+
+

६ दिनसम्म किन फेला परेनन् त्रिशूलीमा हराएका बस ?

नारायण अधिकारी नारायण अधिकारी
२०८१ साउन २ गते २०:४०

२ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको दुईवटा बसको ६ दिनसम्म अत्तोपत्तो छैन ।

२८ असारको बिहान साढे ३ बजे लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो ।

जिल्ला प्रशासन कार्यालयले टिकट काउन्टरको विवरण र सम्पर्कमा आएका आफन्तले भने अनुसार एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना रहेको उल्लेख गरेको छ ।

जसमध्ये गणपति डिलक्सका ३ यात्रुहरु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिए भने बाँकी ६२ यात्रु बेपत्ता भएका थिए । दुर्घटनापछि नदीमा खोजी गर्दा १७ वटा शव फेला परेको छ जसमध्ये ११ जना ती दुई बसको यात्रु भएको पुष्टि भइसकेको छ भने ६ जनाको सनाखत हुन बाँकी छ । गणपति डिलक्सका चालक र सहचालकको शवसमेत भेटिएको छ ।

भेटिएका शवहरु तिनै बसका यात्रु भएको पुष्टि भएको अवस्थामा पनि ४५ यात्रु र दुबै बसको अवस्था भने अज्ञात छ । बस खसेको सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको टोली खोजी तथा उद्धारमा खटिएको छ ।

सुरुका दिनमा सुरक्षाकर्मीहरुले मोटरबोटमार्फत खोजी गरेका थिए । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले खोजी गरिएको थियो । हुक र चुम्बकको सहायताले पनि खोजी गरियो ।

पानी धमिलो र अत्याधिक बहाब भएकाले गोताखोर टोलीहरु पानीमुनि जान नसकेको उद्धारमा संलग्न सुरक्षा निकायहरुले बताएका छन् ।

त्यसपछि सोनार क्यामेरा तथा वाटर ड्रोनको सहायताले पनि खोजी गरियो । यही प्रविधिबाट खोजी जारी छ ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी प्रमुख वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा घटनास्थल पुगेर अवलोकन गरिसकेका छन् ।

नवनियुक्त गृहमन्त्री रमेश लेखकले सोमबार पदभार सम्हालेपछिको पहिलो निर्णय नै सिमलताल बस दुर्घटना अध्ययनका लागि सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलले बुधबार घटनास्थल पुगेर अवलोकन गरेको छ ।

तर अहिलेसम्म नदीले किनारमा उतारेका शव बटुलेर सनाखत गर्दै आफन्तको जिम्मा लगाउनुबाहेक यो दुर्घटनामा अन्य प्रगति हुन सकेको छैन । निरन्तर एक हप्तासम्म खोजीमा खटिँदा गोताखोरसमेत शिथिल हुने अवस्था भएको उद्दारमा खटिएकाहरु बताउँछन् ।

किन पत्ता लागेन बस ?

सशस्त्र प्रहरी बलको खोजी तथा उद्धार विषयमा जानकार डीएसपी लक्ष्मण बस्नेत बस पत्ता नलाग्नुको प्रमुख तीन कारण छन् रहेको बताउँछन् ।

पहिलो, पानीले पल्टाउँदा बसको आकार परिवर्तन भएर चिन्न नसक्ने हुँदा सोनारले दिएको संकेत अपरेटरले बुझ्न नसक्नु । दोस्रो, बस बगाएर हाल खोजी गरिएको क्षेत्र भन्दा अन्यत्र पुर्‍याउनु । तेस्रो, कुनै ठूलो चट्टान वा विशाल ढुंगा तथा खोँचमा बस च्यापिएकाले त्यहाँसम्म सोनार प्रविधिको पहुँच नपुग्नु ।

उनका अनुसार यस्तो किसिमको खोजीमा विशेषगरी क्यानिङ सर्भिलेन्स सोनार सिस्टम प्रयोग गरिन्छ । यो सिस्टमका डिभाइसहरुले धमिलो पानीमा पनि काम गर्न सक्छन् । तर अहिले त्रिशूलीको पानी एकदमै धमिलो र उच्च बहाब भएकाले सोनारको रेजुलेसनले काम गर्न नसकेको उनको बुझाइ छ ।

अहिले त्रिशूलीमा प्रयोग भएको क्यामेराले ३०० मिटर गहिराइसम्म काम गर्ने भनिए पनि त्रिशूलीको अहिलेको पानीका कारण २/३ फिट गहिराइसम्म पनि काम गर्न सकेको छैन । पानीमुनि प्रकाश पनि पुग्दैन । त्यही कारण अन्डर वाटर ड्रोन र क्यामेराहरु प्रभावकारी नभएको नभएको उद्धारकर्ताहरुको भनाइ छ ।

विपद व्यवस्थापन तथा उद्दार मामिलाका जानकार नेपाल प्रहरीका पूर्वएआईजी ठूले राई पनि त्रिशूलीमा पानीको उच्च बहाबका कारण उद्दारकहरु भित्रसम्म जान नसक्नु र गए पनि स्थिर भएर काम गर्न नसक्दा बस फेला पार्न कठिन भएको हुन सक्ने बताउँछन् । ‘हुकिङ गरेर पानीमुनिको वस्तु तान्ने तथा पहिचान गर्ने पनि हुन्छ । तर त्यो पनि हाइ करेन्ट र धमिलो पानीका कारण समस्या भएको देखिन्छ’, राईले अनलाइनखबरसँग भने ।

धेरै देशमा यस्ता नदीहरुमा गरिने खोज तथा उद्दारको शैली नेपालको जस्तै हो । यो अवस्थामा उद्दारका लागि प्रयोग गरिने प्रविधिलाई राडर सिस्टम भनिन्छ ।

त्यही राडर सिस्टमभित्र, वाटर ड्रोनदेखि हुकिङ, सोनार क्यामेरा, चुम्बक विधि पर्छन् । राडार डिभाइसहरु पानीभित्र छाडेर त्यसले पानीभित्रको वस्तु क्याप्चर गर्ने र बाहिर डिस्प्ले गर्ने गर्छ । तर उच्च बहाब र पानी धमिलो भएका कारण सोचेजसरी काम हुन सकेको छैन ।

अहिले त्रिशूलीमा ठूलो बाढी आएको र बाढीमा ढुंगा, माटो काठ, रुखजस्ता बस्तुहरु पनि बगाएर ल्याएकाले खोज्न गाह्रो भएको उद्धारमा संलग्नहरुको भनाइ छ ।

अर्कोतर्फ सोनार तथा वाटर ड्रोन प्रविधिका अपरेटरहरुलाई यस्तो खोज तथा उद्दारको धेरै अनुभव छैन । यहाँका नदीमा यही प्रविधिको प्रयोगबाट उद्दार कार्यहरु गरिरहने अपरेटर भएको अवस्थामा डिभाइसले गरेका संकेतको अर्थ बुझ्न सहज हुने थियो ।

विदेशी गोताखोरलाई छैन नेपालको अनुभव

नेपालका तीनवटै सुरक्षा निकायले एक सातासम्म खोजी गर्दा पनि बस नभेटिएपछि गृह मन्त्रालयले भारतबाट खोजी तथा उद्दारको टोली ल्याउने जनाएको थियो । तर अहिलेसम्म भारतको टोली आइनपुगेको चिवतनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

‘मन्त्रालयस्तरबाट रिक्वेस्ट भएको भन्ने जानकारी हामीलाई आएको थियो । तर अहिलेसम्म भारतबाट खोजी तथा उद्दारका लागि टोली आइपुगेको छैन’, यादवले अनलाइनखबरसँग भने, ‘आन्तरिक स्रोत साधनकै भरमा खोजी गरिरहेका छौं ।’

नेपालका सुरक्षाकर्मी भने बसको खोजी तथा उद्दार पद्धति अन्यत्र देशमा समेत गोताखोर तथा वाटर ड्रोन र सोनार नै रहेकाले विदेशको टोली आउँदैमा पत्ता लाग्नेमा आशावादी छैनन् ।

उद्दारमा खटिएका एक जना गोताखोरले अनलाइनखबरसँग भने, ‘प्रविधि र तरिका एउटै हो । हामी यहीँका खोलानाला पौडी खेल्दै हुर्किएर गोताखोर बनेकाहरुको काम प्रभावकारी नहुने तर बाह्य देशबाट आउनेबित्तिकै प्रभावकारी हुने भन्ने हुँदैन ।’

पूर्वगृहमन्त्री माधव घिमिरे आफैंले चलाएको बा ९ च १५३१ नम्बरको गाडी ९ असोज २०७३ मा मुग्लिन नजिकै घोप्टेभिर भन्ने ठाउँबाट त्रिशूलीमा खसेको थियो । एक सातासम्म नेपाली सुरक्षाकर्मीहरुले खोजी गर्दा पत्ता नलागेपछि बंगलादेशबाट गोताखोर ल्याएर खोजी गरिएको थियो ।

तर त्यतिबेला त्रिशूलीको बहाब देखेपछि नेपाली गोताखोर पुगेको ठाउँसम्म नपुगी उनीहरु फर्केका थिए । घिमिरे र गाडीको अवस्था अझैसम्म अज्ञात छ ।

‘प्रविधि, तरिका एउटै हो । इक्विपमेन्ट उस्तै हो । विदेशी गोताखोर आएका बखत संयोगले पत्ता लाग्यो भने हामीप्रति आम मान्छेको बुझाइ फरक हुने र मनोबल गिर्ने अवस्था आउँछ’, उद्दारमा खटिएका नेपाली गोताखोर भन्छन् ।

‘फुटबल ग्राउण्डमा हराएको गुच्चाजस्तो’

उद्धारकर्ताहरु सुरक्षाकर्मी त्रिशूलीलाई फुटबल मैदान र त्यहाँ हराएको बसलाई गुच्चासँग तुलना गर्छन् । त्रिशूली धेरै गहिरो र अहिले अत्यधिक बहाब भएकाले बस कहाँ पुग्यो भन्ने खोज्न कठिन हुने उनीहरुको भनाइ छ ।

अहिलेसम्म बसको आकृति पनि बिग्रिसकेको हुनसक्छ । गोलो वा चेप्टो आकारको बन्दाखेरि सोनारले डिटेक्ट गरे पनि बसको आकार हो/होइन चिन्न गाह्रो हुने उद्धारकर्ताको भनाइ छ ।

यस्तो विपद्‍मा खोजीका लागि हाई रेञ्जिङ भएको सोनार सिस्टम उपयुक्त हुन्छ ।

‘हामीले प्रयोग गरेका राडरहरु धेरैजसो समुन्द्रमा, जमेको तथा सङ्लो पानीमा प्रयोग हुने प्रविधि हुन् । त्यसकारण ती प्रविधिले राम्रोसँग काम नगरेका पनि हुन सक्छन् । यदि सङ्लो पानी भएको भए कुनै मान्छे वा जहाज डुबेको भए पनि त्यसको पूरै आकृति नै देखाइदिन्थ्यो’, सशस्त्र प्रहरी बलका डीएसपी लक्ष्मण बस्नेतले भने ।

यस्तो घटना अन्य देशहरुमा पनि हुन्छन् । तर त्रिशूलीको जस्तो संरचना र पानीको बहाव नहुने उनको भनाइ छ । जति तल गयो त्रिशूली त्यति धमिलो हुँदै गएको छ । यसको अर्थ लेदो र गेग्रानहरु बढ्दै गएको छ । ‘यस्तो अवस्थामा ‘डिप डाइभ’ अर्थात् पानीमुनि जाने भन्ने पनि हुँदैन’, उनले भने ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?