+
+

बाढीले पुल बगाउँदा अवरुद्ध बनेको बेंसीसहर–चामे सडक अझै खुलेन

रासस रासस
२०८१ साउन २ गते १२:४९
फाइल फोटो ।

२ साउन, लमजुङ । बाढीले पुल बगाउँदा अवरुद्ध बनेको बेँसीसहर–चामे सडक २ हप्तादेखि खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार १८ गते बगाएपछि आवागन रोकिन पुगेको थियो ।

सो सडक अन्तर्गत सानो छहराको पुलमा ढुंगा र ग्रेग्र्यान थुप्रिएर क्षति पुर्‍याएको सडक कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर किरण पोखरेलले बताए । उनले भने, ‘क्षति पुर्‍याएको स्थानमा संरचना बन्ने तयारीमा छ, तर तत्काल बनाउँदा पानीको सतह बढ्दा बगाउने धेरै सम्भावना हुन्छ । ‘

पानीको सतह कम भएपछि काठेपुल राखेर सवारी सञ्चालनमा ल्याउने कार्यालयले जनाएको छ । विसं २०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो ।

त्यस्तै, दुई वर्षअघि मात्र सो स्थानमा पक्की मोटरेवल पुल निर्माण गरेर सञ्चालनमा आएको थियो । डुम्रे–बेँसीसहर–चामे योजना कार्यालयका अनुसार ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल १९ लाख ९४ हजार तीन सय ७२ रुपैयाँ र सानो छहरामा स्ल्याब कल्भर्ट पुल एघार लाख ८५ हजार पाँच सय ३९ रुपैयाँ ५१ पैसा लगानीमा निर्माण गरिएको थियो ।

तत्कालीन समयमा मनाङवासीलाई बेँसीसहर हुँदै काठमाडौँ, पोखरा, चितवन जानलाई र सो स्थानबाट आउनलाई समस्या भएको छ । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले सडक खुलाउन सडक विभागले प्रसास भए पनि पानीका कारण असफल भइरहेको बताए । उनले भन,’सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री अभाव हुँदै गएको र महँगीसमेत बढ्न थालेको छ ।’

यस सडकमा बर्सेनि वर्षात्‌का समयमा पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७८ असार १ गते आएको बाढीपहहिरोले चार महिनासम्म सडक अवरुद्ध बनाएको थियो । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप ०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो ।

नेपाली सेना कार्यागणले ०६९ मा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेपछि सडक सञ्चालन हुँदै आएको छ । तर बर्सेनि बर्खायाममा बाढीपहिरोले सडक अवरुद्ध बनाउँदा यात्रु तथा विषेश गरी मनाङवासी समस्यामा पर्दै आएका छन् ।

लामो समयसम्म सडक अवरुद्ध हुँदा हेलिकप्टरमार्फत बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने र सो ठाउँबाट आउने गर्दछन् । सडक अवरुद्ध हुँदा खाद्यान्न तथा लत्ताकपडासमेत लैजान समस्या हुँदा व्यवसायी मर्कामा पर्ने गरेका छन् । बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको छ । लमजुङतर्फ ३५ किमी र मनाङतर्फ ३० किमी सडक छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?