+
+

निक्षेप सवा ७ खर्ब बढ्दा कर्जा ३ खर्ब 

राष्ट्रिय वाणिज्य बैंक एक्लैको निक्षेप १ खर्ब बढ्दा सीडी रेसियो ६० प्रतिशतसम्म झरेको छ । 

विजय पराजुली विजय पराजुली
२०८१ साउन ४ गते २०:३२

४ साउन, काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा बैंकहरूको निक्षेप ७ खर्ब २२ अर्बले वृद्धि हुँदा कर्जा भने २ खर्ब ९१ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य राखेको थियो ।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ७१ अर्ब थियो । ३१ असार २०८१ मा आउँदा बढेर ६४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७ खर्ब २२ अर्बले अर्थात १२.५० प्रतिशतले बढेको छ । तर, सोही अवधिमा कर्जा लगानी भने ६ प्रतिशतले पनि बढ्न नसकेको तथ्यांकले देखाउँछ ।

बैंक तथा वित्तीय संस्थाको उठ्न नसकेको ब्याज बढेका कारण नीति क्षेत्र माथिको खुद दाबी ६ प्रतिशतभन्दा माथिले बढेको छ ।

२०८० असार मसान्तमा ४८ खर्ब ७८ अर्ब रहेको कुल कर्जा गत आर्थिक वर्षमा ५.९७ प्रतिशतले बढेर ५१ खर्ब ६९ अर्ब पुगेको हो ।

यस अवधिमा वाणिज्य बैंकहरूमा मात्रै निक्षेप १३.१५ प्रतिशतले बढेर ५७ खर्ब ५५ अर्ब पुगेको छ । सोही अवधिमा कर्जा भने ५.८६ प्रतिशतले बढेर ४५ खर्ब ७१ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ५० खर्ब ८६ अर्ब र कर्जा लगानी ४३ खर्ब १८ अर्ब थियो ।

कर्जाको तुलनामा निक्षेपको वृद्धि दोब्बर हुँदा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशतमा झरेको छ । सीडी रेसियो ९० प्रतिशतसम्म कायम गर्न पाइने भएकाले २०८१ असार मसान्तमा बैंकहरूमा कायम रहेको निक्षेपको आधारमा ८ खर्ब लगानीयोग्य स्रोत उपलब्ध रहेको छ ।

गत आर्थिक वर्षमा समग्रमा ७ खर्ब २२ अर्ब निक्षेप वृद्धि हुँदा राष्ट्रिय वाणिज्य बैंकको मात्रै १ खर्बभन्दा धेरैले वृद्धि भएको छ । धेरैजसो सरकारी कारोबार समेत गर्ने पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको कुल निक्षेप १ खर्ब ६ अर्बले बढेर ४ खर्ब २९ अर्ब पुगेको छ । २०८० असार मसान्तमा ४ खर्ब २३ अर्ब रहेको बैंकको निक्षेप एक वर्षमा ३२.८७ प्रतिशतले बढेको हो ।

यस्तै नबिल बैंकको निक्षेप ६६ अर्बले बढेर ४ खर्ब ६९ अर्ब पुगेको छ । २०८० असार मसान्तमा ४ खर्ब ३ अर्ब रहेको बैंकको कुल निक्षेप १ वर्षमा ४२ प्रतिशतले बढेको हो ।

ग्लोबल आईएमई बैंकको पनि निक्षेप ६४ अर्बले बढेर ५ खर्ब पुर्‍याउने पहिलो बैंक बनेको छ । २०८० असारमा ४ खर्ब ३९ अर्ब रहेको बैकको कुल निक्षेप २०८१ असार मसान्तमा १४.९२ प्रतिशतले बढेर ५ खर्ब ५ अर्ब पुगेको हो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको निक्षेप १३.३८ प्रतिशतले बढेर ४ खर्ब ६ अर्ब पुगेको हो ।

अर्को सरकारी लगानी भएको बैंक कृषि विकासको निक्षेप २२.०९ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब पुगेको छ । कर्जा विस्तारमा एग्रेसिभ देखिएको प्राइम कमर्सिलय बैंकको निक्षेप पनि २०.६८ प्रतिशतले बढेर २ खर्ब १६ अर्ब पुगेको छ ।

एभरेस्ट बैंकको निक्षेप १७.१५ प्रतिशतले वृद्धि भएर २ खर्ब ३३ अर्ब पुग्दा नेपाल एसबीआई बैंकको निक्षेप १६.३९ प्रतिशतले वृद्धि भई १ खर्ब ७५ अर्ब पुगेको छ ।

कर्जा विस्तार गर्न नसकेर २०८० असारको तुलनामा घटेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप पनि ६.२५ प्रतिशतले घटेर १ खर्ब १५ अर्बमा झरेको छ । 

प्राइम, नबिल, कृषि विकासको कर्जा विस्तार मौद्रिक नीतिको लक्ष्यभन्दा धेरै

गत आर्थिक वर्षमा प्राइम कमर्सिलय बैंक नबिल बैंक र कृषि विकास बैंक कर्जा लगानीमा एग्रेसिभ देखिएका छन् । निजी क्षेत्रको खस्किएको मनोबल र नयाँ परियोजना नआउँदा कर्जा विस्तार हुन सकेको छैन ।

मौद्रिक नीतिले ११.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिए पनि त्यो ६ प्रतिशतभन्दा कम नै रह्यो । तर, प्राइम कमर्सिलय बैंकको कर्जा विस्तार भने समग्र बैंकिङ प्रणालीको औसत भन्दा ३ गुणा बढी देखिन्छ । २०८० असार मसान्तमा १ खर्ब ६३ अर्ब रहेको बैंकको कर्जा गत आर्थिक वर्षमा १८.९० प्रतिशतले बढेर १ खर्ब ९४ अर्ब पुगेको हो ।

प्रतिशतका आधारमा प्राइम बैंक उच्च कर्जा विस्तार गर्नेमा देखिए पनि नबिल बैंक एक्लैले गत आर्थिक वर्षमा वाणिज्य बैंकबाट प्रवाह भएको कुल कर्जाको करिब २० प्रतिशत कर्जा विस्तार भएको छ ।

२०८० असार मसान्तमा बैंकको कुल कर्जा ३ खर्ब ४१ अर्ब रहेकोमा गत आर्थिक वर्षमा मात्रै ४७ अर्बले बढेर ३ खर्ब ८८ अर्ब पुगेको छ । बैंकले एक वर्षको अवधिमा १३.७४ प्रतिशतले कर्जा विस्तार गर्दा वाणिज्य बैंकबाट भएको औसत कर्जा विस्तारको करिब साढे २ गुणा बढी हो ।

कृषि विकास बैंकले पनि यस अवधिमा १३.०५ प्रतिशतले कर्जा विस्तार गरेर २ खर्ब ७ अर्ब पुर्‍याएको छ ।

आर्थिक वर्ष २०७९/८० मा मर्जरमा गएको बैंकहरू गत आर्थिक वर्षमा निष्क्रिय कर्जा वृद्धि हुँदा कर्जा विस्तार गर्न असफल भएका छन् । मर्जर भएका मध्ये ग्लोबल आईएमई बैंकको कर्जा ४.३८ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगाको कर्जा २.५७ प्रतिशतले मात्रै वृद्धि हुँदा कुमारी बैंकको १.३९ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ०.२२ प्रतिशतले कर्जा बढेको छ । यस्तै हिमालयन बैंकको १.३९ प्रतिशतले कर्जा बढेको हो ।

प्रभु बैंकको भने कर्जा घटेको छ । २०८० असारमा २ खर्ब ४२ अर्ब रहेको बैंकको कर्जा २०८१ असारमा आउँदा २.५६ प्रतिशतले घटेर २ खर्ब ३६ अर्बमा झरेको हो । मर्जरमा नगए पनि स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा ५.६३ प्रतिशतले घटेर ९० अर्बमा झरेको छ ।

६० प्रतिशतसम्म झर्‍यो सीडी रेसियो

निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार ज्यादै न्यून हुँदा बैंकहरूमा अधिक तरलताको चाप बढ्दै गएको छ । जसले गर्दा ९० प्रतिशतसम्म कायम गर्दा हुने सीडी रेसियो ६० प्रतिशतसम्म झरेको छ ।

२०८१ असार मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६०.७७ प्रतिशतमा झरेको छ । यस्तै नेपाल बैंकको ७२.४७ प्रतिशत, नेपाल एसबीआई बैंकको ७४.३५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७५.८७ प्रतिशत सीडी रेसियो छ ।

८० प्रतिशतभन्दा तल सीडी रेसियो हुनेमा स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कृषि विकास, एनआईसी एसिया, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु र सानिमा बैंक छन् ।

कर्जा विस्तारमा एग्रेसिभ रुपमा लागेको प्राइमको सीडी रेसियो भने ८६.२ प्रतिशत छ । त्यस्तै एनएमबी बैंकको ८३.९१ प्रतिशत र नबिल बैंकको ८३.६ प्रतिशत रहेको छ ।

 

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?