+

शरीरलाई चाहिन्छ आराम पनि

२०८१ साउन  ३ गते ११:५० २०८१ साउन ३ गते ११:५०
शरीरलाई चाहिन्छ आराम पनि

भनिन्छ, राम्रो स्वास्थ्यका लागि खाना र व्यायाम जत्तिकै आराम पनि आवश्यक हुन्छ । मान्छे अधिकांश समय क्रियाशील हुन्छ, कडा मेहनत गरिरहेको हुन्छ । यसरी क्रियाशील हुँदा प्रतिमिनेट हजारौंको  संख्यामा कोषिकाहरु नष्ट हुन्छन् । दिनभरि काम गर्दा लाखौंको संख्यामा कोषिका नष्ट हुन्छ ।

कोषिका नष्ट हुनेसँगै थोरै मात्रामा निर्माण पनि हुन्छ तर धेरै ऊर्जा काममा खर्च भएको हुनाले नष्ट भएको कोषिकाको ठाउँमा नयाँ कोषिका बन्न पाउँदैन । तर जब हामी आराम गर्छौं, त्यो बेला ऊर्जा खर्च हुँदैन र शरीरले नयाँ कोषिका बनाउन पाउँछ ।

दिनभरि काम गरेर अर्को दिन कामका लागि ऊर्जा प्राप्त गर्न आरामको आवश्यकता पर्छ । आराम शरीरका लागि धेरै महत्त्वपूर्ण हुन्छ, यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र रोगहरूबाट बचाउँछ । शरीरलाई ऊर्जा दिन पनि आराम पनि आवश्यक हुन्छ, यदि शरीर र दिमागलाई ऊर्जा दिने हो भने आराम गर्नुपर्छ । आरामले शरीरलाई ऊर्जा दिन्छ र थकित नभई लामो समयसम्म काम गर्न सकिन्छ । यदि काम मात्र गरियो आराम गर्ने समय छुट्याइएन भने स्वास्थ्य समस्या निम्तन सक्छ ।

तनाव कम गर्न पनि आराम चाहिन्छ । तनाव कम गर्न चाहनुहुन्छ भने अवश्य आराम गर्नुपर्छ । एकाग्रता तथा शक्ति बढाउन आराम आवश्यक पर्छ, एकाग्रताका लागि शरीर र मनलाई शान्त बनाउन आवश्यक छ, यदि मन शान्त छैन भने कुनै पनि काममा एकाग्र हुन सकिंदैन ।

चिन्तामणि गौतम, योग प्रशिक्षक

स्वस्थ रहन समय-समयमा खाना खानुपर्छ भनिरहँदा खाना खान भोक पनि लाग्नुपर्‍यो । त्यस्तै शरीरलाई आराम चाहिन्छ भनिरहँदा आराम आवश्यक पनि हुनु जरुरी छ । त्यसका लागि शरीरलाई परिचालन गर्नु क्रियाशील राख्नुपर्छ ।

आरामको अर्थ सुत्नु वा पूर्ण निद्रा मात्र होइन, शरीर र दिमागलाई धेरै तरिकाले आरामको आवश्यक हुन्छ ।

स्वस्थ रहन तीन प्रकारको आराम चाहिन्छ

शारीरिक आराम

शरीरलाई हरेक दिन आराम चाहिन्छ । शारीरिक आरामलाई पनि दुई भागमा विभाजित गर्न सकिन्छ । एउटा छोटो अवधिको आराम र अर्को लामो अवधिको आराम । छोटो अवधिको आराम भन्नाले कामको अवधिमा हुने चिया ब्रेक, खाजा ब्रेक आदि हो । त्यो बेला पनि कामबाट केही आराम मिल्दा शरीरमा केही ऊर्जा संगठित हुन्छ । सक्रिय अवस्थामा योग, स्ट्रेचिङ वा कुनै मसाज थेरापी गरेर शरीरलाई आराम दिन सकिन्छ ।

अर्को लामो अवधिको आराम भन्नाले दिनभरि कामको थकान छोटो समयको आरामबाट मेटिंदैन, त्यसैले प्रकृतिले नै रात बनाएको छ रातको समयमा आराम गर्नुपर्छ । हरेक दिन सातदेखि आठ घण्टा सुत्नुपर्छ । निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीको नवीकरण हुन्छ । निद्रा पुगेन भने तिनमा असर पर्छ । लामो समयको आरामले क्षति भएका कोषिकाहरु बन्ने, ऊर्जा प्रदान गर्ने, शरीरको रोगप्रतिरोधात्मक क्षमता बढ्ने हुन्छ ।

मानसिक आराम

अरुको बारेमा धेरै सोच्ने, मैले यो गर्न सकिन त्यो गर्न सकिन भनेर चिन्ता गर्ने गरियो भने मन थाक्छ । जसकारण टाउको दुख्ने, डर लाग्ने, चिडचिडापन महसुस हुनसक्छ । यस्तो अवस्थामा मानसिक आराम चाहिन्छ ।

मानसिक आरामका लागि सकारात्मक सोच  राख्नुपर्छ, नराम्रो परिस्थिति सिर्जना भएको छ भने त्यसबाट बाहिर निस्कने उपाय खोज्नुपर्छ र विचारलाई कम गर्नुपर्छ ।

मानसिक आरामका लागि पनि समय–समयमा आफ्नो लागि समय छुट्याउनुपर्छ । गहिरो सास लिने र दैनिक ध्यान गरेर मनलाई मस्तिष्कलाई आराम दिन सकिन्छ ।

रचनात्मक आराम

रचनात्मक विश्राम भनेको मनपर्ने काममा समय दिनु हो र त्यसबाट प्राप्त हुने आनन्द वा आरामलाई रचनात्मक विश्राम भनिन्छ । दैनिकको भागदौडले गर्दा हामीभित्र लुकेको कलालाई बाहिर ल्याउने समय पाइँदैन ।

धेरै मानिसहरु चित्रकला, नृत्य, संगीतमा रुचि राख्छन् तर समयको कमीले गर्दा आफ्नो रुचिको विषयमा समय दिन पाउँदैनन् । तर आफ्नो रुचि भएको विषयका लागि समय निकाल्दा मानसिक स्वास्थ्यमा सुधार हुन्छ र मानिक स्वास्थ्य राम्रो हुँदा शरीर पनि राम्रो हुन्छ ।

उपवास बस्नु पनि शरीरलाई आराम दिनु हो

समय-समयको विश्राम र निद्राले जसरी हाम्रो शरीरलाई आराम दिन्छ त्यसरी नै उपवासले पाचन प्रक्रियालाई आराम दिन्छ । यसबेला शरीरले खाना पचाउने कामबाट मुक्ति पाउँछ । यही मौकामा शरीरले आफ्नो शुद्धीकरण गर्न थाल्छ । निरन्तर खाना खाइरहेको बेलामा शरीरले पूर्ण रुपमा पचाउन सकिरहेको हुँदैन । त्यही नपचेको खाना वा शरीरमा जम्मा भएर बसेको विकारलाई नष्ट गर्ने र शुद्ध पार्ने काम उपवासका बेला शरीरले गर्न पाउँछ । जसले गर्दा शरीरमा खराब कोलेस्टेरोल र बोसो जम्मा हुन दिंदैन । पेटलाई सधैं स्वस्थ र हलुका बनाउँछ ।

आराम नपुग्दा निम्तिन सक्छ यी समस्या

शरीरलाई प्रयाप्त मात्रामा आराम पुगेन भने शरीरको पूर्णनिर्माणको काम राम्ररी हुँदैन, जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । रोगप्रतिरोधमत्मक क्षमता कमजोर भयो भने शरीरले बाहिरको संक्रमणसँग लड्न सक्दैन ।

शरीरलाई आराम पुगेन भने दैनिक गतिविधिमा नै असर पुग्छ । आराम नपुग्दा थकान, एकाग्रताको अभाव, दिक्क लाग्ने, तनाव बढ्ने र दैनिक कार्य शैलीलाई नै असर गर्छ । आरामको कमीले मोटोपन, उच्च रक्तचाप, मधुमेह जस्तो समस्या समेत निम्तिन सक्छ ।

डा. चिन्तामणि गौतम योग स्वास्थ्य
लेखक
डा. चिन्तामणि गौतम, योग प्रशिक्षक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय