+
+

इन्जिनियरिङ लाइसेन्स परीक्षा : वातावरणका परीक्षार्थी शतप्रतिशत पास, केयुको नतिजा उत्कृष्ट

विश्वविद्यालयअनुसार लाइसेन्स परीक्षाको नतिजा हेर्दा काठमाडौं विश्वविद्यालयमा पढेकाहरु सबैभन्दा धेरै पास भएका छन् । समग्रमा वातावरण इन्जिनियरिङ विषयका परीक्षार्थी शतप्रतिशत पास भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १०:२३

२ साउन, काठमाडौं । नेपाल इन्जिनियरिङ काउन्सिलले लिएको पाँचौं पटकको लाइसेन्स परीक्षामा ३४ प्रतिशत परीक्षार्थी पास भएका छन् ।

४ हजार ६२ जनाले लाइसेन्सको परीक्षा फारम भरेकामा ३ हजार ७८८ जनाले परीक्षा दिएका थिए । तीमध्ये १ हजार २८५ जना मात्र उत्तीर्ण भएका नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा. विकास अधिकारीले जानकारी दिए ।

विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था भएकोमा गत वर्षदेखि काउन्सिलले लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो । काउन्सिलले लिएको यो पाँचौंपटकको परीक्षा हो ।

यसपटक इन्जिनियरिङ क्षेत्रका २३ वटा विधामा लाइसेन्स परीक्षा सञ्चालन गरिएको थियो । तीमध्ये वातावरण इन्जिनियरिङमा शतप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यसपछि सबैभन्दा धेरै उत्तीर्ण हुनेमा आर्किटेक्ट इन्जिनियरिङ विधाका परीक्षार्थीहरु छन् । आर्किटेक्टका ८० प्रतिशत परीक्षार्थी लाइसेन्स परीक्षामा पास भएको काउन्सिलका उपाध्यक्ष डा. अधिकारीले जानकारी दिए ।

काठमाडौं विश्वविद्यालयको नतिजा उत्कृष्ट

विश्वविद्यालयअनुसार लाइसेन्स परीक्षाको नतिजा हेर्दा यसपटक पनि काठमाडौं विश्वविद्यालय (केयु)मा पढेकाहरु सबैभन्दा धेरै पास भएका छन् ।

काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ विषय पढेका ३३२ जना लाइसेन्स परीक्षामा सहभागी भएकोमा ५०.९० प्रतिशत परीक्षार्थी पास भएका छन् ।

यसैगरी सुदूरपश्चिम विश्वविद्यालयका ८ जनामध्ये ५० प्रतिशत पास भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयका ५७१ जनामध्ये ३५.९०, त्रिभुवन विश्वविद्यालयका ६५५ जनामध्ये ३५.२७ र पोखरा विश्वविद्यालयका ९९३ जनामध्ये ३४.१४ प्रतिशत परीक्षार्थीले लाइसेन्स परीक्षा पास गरेका छन् ।

सबैभन्दा कम मध्यपश्चिम विश्वविद्यालयका २४.५ प्रतिशत परीक्षार्थी लाइसेन्स परीक्षामा पास भएका छन् ।

विदेशका विश्वविद्यालयमा पढेका १ हजार १८० जना पनि लाइसेन्स परीक्षामा सहभागी थिए । अघिल्ला पटकको तुलनामा यसपटक विदेशमा पढेर आएकाहरुको नतिजा राम्रो देखिएको छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा. अधिकारीका अनुसार विदेशमा पढेर आएकाहरुमध्ये विगतमा २० प्रतिशत हाराहारीले लाइसेन्स परीक्षा पास गर्ने गरेकोमा यसपटक २७.५४ प्रतिशत उत्तीर्ण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?