+
+

के सेयर बजारले ‘बुलिस’ यात्रा थालेको हो ?

बुलिस ट्रेन्डमा लगानीकर्तामा सेयर बजारप्रति विश्वास कायम हुन्छ । सेयर बजारबारे प्राविधिक विश्लेषण गर्दै आएकाहरू तथा पुराना लगानीकर्ता पनि बजारमा बुलिस ट्रेन्ड सुरुवात भएको बताउँछन् ।

कमल नेपाल कमल नेपाल
२०८१ साउन २ गते ९:११

२ साउन, काठमाडौं । सेयर बजारले दुई वर्षयताका सबै ‘साइडवेज’ अंक तोडेको छ । साइडवेजको ‘इन्ट्राडे’ मा गत वर्ष २६ पुसमा २२७७ को उच्चतम अंक बनेको थियो ।सोही वर्ष ८ साउनमा बजार बन्द हुँदा साइडवेज ट्रेन्डकै उच्चतम २२२७ अंक कायम भएको थियो । तर, बजारले साइडवेजका ती सबै उच्चतम अंक अहिले तोडेको छ ।

अर्थात्, सेयर बजार २६ महिनाकै उच्चतम २३१० अंकमा पुगेको छ । बजार बन्द हुँदाको यो अंक २९ वैशाख २०७९ यताकै उच्चतम हो । त्यस दिन बजार घट्दो क्रममा आउँदा २३४८ अंकमा झरेको थियो ।

२ भदौ २०७८ मा सेयर बजारले ३१९८ अंकको उच्चतम रेकर्ड बनाएपछि क्रमिक ओरालो लागेको थियो । ९ असार २०७९ मा १८४७ अंकसम्म झर्‍यो । त्यसपछि बजार दुई वर्षसम्म १८ सयदेखि २२ सय आसपास साइडवेज प्रवृत्तिमा रह्यो ।

न्यूनतम बिन्दुबाट ६ महिनाभन्दा बढी समय लगाएर २० प्रतिशतभन्दा बढी बजार बढ्नुलाई ‘बुलिस ट्रेन्ड’को सुरुवाती मान्ने गरिन्छ, यो अन्तर्राष्ट्रिय मान्यता हो । यतिबेला नेपाली बजारले यो मान्यता पछ्याइसकेको छ ।

१ जेठ २०७९ मा बजार १८१८ अंकमा झरेको थियो । यसैलाई न्यूनतम बिन्दु मान्ने हो भने ठिक १४ महिनापछि हाल २३१० पुग्दा बजार २७ प्रतिशत बढेको छ । अर्कातर्फ, पछिल्लो साइडवेज चरणका अंक तोडिएका छन् । बुलिस ट्रेन्डमा लगानीकर्तामा सेयर बजारप्रति विश्वास कायम हुन्छ । सेयर बजारबारे प्राविधिक विश्लेषण गर्दै आएकाहरू तथा पुराना लगानीकर्ता पनि बजारमा बुलिस ट्रेन्ड सुरुवात भएको बताउँछन् ।

‘साइडवेजका अंकहरू तोडिएको छ, अर्कातर्फ कारोबार रकम बढ्दै गएको छ, यो बुल सुरुवाती चरणको संकेत हो,’ सेयर लगानीकर्ता संघ नेपालका कार्यवहाक अध्यक्ष ताराप्रसाद फुल्लेलले भने ।

मंगलबार मात्रै सेयर बजारमा ९ अर्ब १३ करोडको कारोबार भयो । जुन कारोबार रकम ३ माघ २०८० यताकै उच्च हो । त्यस दिन ९ अर्ब ७६ करोडको कारोबार भएको थियो।

कारोबार रकम बढ्नुले पनि लगानीकर्तामा विश्वास बढेको जनाउँछ, जसले बुलिस ट्रेन्डलाई संकेत गर्छ । प्राविधिक विश्लेषण गर्नेले लगानीकर्ताको आत्मविश्वासलाई ‘फियर एन्ड ग्रिड मिटर’ मा हेर्ने गर्छन् । यो मिटर यतिबेला एक्स्ट्रेम ग्रिड जोनमा प्रवेश गरेको छ । यसले सेयर लगानीकर्तामा डर हटेको र लोभ बढेको संकेत गर्छ ।

बजार घट्दा पनि अब यसअघिको ‘हाइयर लो प्वाइन्ट’ १९६० भन्दा माथि नै रहने प्राविधिक जानकार दाबी गर्छन् । प्राविधिक रूपमा समेत अध्ययन गर्दै आएका लगानीकर्ता सुवासचन्द्र ढुंगानाले अहिले बजारलाई बुलिस ट्रेन्ड सुरुवातको संकेतका रूपमा बुझेका छन् ।

२ माघ २०८० मा बजार करिब २२ सय अंक नजिक पुगेर झर्ने क्रममा न्यूनतम बिन्दु १८१८ आसपास झर्ने अनुमान गरिए पनि २४ वैशाख २०८१ मा १९५८ अंकसम्म झरेर फर्कियो । यही बिन्दुलाई बजारले हाइयर लो प्वाइन्ट बनाइसकेको उनले बताए ।

‘हाइयर लो, हाइयर हाई ट्रेन्ड नै बुलिसको संकेत हो । अहिले हाइयर लो बनिसकेको अवस्था छ । हाइयर हाई बन्ने चरणमा छ,’ ढुंगानाले भने । बजार बुलिस ट्रेन्डमा लागेको भन्दैमा लगातार बढ्ने हुँदैन । बेला–बेला बढ्ने, बेला–बेला घट्ने हुन्छ । ‘बुलिस ट्रेन्डमा पनि बजार घट्छ, लगातार बढ्छ भन्ने भ्रममा कोही पनि पर्नु हुँदैन,’ उनले भने ।

