+

महिला र पुरुषमा देखिने यौनरोग ‘ट्राइकोमोनिसिस’ के हो ?

२०८१ साउन  ३ गते १७:०३ २०८१ साउन ३ गते १७:०३
महिला र पुरुषमा देखिने यौनरोग ‘ट्राइकोमोनिसिस’ के हो ?

ट्राइकोमोनिसिस यौन प्रसारित रोग हो । जुन ‘ट्राइकोमोनस भेजिनलिज’ परजीवीको संक्रमणको कारण लाग्छ । यो समस्यालाई चिकित्सकीय भाषामा ‘ट्रीच’ पनि भनिन्छ । यो रोग महिला र पुरुष दुवैमा देखिन्छ । तुलनात्मक रुपमा महिलामा यसको लक्षण र संक्रमण देखिने प्रबल सम्भावना हुन्छ ।

यता, पुरुषमा भने यसको लक्षण नदिन पनि सक्छ । ट्राइकोमोनिसिसको समयमै पहिचान र उपचार हुन सकेन भने यो रोगले एचआईभी सहित अन्य यौनरोग पनि गराउन सक्छ ।

विश्वव्यापी रुपमा यो समस्या साझा रूपमै देखिएको पाइन्छ । यौन जीवनमा सक्रिय हुने जो कोही यो समस्याको चपेटामा पर्न सक्छन् । वर्षेनी लाखौं मानिसमा ट्राइकोमोनिसिसको संक्रमणबाट प्रभावित हुन्छन् ।

कसरी लाग्छ ?

ट्राइकोमोनिसिसबाट पहिलै संक्रमित भएकोसँग असुरक्षित यौन सम्बन्ध राख्दा यो रोग लाग्छ । महिलामा यो संक्रमण योनी हुँदै पाठेघरसम्म पुग्न सक्छ । त्यस्तै, पुरुषमा लिंग हुँदै प्रोस्टेट र मूत्रथैलीमा समेत पुग्न सक्छ । कुनै लक्षण नदेखिए पनि संक्रमितबाट यौन खेलौनाको प्रयोग, मुखमैथुन र असुरक्षित यौन सम्बन्धबाट अर्को व्यक्तिलाई सार्न सक्छन् ।

यद्यपि, यो संक्रमित व्यक्तिबाट खाना, कपडा र चुम्बनबाट सर्दैन ।

जोखिम कारक

– एकभन्दा बढी यौन साथी बनाउनु

– असुरक्षित यौन सम्पर्क

– पहिला नै ट्राइकोमोनिसिस भइसकेको अवस्थामा

– अन्य यौन प्रसारित रोग भएमा

लक्षण

धेरैजसोमा ट्राइकोमोनियासिस संक्रमण भएकाहरूमा लक्षण नै देखिंदैन । र, पहिचान छिटो हुन पाउँदैन । महिलाको तुलनामा पुरुषमा प्रायः कुनै लक्षण हुँदैन । यदि महिलामा संक्रमण भएमा लक्षणहरू एक हप्ताभित्र देखा पर्छ ।

महिलामा देखिने लक्षण

– योनीबाट पहेंलो-हरियो वा सेतो दूधजस्तो पानी बग्नु

– योनीबाट कडा गन्ध आउनु

– पिसाब गर्दा दुखाइ र असहज महसुस हुनु

– यौन सम्बन्ध राख्दा पीडा हुनु

– योनी चिलाउनु र यसको क्षेत्र सुन्निनु

पुरुषमा देखिने लक्षण

– बिहान पिसाब पहिलो पटक गर्दा लिङ्गबाट स्राब हुनु

– लिङ्गको टुप्पो वा मूत्रद्वार वरपर चिलाउनु

– यौन सम्पर्क गर्दा र वीर्य झर्दा दुख्नु

– पिसाब गर्दा दुख्ने र आफैं ठीक हुनु

ट्राइकोमोनियासिमा देखिने यस्ता लक्षण आफैं ठीक हुँदैनन् । यो समस्या भए तुरुन्त परीक्षण गराउने र आफ्नो यौन साथीलाई पनि खुलेर भन्न सकिन्छ ।

पहिचान

महिलामा योनीभित्रको तरल पदार्थ,र पिसाबको नमुना लिन सकिन्छ । योनीस्राबको नमुना लिई माइक्रो स्कोप, कल्चर र डीएनए परीक्षणबाट पनि पत्ता लाग्छ । नियमित पाठेघरको मुखको परीक्षण गर्दा पनि यो रोगको पहिचान हुनसक्छ ।

पुरुषमा मूत्रनलीबाट तरल पदार्थको नमुना लिइन्छ ।

उपचार

यो संक्रमणको पत्ता लागेमा खाने औषधिले पनि निको पार्छ । औषधिमा ‘मेटोनिडाजोल’ वा ‘टाइनिडाजोल एन्टिबायोटिक्स’ लिन सकिन्छ, जुन चिकित्सकको सल्लाहमा मात्र खानुपर्छ । यी औषधिले संक्रमणलाई रोक्न सक्छ ।

जबसम्म उपचार पूरा हुँदैन । तबसम्म यौनसम्बन्ध नबनाउन सल्लाह दिइन्छ । यसको उपचार नभएमा यो महिनौं र वषौंसम्म रहिरहन सक्छ ।

उपचार नभएमा

यदि समयमा उपचार भएन भने यसले अन्य यौन प्रसारित रोगको जोखिम गराउन सक्छ । गर्भावस्थामा यो समस्या भएमा डाक्टरले तोकेको प्रसव मिति अगावै सन्तान जन्मिने, कम तौलको हुनसक्ने र उनीहरूमा पनि यसको संक्रमण हुने सम्भावना हुन्छ ।

त्यस्तै, उपचार नभएमा यौनाङ्गबाट गन्हाउने खालको तरल पदार्थ बग्ने, सुन्निने र रातोपन भइराख्ने हुनसक्छ ।

कसरी बच्ने ?

– यौन सम्बन्ध राख्दा कण्डमको प्रयोग गर्ने

– असामान्य स्राव, घाउ र पिसाब गर्दा दुखाइ भएमा यौन सञ्चारित रोगको परीक्षण गराउने

– वर्षमा एक पटक पाठेघरको लागि जाँच गराउँदा यौन सञ्चारित रोगको पनि परीक्षण गराउने ।

ट्राइकोमोनिसिस प्रा. डा. सविना भट्टराई यौनरोग
प्रा. डा. सविना भट्टराई
लेखक
प्रा. डा. सविना भट्टराई
छाला तथा कस्मेटिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २७०१ एमबीबीएस (कोलकाता मेडिकल कलेज), एमडी (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) काठमाडौं मेडिकल कलेजकी पूर्वउपाध्यक्ष तथा विभागीय प्रमुख, हाल काठमाडौंको नागपोखरीस्थित लाभना स्किन एण्ड हेयर क्लिनिककी कार्यकारी निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?