+

काभा यू-२० महिला भलिबलमा नेपालको लगातार दोस्रो हार

२०८१ साउन  ५ गते ०:१० २०८१ साउन ५ गते ०:१०
काभा यू-२० महिला भलिबलमा नेपालको लगातार दोस्रो हार

४ साउन, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । रिसिभ र डिफेन्समा खराब प्रदर्शनले निरन्तरता पाउादा शुक्रबार भएको खेलमा नेपाल कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।

प्रतिस्पर्धात्मक पहिलो सेटमा नेपालले सुरुमा अग्रता बनाएपनि १५-१५ बराबरी भएपछि कीर्गिस्तानले नेपालमाथि अग्रता बनाएको थियो । २४-२४ मा पुगेपछि कीर्गिस्तानले पहिलो सेट टाईब्रेकमा २७-२५ ले जित्दै खेलमा अग्रता बनायो । पहिलो सेटमा जित नजिक पुगेपनि आफ्नै गल्तीमा नेपाल पराजित भएको थियो । जसले गर्दा खेलको माहोल नै परिवर्तन बनेको थियो । नेपालले पहिलो सेट जितेको भए खेलको नतिजा अर्कै हुन सक्थ्यो ।

दोस्रो सेट पनि प्रतिस्पर्धात्मक बनेको थियो तर नेपाल २५-२३ ले पछि परेपछि कीर्गिस्तानले  २-० को अग्रता बनायो ।

लगातार दुई सेट जितेपछि उत्साहित बनेको कीर्गिस्तानले तेस्रो सेट २५-१७ ले सहजै आफ्नो पक्षमा पार्दै ३-० को सेटमा खेल जित्यो ।

नेपालका लागि कीर्तिस्तान विरुद्ध पनि स्पाइकर सलिना बुढा मगर बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । उनले स्पाइकबाट १६ र सर्भिसबाट १ गरी कूल १७ अंक जोडिन् ।

दोस्रो खेलमा पनि नेपाली टोलीमा तालमेलको कमी देखियो । रिसिभ र डिफेन्समा पनि नेपालको गल्ती दोहोरिँदा विपक्षीले त्यसको फाइदा उठाएका थिए ।

उपाधि जित्ने लक्ष्यसहित माल्दिभ्स आएको नेपाली टोली सुरुवाती दुवै खेलमा पराजित भएको हो । चार राष्ट्र सहभागि प्रतियोगितामा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो । दुई खेलबाट नेपाल अंकविहिन छ । कीर्गिस्तान र श्रीलंकाले लगातार दुई खेल जित्दै समान ४ अंक जोडेको छ ।

नेपाल र माल्दिभ्सले भने कुनै अंक जोड्न सकेको छैन । नेपालले लिगको अन्तिम खेलमा शनिवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

लिग चरणको खेलपछि पहिलो र चौथो स्थानमा रहने तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच सेमिफाइनल खेल हुनेछ ।

काभा यू-२० महिला भलिबल च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय