+
+

सुदूरपश्चिम नाउपा दल नेतामा फेरि घनश्याम चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १८:०९

४ साउन, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता फेरि परिवर्तन गरिएको छ ।

२९ असारमा बहुमत प्रदेश सभा सदस्यले दलको नेताबाट हटाएका घनश्याम चौधरी पुनः दलको नेतामा चयन भएका छन् ।

खुसीराम डगौरा थारुलाई दलको नेता बनाउन साथ दिएका लक्ष्मणकिशोर संरक्षक रेशम चौधरी पक्षमै फर्किएपछि घनश्याम बहुमत प्रदेश सभा सदस्यको निर्णयबाट दलको नेता चयन भएका हुन् ।

खुसीरामको साथ छाडेर आएका लक्ष्मणकिशोर चौधरीलाई प्रमुख सचेतक र इन्दिरा गिरीलाई सचेतकको जिम्मेवारी दिइएको छ । ७ जना प्रदेश सभा सदस्यमध्ये बैठकमा घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, इन्दिरा गिरी र रामेश्वर चौधरी सहभागी थिए ।

खुसीराम डगौरा थारुलाई दलको नेता चयन गर्ने निर्णयमा सहभागी भएका लक्ष्मणकिशोर चौधरीले पार्टीका संरक्षक रेशम र अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुलाई प्रयोग मात्र गरेकाले स्वतन्त्र निर्णय लिएको दाबी गरेका थिए । तर उक्त निर्णय गरेको हप्ता दिन नबित्दै चौधरीले कित्ता फेरेपछि दलको नेता परिवर्तन पुनः सम्भव भएको हो ।

चौधरीले पार्टी अध्यक्ष र संरक्षकले आफूलाई दलको नेतादेखि मन्त्री बनाउनेसम्मका आश्वासन दिएको तर त्यो परिस्थिति कहिल्यै नबनेको बताउँदै यो निर्णय अन्तिम पटकका लागि भएको दाबी गरे ।

‘उहाँहरू (अध्यक्ष र संरक्षक)ले मलाई दल नेता, मन्त्रीको आश्वासन दिएर खेलाइरहनुभएको थियो । यो पटक फेरि घनश्यामजीलाई दल नेता बनाउने निर्णयमा पुगेको हो,’ चौधरीले भने, ‘यो नै अन्तिम पटक लिएको निर्णय हो । पार्टीमा यस्तै भयो भने पदबाट राजीनामा दिनुको विकल्प रहँदैन ।’

चौधरीले आफू ६ जना प्रदेश सभा सदस्य नै एकताबद्ध हुनुपर्ने पक्षमा भएको समेत दाबी गरे । नागरिक उन्मुक्ति पार्टीले डेढ वर्षको अवधिमा दलको नेता परिवर्तन गरेको यो चौथो पटक हो ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको गुटबन्दीले यस्तो अवस्था सिर्जना भएको नेताहरू बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?