+
+

शहरी विकासमन्त्रीले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिन मिल्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १८:४१

३ साउन, काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएको भन्दै फेसबुकमा तस्वीर राखे ।

बुधबार सिंहदरबारमा देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको मन्त्री सिंहले उल्लेख गरे । ‘मन्त्रालयमा तीन वटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु’ मन्त्री सिंहले लेखेका छन् ।

प्रहरी प्रमुख आईजी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख आईजी राजु अर्याल र राअविका प्रमुख मुख्य अनुसन्धान निर्देशक हुतराज थापासँग भेटघाट तथा छलफल गरेको तस्बिर समेत मन्त्री सिंहले सार्वजनिक गरेका छन् ।

गृह मातहका नेपाल प्रहरी र सशस्त्र प्रहरी र प्रधानमन्त्री मातहतको राअविका प्रमुखलाई आफ्नो जिम्मेवारी भुलेर ब्रिफिङ लिएको भन्दै मन्त्री सिंहको आलोचना समेत भएको छ । मन्त्री सिंहले भेटपछि उल्लेख गरेको ‘देशको पछिल्लो सुरक्षा अवस्थाबारेको जानकारी’ लिनु गम्भीर त्रुटी रहेको नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीको बुझाइ छ ।

‘भेट नै गर्न नहुने भन्ने हुँदैन, भेट गर्न मिल्छ । तर कुन समय वा प्रसंगमा भेट भयो र के कुरा भयो भन्ने बुझ्न आवश्यक छ । सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर शहरी विकास र सुरक्षाबारे जानकारी लिइयो भनेको भए जायज देखिन्थ्यो । तर देशकै पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी भन्नु गम्भीर त्रुटि हो’ पूर्वएआईजी भण्डारीले अनलाइनखबरसँग भने ।

पूर्वएआईजी सिंहका यसरी भेट गर्दा पनि अझ सम्बन्धी शहर वा कुनै ठाउँको प्रमुखसँग भेट गर्नु उत्तम हुने बताउँछन् । जस्तो कि काठमाडौंको शहरी विकास तथा सुरक्षाबारे कुरा गर्न खोजिएको हो भने भ्यालीको (काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी) एआईजी, परिसरका प्रमुखहरुसँग कुरा गर्नु उत्तम हुन्छ ।

स्रोतका अनुसार बुधबारको भेट उपप्रधान तथा शहरी विकास मन्त्री सिंहलाई बधाई दिन तीन वटै सुरक्षा निकायका प्रमुखहरूले समय मागेका थिए । त्यसपछि तीनै प्रमुखलाई सिंहले एउटै समय दिएका उनीहरू बुके बोकेर सिंहको कार्यकक्षमा पुगेका थिए ।

सोही क्रममा सामान्य कुराकानी भएर सुरक्षा निकायका प्रमुखहरू निस्केका थिए । त्यसपछि प्रकाशमान सिंहको फेसबुक पेजबाट देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिइयो भनेर फोटोसहितको तस्वीर सार्वजनिक भएको बताइन्छ । मन्त्री सिंहका सचिवालयका एक अधिकारी भन्छन्, ‘मन्त्रीज्यूले बोलाएर मलाई ब्रिफिङ गर्नुस् भन्नु भएको पनि होइन । कुनै आदेश निर्देशन दिइएको पनि होइन । बधाई दिन आउने बताएपछि एउटै समय मिलाइएको हो । पछि उक्त तस्वीर सार्वजनिक भएपछि अनर्थ लगाउन खोजियो ।’

नेपाल प्रहरीका एक पूर्वआईजी शिष्टाचार निर्वाहका लागि यस्ता भेट हुने बताउँछन् । तर उपप्रधानमन्त्री कै हैसियतामा सुरक्षाबारे ब्रिफिङ भन्ने चाहिँ नहुने उनले सुनाए । सुरक्षा निकायका प्रमुखहरुले यस्ता भेट पनि गर्न नहुने भनाई एक पूर्वएआईजीको छ ।

‘आफ्नो मन्त्रालयका मन्त्रीलाई बधाई दिनु भेट गर्नु अनिवार्य हो । तर अन्यत्र असम्बन्धित मन्त्रालयका मन्त्रीलाई बुकी लिँदै बधाई दिन जानु क्षेत्राधिकार भन्दा बाहिरको विषय हो । यसले व्यक्तिगत रुपमा मन्त्री रिझाउने बाहेक संगठनलाई यस्ता भेटले केही फाइदा पुग्दैन’ ती पूर्वएआईजीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?