+

राखेपले सदस्य नपठाउँदा एन्टी डोपिङ एजेन्सी अपूर्ण

२०८१ साउन  २ गते १४:३७ २०८१ साउन २ गते १४:३७
राखेपले सदस्य नपठाउँदा एन्टी डोपिङ एजेन्सी अपूर्ण

२ साउन, काठमाडौं । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को पक्ष राष्ट्र भएको करिब १७ वर्षपछि गठन भएको नेपालको राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) ले अझै पूर्णता पाएको छैन ।

९ माघ ०८० मा मन्त्रिपरिषद् बैठकले डा. असिम भण्डारीलाई एजेन्सीको अध्यक्ष नियुक्त गरेको थियो । त्यसपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले ५ वैशाख २०८१ मा नाडामा २ सदस्य नियुक्त गरे ।

मन्त्री श्रेष्ठले नेपाल मेडिकल काउन्सिलको सिफारिसमा डा विश्वराज दवाडी, कानुन क्षेत्रको विज्ञ सदस्यका रुपमा अधिवक्ता मिलन श्रेष्ठ र खेल क्षेत्रको सदस्यका रुपमा पूर्वराष्ट्रिय खेलाडी विपिनराज वैद्यलाई सदस्य नियुक्त गरे ।

एजेन्सीमा एक जना सदस्य राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एकजना एन्टी डोपिङसम्बन्धी जानकार चिकित्सक सिफारिस गर्नुपर्नेमा अहिलेसम्म गरेको छैन ।

राष्ट्रिय एन्टी डोपिङ एजेन्सी ।

खेलाडीहरुलाई शक्तिवर्द्धक औषधिबारे जानकारी गराउने, त्यस्ता औषधि प्रयोग नगर्न सचेतना जगाउने र शक्तिवर्द्धक औषधि सेवन गरेको पाइए कारबाही गर्ने काम यो एजेन्सीले गर्दै आएको छ ।

डोपिङबारे जानकारी नहुँदा नेपालमा खेलाडीले पाइसकेको पदकसमेत गुमाउनुपरेको छ । सन् २००६ को दक्षिण एसियाली खेलकुदमा नेपाली धावक राजेन्द्र भण्डारीले एथ्लेटिक्समा जितेको दुईवटा स्वर्ण पदक डोपिङ परीक्षणमा असफल भएका कारण गुमाउनुपरेको थियो ।

सन् १९९७/९८ तिर डोपिङसम्बन्धी नियम उल्लंघन गरेको प्रमाणित भएपछि शारीरिक सुगठन खेलाडी सञ्जु गुरुङलाई सन् २००८ देखि खेलकुदमा प्रतिबन्ध लगाइएको थियो ।

सन् २०१४ मा बक्सिङ खेलाडी लक्ष्मण तामाङको डोपिङ परीक्षणमा पोजेटिभ आएपछि ५ वर्षका लागि प्रतिबन्ध लगाइएको थियो ।

२०७३ सालमा विराटनगरमा सञ्चालित सातौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको डोपिङ परीक्षण गर्दा तीन जनामा पोजेटिभ आएको थियो ।

‘कतिपय संघहरुले एन्टी डोपिङको पक्षलाई हल्का रुपमा लिनुहुन्छ । तर यसको प्रभाव भने दीर्घकालीन हुन्छ भन्ने उहाँहरुले जानीजानी पनि नकार्न खोज्नुहन्छ’, एन्टी डोपिङका संयोजक समेत रहेका डा. असीम भण्डारीले अनलाइनखबरसँग भने ।

राखेपले पठाएन सदस्य

एजेन्सीका संयोजक भण्डारी राखेपले सिफारिस गर्ने सदस्य नहुँदा काम गर्न अप्ठेरो भएको बताए ।

‘हामीलाई कार्यभार बढी भएको छ । अर्को भनेको पछि राखेपको सदस्यले आएर हामीले हालसम्म गरेको निर्णयमा कसरी अपनत्व लिनुहुन्छ भन्ने हो’, उनले भने । उनका अनुसार एजेन्सीले १७ माघ २०८० मा राखेपलाई सदस्य सिफारिस गर्न पत्राचार गरेको थियो ।

सदस्य सचिव टंकलाल घिसिङ बोर्ड बैठक बस्न नसकेका कारण एन्टी डोपिङ एजेन्सीमा सदस्य पठाउन नसकेको बताउँछन् । ‘माघ १७ यता राखेपको बोर्ड बैठक बसेकै छैन । सदस्य पठाउने कुरा त बोर्डमा छलफल गर्नुपर्छ’, उनले भने ।

एन्टी डोपिङ एजेन्सीमा कानुन विज्ञका रुपमा सदस्य रहेका अधिवक्ता मिलन श्रेष्ठ भने नयाँ खेलकुद ऐन अनुसार राखेपले एजेन्सीलाई मान्यता दिनुपर्ने बताउँछन् ।

भारोत्तोलनका पाँच खेलाडीमाथि एन्टी डोपिङ गरेको आरोप

नेपाली भारोत्तोलन खेलका पाँज जना राष्ट्रिय खेलाडीहरूलाई एन्टी डोपिङ गरेको आरोप लागेको छ ।

डोपिङ परीक्षणमा नेपाली राष्ट्रिय टोलीका खेलाडी सागर भण्डारी, विकास भट्ट, विशालसिंह भट्ट, शारदा चौधरी र राष्ट्रिय टोलीकै अर्की महिला खेलाडी डोपिङ परीक्षणमा असफल भएका हुन्।

अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघले नै सागरमाथि कारबाही गरिएको उल्लेख गरिसकेको छ। अन्य खेलाडीको भने उसको वेबसाइटमा उल्लेख गरिएको छैन। नेपालको खेलकुद इतिहासमा नै पहिलो पटक यति धेरै खेलाडी डोपिङमा परेका हुन्।

नेपालमा स्थापित खेलका रूपमा चिनिने भारोत्तोलन एन्टी डोपिङमा पर्नुले ठूलो दाग लागेको डा. भण्डारी बताउँछन् ।

एन्टी डोपिङ एजेन्सी राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय