+

क्यान्सरको बढी जोखिममा महिला कि पुरुष ?

२०८१ साउन  २ गते १४:३९ २०८१ साउन २ गते १४:३९
क्यान्सरको बढी जोखिममा महिला कि पुरुष ?

विश्वव्यापी रूपमा क्यान्सरको जोखिम बढ्दै गएको छ । क्यान्सरका कारण वर्षेनी लाखौं मानिसको मृत्यु हुने गरेको छ । पुरुषमा प्रोस्टेट, फोक्सोको क्यान्सर र महिलामा स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी देखिन थालेको छ ।

क्यान्सर हुने कारण भनेको कुनै कारणवश शरीरमा कोषिकाहरूको अनियन्त्रित वृद्धि हुनु हो । क्यान्सरको जोखिम कसलाई बढी हुन्छ पुरुष कि महिला ?

यसबारे पछिल्लो समय अध्ययन तथा अनुसन्धान भइरहेका छन् ।

 ‘द ल्यान्सेट ओन्कोलोजी’मा प्रकाशित प्रतिवेदनले पनि विश्वभर महिलाको तुलनामा पुरुषमा २५ प्रतिशतले बढी क्यान्सर हुने उल्लेख गरेको थियो । यसै सन्दर्भमा नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)का अध्ययनकर्ताले डेढ लाखभन्दा बढी पुरुष र एक लाख २२ हजार महिलाको तथ्यांक विश्लेषण गरेका थिए । जसबाट तुलनात्मक रुपमा पुरुषमा क्यान्सर लाग्ने सम्भावना उच्च रहेको देखाएको थियो ।

अध्ययनअनुसार पछिल्लो समय जीवनशैली र आहारमा गडबडीका कारण क्यान्सरको जोखिम बढ्दै गएको देखिन्छ । जसमध्ये अधिकांश क्यान्सर महिलाको तुलनामा पुरुषमा बढी देखिन्छ । उनका अनुसार मानव शरीरमा क्यान्सर हुने २१ भागको अध्ययन गर्दा सबैभन्दा बढी पुरुषको अंगमा क्यान्सर देखिने र ती क्यान्सरले गम्भीर रुप लिने पाइयो । जसमा अत्याधिक धुम्रपान, मदिरा, अत्याधिक तौल, भागदौडका कारण पुरुषमा बढी क्यान्सर देखिने पाइयो ।

महिलामा ७० प्रतिशत हुने क्यान्सरमा सबैभन्दा बढी स्तन, पाठेघर, गर्भाशयका क्यान्सर पर्छन् । जो छिट्टै पहिचान भई निको हुनसक्छ । पुरुषमा फोक्सो, मुख, पित्तनली, छाला, कोलोन, मलाशयको क्यान्सर दर उच्च देखिन्छ । यी क्यान्सरमा बच्ने दर पनि निकै कम हुन्छ ।

पुरुषमा एस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हर्मोनको स्तरमा असन्तुलनका कारण पनि क्यान्सरको जोखिम बढी वा कम हुनसक्छ । त्यस्तै, पुरुषमा टेस्टोस्टेरोनको स्तर पनि उच्च हुन्छ । जसले कोषिकाको वृद्धिलाई बढावा दिन्छ । यो हर्मोन महिलामा तुलनात्मक रुपमा कम हुन्छ ।

नेसनल क्यान्सर इन्स्टिच्युटका अनुसार विश्वभर नै महिलाभन्दा बढी पुरुषमा धुम्रपान गर्ने, अत्यधिक मदिरा पिउने र काम गर्ने वातावरणले पनि क्यान्सरको जोखिमलाई बढावा दिन्छ ।

जस्तै, कारखानामै पनि हेर्ने हो भने पुरुषहरुको बाहुल्यता बढी हुन्छ । यस्तोमा उनीहरु कासिर्नोजेन्स, औद्योगिक विषाक्तको प्रत्यक्ष जोखिमपूर्ण वातावारणमा रहन्छन् ।

सन् २०१६ मा भएको एक अध्ययनले महिलाहरुसँगको कोषमा थप एक सुरक्षित जेन्स हुन्छ । जुन पुरुषमा हुँदैन । उक्त जिन्सले पनि क्यान्सर गराउने तत्व विरुद्ध काम गर्न मद्दत गर्छ ।

कसरी बच्ने ?

क्यान्सरबाट बच्न महिला र पुरुष दुवैले सावधानी अपनाउनुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । नियमित व्यायामले शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न र क्यान्सरजस्ता दीर्घकालीन रोगबाट बचाउन सहयोगी हुन्छ ।

अर्को भनेको परिवारमा कसैलाई पहिला क्यान्सर भइसकेको छ भने सदस्यहरुले पनि वर्षमा एकपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । शरीरमा गाँठागुठी आउनु पनि क्यान्सरको संकेत हुनसक्छ । यस्तोमा शंकास्पद गाँठागुठी भए परीक्षण गराइहाल्नुपर्छ ।

त्यस्तै, सन्तुलित तथा पौष्टिक तत्वयुक्त आहारको सेवनले मात्र पनि समाजमा हुने सयवटा क्यान्सरमध्ये ३० वटा क्यान्सरको रोकथाम गर्न सकिन्छ । त्यसमा पनि धुम्रपान तथा मदिरापान नगर्ने हो भने अझै धेरै (करिब ५० प्रतिशत) क्यान्सरलाई हुनबाट जोगाउन सकिन्छ ।

यस्ता कुरा ठूलो भएपछि गर्नु भन्दा पनि सानै बेलादेखि लागू गर्नुपर्छ । किनकि ५०-६० वर्षको भएपछि मानिसलाई यस्ता कुरा त्याग्न पनि गाह्रो हुन्छ । परिवारका सदस्य तथा स्कुलले पनि यसको सुरुवात गर्न सकिन्छ । जस्तै, बालबाालिकालाई नुन कम दिने, खाजामा स्वस्थकर खानेकुरा पठाउने, पोषकतत्वयुक्त खानेकुराको सेवन गर्न प्रोत्साहित गर्ने, स्कुलले जंकफुड पूर्णतया निषेध गर्ने गर्नुपर्छ ।

एजेन्सीको सहयोगमा

क्यान्सर स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय