+
+

चारकोसे झाडीमा कसले छाड्यो जामुनलाललाई ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १६:५५

३ साउन, विराटनगर । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गको बेलबारीदेखि करिब पाँच किलोमिटर उत्तर चारकोसी झाडीमा भेटिएका वृद्ध जामुनलाल ऋषिदेव हाल कोशी अस्पताल विराटनगरमा उपचाररत छन् ।

वन गस्तीमा गएको टोलीले बेलबारी नगरपालिका–१ र ४ को सिमाना बेलबारी–चिसाङ साझेदारी वनभित्र कमिला र किराले टोकेर हातखुट्टामा घाउ नै घाउ भएको अवस्थामा वृद्धलाई भेटेको थियो । जंगलबाट बोराको स्टेचर बनाएर वृद्धलाई गाडी चल्ने ठाउँसम्म ल्याएको टोलीले प्रहरीलाई खबर गरेर अस्पताल पठायो ।

बेलबारी, सुन्दरहैचाको नगर अस्पताल हुँदै वृद्धलाई अहिले कोशी अस्पताल विराटनगर ल्याइएको छ । जमुनलालको घर खोज्दै जाँदा उनका छोरा जल्वा घरमै बिरामी अवस्थामा भेटिए । वर्षाैंदेखिको हाइड्रोसिलको उपचार नगरेका कारण उनी सहज रुपमा हिँड्डुल गर्न सक्दैनन् ।

‘बाउ–छोराको वर्षाैंपछि अस्पतालमा भेट भयो, छोराले छाड्यो भन्ने मिस इन्फरमेसन भयो’, सामाजिक सञ्जालमा फैलिएको हल्लाबारे मोरङ प्रहरी उपरीक्षक नवराज कार्की भन्छन्, ‘वृद्ध घरमा नबस्ने रहेछन् ।’

वृद्धलाई कसले जंगलमा लगेर छाड्यो भन्ने खुलेको छैन । जंगलमा उद्धार टोलीसँग वृद्धले ४–५ दिन अघि ल्याएर छाडेको बताएका थिए ।

बुढ्यौलीले गलिसकेका वृद्ध अझै मज्जाले उभिन सक्दैनन् । राम्ररी बोल्न पनि सक्दैनन् । कसले, कहाँबाट, कसरी वनको बीच भागमा ल्याएर वृद्धलाई छाडेको हो या आफैं गए भन्ने अनुसन्धानको क्रममा रहेको प्रहरी बताउँछ ।

मंगलबार वृद्धले आफ्नो घर बताएको ठेगानामा खोजी गर्दा उनको घर पत्ता लागेन । थप खोजी गर्ने क्रममा सुन्दरहरैँचा नगरपालिका – १ डाँगी टोलमा रहेको खुल्यो । वृद्धका जेठा छोरा जल्वा ऋषिदेव घरमा बिरामी अवस्थामा भेटिए । कान्छो छोरा दिनेश भारतको हरियाणास्थित कुखुरा फार्ममा काम गर्ने गरेको परिवारका सदस्यले बताएका छन् ।

सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर अकली चौधरीका अनुसार जेठा छोरा जल्वासमेत शारीरिक रुपमा अशक्त छन् । छोराले छाड्यो भन्ने हल्ला निराधार रहेको उनको भनाइ छ ।

बेलबारी–चिसाङ साझेदारी वन अध्यक्ष दिनेश गिरीका अनुसार वृद्ध भेटिएको जंगल मानवीय गतिविधि नहुने क्षेत्र हो । सो क्षेत्रमा हात्ती ओहोरदोहोर गरिरहन्छ । जोकोही मानिस पुग्न नसक्ने ठाउँमा वृद्ध भेटिएको उनले बताए । मोटरसाइकल कुदेको जस्तो डाम पनि भेटिएका कारण कसैले छाडेको जस्तो देखिएको उनले बताए । सामान्य मानिस पनि सहजै नपुग्ने स्थानमा बुढ्यौली अवस्थामा एक्लै हिँडेर वृद्ध भेटिएको स्थानसम्म पुग्न नसक्ने उनको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख कार्की भने वृद्ध आफै पुगेको हो कि भन्ने आशंका गर्छन् । ‘१५ वर्षदेखि घर नआएको बाहिर हिँडडुल गरिरहने कुरा आएको छ’, उनले भने, ‘आफैं पुगेको पनि हुनसक्छ, हामी अनुसन्धान गर्दैछौं ।’ उनका अनुसार वृद्धका छोराको पनि कोशी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?