+
+

कर्णालीका ठेकेदार मन्त्रीको सम्पत्ति : ४ घर, ७ ठाउँ जग्गा, १०० घोडा र खच्चड

यज्ञ खत्री यज्ञ खत्री
२०८१ साउन ३ गते १९:४८

३ साउन, सुर्खेत । ठेक्का पट्टाबाट राजनीतिमा आएका वीरबहादुर शाही यति बेला कर्णाली सरकारको सामाजिक विकास मन्त्री छन् । डोल्पाबाट प्रत्यक्ष चुनाव जितेर प्रदेश सभा सदस्य बनेका उनी माओवादी केन्द्रका नेता हुन् ।

यार्सागुम्बाका व्यापारी शाही माओवादी शान्ति प्रक्रियामा आएपछि राजनीतिमा आएका हुन् । शाहीलाई मुख्यमन्त्री यामलाल कँडेलले गत १८ वैशाखमा मन्त्रीमा नियुक्त गरेका थिए ।

बिहीबार सार्वजनिक सम्पत्ति विवरणमा मन्त्री शाहीले आफू ठेकेदार रहेको खुलाएका छन् । शाही कर्णालीका मन्त्रीहरुमध्ये सबैभन्दा धनी देखिएका छन् । संसदीय राजनीतिमा आउनुपूर्व आफैँले चलाउँदै आएको डीबीसी कन्स्ट्रक्सन प्रालि हाल उनकी श्रीमती शीलाकुमार शाहीको नाममा गरेका छन् ।

उक्त कन्स्ट्रक्सन कम्पनीमा मन्त्री शाहीको ७० प्रतिशत र श्रीमती शीलाकुमारीको ३० प्रतिशत सेयर रहेको उल्लेख गरिएको छ । मन्त्री शाहीले आफूसँग चार वटा घर, सात कित्ता जग्गा रहेको खुलाएका छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिका–५, माझगाउँमा दुईवटा घर छ । उक्त घरहरु पुर्ख्यौली रहेको उनले बताएका छन् । त्यस्तै सुर्खेतमा एउटा र नेपालगञ्जमा एक एक वटा घर छन् ।

नेपालगञ्जको घर १० लाख र सुर्खेतको घर ३५ लाखमा किनेको उनले उल्लेख गरेका छन् । यसको स्रोत ठेक्कापट्टाबाट भएको आम्दानी रहेको मन्त्री शाहीले उल्लेख गरेका छन् ।

शाहीकै नाममा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ कित्ता जग्गा छ । डोल्पामा ३ कित्ता, रुकुम पश्चिममा २ कित्ता, सुर्खेत र बाँकेमा १÷१ कित्ता रहेको उनले खुलाएका छन् ।

सुर्खेत र बाँकेको १ करोड ५० लाख रुपैयाँमा र रुकुम पश्चिमको ६५ लाख रुपैयाँमा किनेको मन्त्री शाहीले खुलाएका छन् । मन्त्री शाहीसँग ३२ तोला सुन, ५ किलो चाँदी र १० तोला मुगा भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

पुर्ख्यौली र ठेक्का पट्टाबाट सुनचाँदी प्राप्त भएको शाहीले स्रोत खुलाएका छन् । मन्त्री शाहीको एनआईसी बैङ्कको खातामा ५ लाख रकम मौज्दात छ । शाहीले आफू र आफ्नो कन्स्ट्रक्सन कम्पनीका लागि साढे ८ लाख ऋण लिएको पनि खुलाएका छन् ।

शाहीसँग २ वटा डोजर, एउटा ट्याक्टर, दुई वटा मोटरसाइकल र एउटा कार छ । यी सबै ठेक्कापट्टाबाटै खरिद गरिएको शाहीले उल्लेख गरेका छन् । डोजरको मूल्य २ करोड ३० लाख, ट्याक्टरको मूल्य ३० लाख उल्लेख गरेका छन् ।

१ करोड ५० लाख मूल्यको टोयटा हाइलक गाडी उनीसँग छ । यो सबै पनि उनले ठेक्कापट्टाबाटै जोडेको बताएका छन् । यस्तै एउटा स्याउ फार्म, ४० घोडा, ६० खच्चर, २०० बाख्रासमेत रहेको मन्त्री शाहीले विवरणमा उल्लेख गरेका छन् ।

शाहीसँग एउटा ग्रिल उद्योग पनि छ । उक्त उद्योग एक करोड रुपैयाँमा खरिद गरिएको उल्लेख छ । उक्त उद्योग डोल्पामै रहेको र छोराले चलाइरहेको मन्त्री शाहीले बताएका छन् ।

०४८ सालदेखि कम्युनिस्ट पार्टीमा सक्रिय शाही ०५२ सालदेखि माओवादीमा आवद्ध भएको बताएका छन् । तर त्यो बेला उनी खुलेर माओवादी राजनीतिमा नलागेको माओवादी नेताहरू नै बताउँछन् ।

शान्ति प्रक्रियासँगै माओवादी राजनीतिमा आएका शाही हाल पार्टीको प्रदेश कमिटी सदस्य हुन् । ०७४ मा प्रदेश सभा सदस्यमा टिकट पाएर जितेका शाही प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत बने । त्यसपछि ०७९ को प्रदेशसभा चुनाव पनि जितेर अहिले उनी सामाजिक विकास मन्त्री बनेका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?