+
+

जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ३ जना गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २ गते १०:५२
Photo Credit : फाइल फोटो ।

२ साउन, काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा छिन् ।

घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्धार नेपालगञ्ज लैजाने तयारी भइरहेको कुशे गाउँपालिका–८, वडाध्यक्ष डिल्लीबहादर सिंहले जानकारी दिए । ‘सीडीओ साबसँग कराकानी भइरहेको छ । केही मिलाउँदै हुनुहुन्छ होला !’उनले भने ।
वडाध्यक्ष सिंहका अनुसार घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर छ । उनको होश आउने जाने भइरहेको छ भने निरमाया थापाको दुवै खुट्टामा चोट लागेको छ । ‘निरमायाको पहिले पनि खुट्टा अपरेशन गरेको रैछ । अहिले अर्को खुटमा पनि चोट लागेपछि हिँड्नै नसक्ने भएकी छन्’, उनले भने ।

गएराति करिब १० बजेको समयमा उनीहरु बसिरहेको ठाउँमा पहिरो गएको वडाध्यक्ष सिंहले जानकारी दिए । पहिरो जाँदै गर्दा खुट्टामा चोट लागेकी निरमायालाई टहराबाट निकाल्ने प्रयास गर्दा छिमेकी कल्पना पनि पहिरोको चपेटामा परेको सिंहले बताए । ‘झट्टै निकाल्छु भनेर गएकोबेला विचरा आफू पनि पहिरोमा परिन्’, उनले भने ।

गतवर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो । उक्त भूकम्पले कुशे गाउँपालिका ७, ८, ९ लगायतका वडामा क्षति पु¥याएको थियो । बसेको घर भूकम्पले भत्काएपछि गाउँलेहरु अस्थायी टहरामा बसिरहेका छन् ।

वडाध्यक्ष सिंहले गाउँमा कुनै पनि घर बस्न लायक नरहेको बताए । पुनर्निमार्णका लागि केन्द्रबाटै चासो नहुँदा पीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ता पनि उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

‘कार्यविधिले गर्दा दोस्रो किस्ता दिनै सकिएको छैन । उहाँहरु अहिले छाप्रो टहरामै बसिराख्नुएको छ । यो ठाउँ भनेको खोला नाला धेरै भएको ठाउँ हो,’ वडाध्यक्ष सिंहले भने, ‘अझै जोखिम छ यो ठाउँमा । अझै धेरै क्षति पुर्‍याउन सक्ने देखिन्छ ।’

राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको  अध्ययनले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १६ जिल्लाका विभिन्न ठाउँलाई मनसुनजन्य विपद्को जोखिम क्षेत्र घोषणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?