि यही नै उपयुक्त समय भएको थोकर बताउँछन् । ‘तर पानी बढी हुँदा काम गर्न सहज भने हुँदैन । तीन चार महिना पिच राम्रो बनाउन उपयुक्त समय हो । जरा जति तलसम्म पुग्छ त्यति लामो समयसम्म विकेट टिक्छ ।’

त्रिवि मैदानकै नेटमा पनि नयाँ पिच बनाउने काम भएको छ । त्यसको लागि अहिले पिचको खाडलमा ढुङ्गा र बालुवा हालिएको छ । बंगलादेश क्रिकेट बोर्डको सहयोगमा गतवर्ष मूलपानी क्रिकेट मैदान बनाएका क्युरेटर मोहम्मद अब्दुल अल ममुनले नेटमा पिचको काम गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार अहिले भएको मैदान बाहिरको तारजाली पनि सारिनेछ । त्यसले गर्दा मैदानमा बाउन्ड्री केही बढ्नेछ ।

हावाले साइड स्क्रिन समय समयमा लडाउने गर्छ । त्यसको दीर्घकालीन समाधान खोज्न क्यानले प्रयास गरेको छ । हाल दुबै साइड स्क्रिन तेर्सो राखिएको छ । ‘अहिले भएको साइडस्क्रिन पछि फिक्स गर्ने योजना छ । त्यसलाई पछाडि सार्दै लाइभ गर्न नमिल्ने गरी चलाउन मिल्ने खालको बनाउदै छौं’, उनले भने ।

डिजिटल स्क्रिन बोर्ड राख्नलाई सानो भवन बनाइएको छ । स्कोर बोर्डकै छेऊमा बनेको उक्त भवनको अन्य काम गर्न भने बाँकी छ । उक्त डिजिटल स्कोर बोर्ड बनाउन ७ करोड २० लाख रुपैयाँ अनुमानित लागत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेको थियो । भवनको कामको ठेक्का पञ्चकन्या हिमालय जेभीले पाएको छ ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ चैतमा फ्लड लाइट राख्न निर्देशन दिएका थिए । तर फ्लड लाइट राख्ने सुरसार छैन । गतवर्ष दर्शकदीर्घामा माटो परिक्षण बाहेक अन्य काम अघि बढ्न सकेन ।

राखेपले गतवर्ष कात्तिकमा एमएसआईपीएल एएससी पावर जेभीलाई २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा फ्लड लाइट जोड्न ठेक्का दिएको थियो । तर आवेदन दिएका अन्य चार कम्पनीले आफूलाई नियतवश फेल गराएको भन्दै उच्च अदालत पाटनमा मुद्दा दिएपछि उक्त ठेक्का रद्द भएको थियो ।

राखेपले फ्लड लाइटको लागि चैत ११ मा ८२ करोड ६१ लाख अनुमानित लगात राख्दै बोलपत्र आह्वान गरेको थियो । अघिल्लो सातासम्म पाँच कम्पनीले आवदेन दिँदा राखेपले टुङ्गो लगाउन सकेको छैन ।

कात्तिकमा त्रिविमा पुरुष टोलीको खेल

टी–२० विश्वकप खेलेर आएरसँगै नेपालको हाल अन्तर्राष्ट्रिय खेल छैन । नेपालले अब सेप्टेम्बरमा क्यानडा भ्रमण गर्नेछ । नेपाली क्रिकेट टोलीका खेलाडीहरु पनि त्यसैको तयारी गरेका छन् । रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल लगायतका खेलाडीहरुले त्रिविमा अहिले अभ्यासरत छन् ।

सेप्टेम्बरमा नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई तथा आईसीसी लिग–२ सिरिज हुनेछ । लिग–२ त्रिकोणात्मक सिरिजपछि नेपालले क्यानडसँग दुई ओडीआई खेल खेल्नेछ । नेपालले झण्डै एक महिना क्यानडामा बिताउनेछ ।

नेपाल क्यानडाबाट नै अमेरिका जाने सम्भावना धेरै छ । त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक टी–२० आई र आईसीसी विश्वकप लिग–२ सिरिज हुनेछ । क्यानडा र अमेरिका भ्रमणपछि मात्रै नेपालले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्ने पक्का छ । त्यसैले कात्तिक तेस्रो साताअघि नेपालको पुरुष टोलीको अन्तर्राष्ट्रिय खेल त्रिविमा हुने सम्भावना देखिदैन ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?