बजारलाई यतिबेला बैंक ब्याजदर, लगानीयोग्य रकम पर्याप्तता जस्ता पक्षले पनि साथ दिइरहेको छ । सोमबार मात्रै बैंकहरूले सार्वजनिक गरेको ब्याजदर सूची अनुसार अधिकांशले घटाएका छन् ।

वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर जम्मा ७.५३ प्रतिशतमा झरेको छ । यसले गर्दा मुद्दतीमा रकम राख्नेहरू समेत सेयर बजारतिर लगानी गर्न आकर्षित हुन्छन् । ऋणको ब्याजसमेत सस्तो हुने भएकाले कर्जा लिएर पनि कतिपयले सेयर बजारमा लगानी बढाउने गरेका छन् ।

‘बजारमा बुलिस ट्रेन्ड सुरु हुँदा ब्याजदर पनि घट्दो क्रममा रहन्छ, स्टक मार्केट र ब्याजदरको सम्बन्ध सामान्यतया उल्टो हुने गर्दछ,’ फुल्लेलले भने । बैंकहरूले मात्रै होइन नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषले पनि ठूलै दरमा ब्याज घटाएका छन् ।

दुई वर्षयता सेयर बजार पटक–पटक १८ सय बिन्दु नजिक आउने र २२ सय आसपास पुगेर फर्किएको छ । ९ असोज २०७९ मा १८१५ अंकमा आएको बजार सोही वर्ष १६ पुसमा २२११ अंक पुग्यो । १ जेठ २०८० मा फेरि बजार १८१८ बिन्दुसम्म झ‍र्‍यो । सोही वर्ष ७ साउनमा २२२७ बिन्दुसम्म पुग्यो ।

२२२७ भन्दा माथि जान नसकेपछि ओर्लिएको बजार १९ कात्तिक २०८० मा १८२६ बिन्दुमा झ‍¥यो । तर, उक्त अवधिको तीन महिनामै ३ माघ २०८० मा २२ सय पुगेको बजार त्यसयता १९५८ बिन्दुभन्दा तल झर्न सकेन ।

अर्थात्, त्यसअघि बनेको न्यूनतम बिन्दु १८१८ भन्दा माथि नै बजार टिक्न सफल भयो । २४ वैशाख २०८१ मा नेप्से जम्मा १९५८ अंकसम्म मात्रै झ¥यो । यहीँनेर हाइयर लो प्वाइन्ट बनेको प्राविधिक विश्लेषक बताउँछन् ।

अहिले एकाएक साइडवेज ट्रेन्डभन्दा माथि बजार उक्लेको छ । पछिल्लो बजार वृद्धिलाई साना कम्पनी होइन, ठूला पूँजी भएका कम्पनी र बैंकिङ समूहले नै साथ दिइरहेका छन् । जसले गर्दा अबको बजार दिगो रूपमा बढ्ने लगानीकर्ताको अनुमान छ ।

‘बुलिस ट्रेन्ड हाइक्याप कम्पनीको भाउ पनि बढ्छ, लोक्याप कम्पनीको पनि बढ्छ,’ ढुंगानाले भने, ‘सेक्टर रोटेसन हुँदै बजार बढ्ने गर्दछ ।’

लोक्याप कम्पनीका भाउ एक चरणमा बढिसक्ने, हाइक्याप कम्पनीतिर लगानी मोडिनु, ट्रेन्डमा हाइयर लो र हाइयर हाई प्वाइन्ट बन्नेजस्ता विशेषता बुल बजारका सुरुवाती चरण रहेको प्राविधिक विश्लेषण गर्दै आएकाहरू बताउँछन् । यसका करिब सबै लक्षण देखिन थालेका छन् ।

यसपटक बजारलाई बुलिस ट्रेन्डमा लैजान राजनीतिक सत्ता समीकरणले पनि साथ दिएको छ । सेयर लगानीकर्ताले रुचाएका विष्णु पौडेल अर्थमन्त्री बनेका छन् । पौडेलले बजारका लागि खास प्रभावकारी काम नगरे पनि विगतमा उनी अर्थमन्त्री बन्दा बजारले बुल चरण तय गरेका उदाहरण छन् । जसले गर्दा लगानीकर्तामा सकारात्मक भावना बन्ने गरेको छ । अर्थमन्त्री नियुक्त हुनेवित्तिकै पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना रहेको प्रतिक्रिया दिए ।

अर्कातर्फ, दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको छ । शक्तिशाली सरकार बनेकाले निजी क्षेत्रप्रति केही भरोसा जागेको छ । त्यस्तै चालु आव २०८१/८२ का लागि मौद्रिक नीति आउने चरणमा छ ।

मुद्रास्फीति घटेको अवस्था, बैंकमा लगानीयोग्य रकम थुप्रिनु जस्ता कारण राष्ट्र बैंकलाई सेयर बजारप्रति विगतमा लिएको कडाइ व्यवस्था खुकुलो बनाउन दबाब पुगेको छ ।

सेयर कर्जामा एक व्यक्तिले १५ करोडसम्म मात्रै कर्जा पाउने व्यवस्था, ठूलो सेयर कर्जाको जोखिमभार १ सय २५ प्रतिशत कायम गरिनु जस्ता कडाइ व्यवस्थामा यो पटकको मौद्रिक नीतिले सहजता प्रदान गर्ने विश्वास लगानीकर्तामा छ । आउने मौद्रिक नीति हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा अन्तिम हुनेछ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?