+
+

जेलबाट निकाल्ने भन्दै साढे २ करोड ठगीका आरोपीसँग १५ लाख धरौटी माग

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १७:१३

३ साउन, काठमाडौं । जेलबाट निकाल्ने भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँभन्दा बढी लिएर ठगी गरेको आरोप लागेका अर्का व्यक्तिसँग पनि जिल्ला अदालत काठमाडौंले धरौटी माग गरेको छ ।

न्यायाधीश दुर्गाप्रसाद खनालको बिहीबारको इजलासले मीनबहादुर बस्नेतविरुद्ध १५ लाख रुपैयाँ धरौटी माग गरेको हो । यसअघि बस्नेतविरुद्ध फरार प्रतिवादीका रुपमा मुद्दा दर्ता भएको थियो । मुद्दा अदालत पुगेपछि बस्नेत अदालतमा हाजिर भएका थिए ।

यो घटनामा यसअघि रामेछापको दोरम्बा गाउँपालिका–५ का ५० वर्षीय दीपक चौलागाईं र उनकी श्रीमती रिताकुमारी चौलागाईंलाई प्रहरी वृत्त नयाँबानेश्वरले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

२३ असारमा न्यायाधीश विष्णुप्रसाद आचार्यको इजलासले दीपकलाई ३२ लाख र उनकी श्रीमती रिताकुमारी चौलागाईंलाई २ लाख धरौटी माग गरेको थियो ।

रिता भने २ लाख धरौटी बुझाएर रिहा भएकी थिइन् भने दीपक धरौटी नतिरेपछि कारागार चलान भएका थिए ।

३३ करोड बिगो बुझाउन नसकी जेलमा रहेका केदाप्रसाद गौतमलाई जेलबाट निकालिदिन्छु भन्दै दीपक, उनकी श्रीमती रिता र मीनबहादुर तीन जनाको समूहले २ करोड १५ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो ।

जेलमै रहेका अर्का व्यक्ति ताराप्रसाद पाण्डेलाई पनि जेलबाट निकाल्छु भन्दै दीपकले ४८ करोड ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो । ताराप्रसादको भने डिल्लीबजार कारागारमै १७ माघ २०७८ मा मृत्यु भएको थियो । ठगीने दुवै कैदी बैंकिङ कसुरमा जेल परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?