+
+

यी हुन् सबैभन्दा बस्न लायक विश्वका १० शीर्ष सहर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ५ गते १३:२८

विश्वव्यापी बसोबास योग्यता सूचक, २०२४ (ग्लोबल लिभेबिलिटी इन्डेक्स) अनुसार विश्वमा सबैभन्दा बस्नलायक सहरहरुको नयाँ सूची सार्वजनिक भएको छ ।

यसमा सहरको स्थायित्व, स्वास्थ्य सेवा, संस्कृति, शिक्षा तथा पूर्वाधारलगायतको आधारमा जीवनको गुणस्तर मापन गरी सहरहरूको बसोबास योग्यताको सूचक तयार पारिएको हो ।

उक्त सूची अनुसार विश्वमा बसोबासका लागि सबैभन्दा योग्य रहेका १० वटा सहर यी हुन्ः

१. भियना, अष्ट्रिया : विश्वमा सबैभन्दा बस्न योग्य सहरको रुपमा अष्ट्रियाको राजधानी भियनाले यो वर्ष पनि आफ्नो शीर्ष स्थान कायमै राखेको छ ।

बसोबास योग्यता सूचकमा भियनाले कुल १०० अंकमा ९८.४ अंक प्राप्त गरेको छ । यसले स्थायित्व, स्वास्थ्य सेवा, शिक्षा तथा पूर्वाधारमा पूर्ण अंक प्राप्त गरेको छ भने संस्कृति विधामा ९३.५ अंक प्राप्त गरेको छ ।

सहरबासीलाई सार्वजनिक सेवा र सुरक्षाप्रतिको प्रतिबद्धताले गर्दा भियना बसोबासका लागि आदर्श सहरको रुपमा रहँदै आएको छ।

२. कोपनहेगन, डेनमार्क : कुल ९८ अंकसहित दोस्रो स्थानमा रहेको डेनिस राजधानी कोपनहेगन त्यहाँको उच्च गुुणस्तरीय स्वास्थ्य सेवा तथा सांस्कृतिक निधिका लागि परिचित छ । यो सहरले स्थायित्व, शिक्षा तथा पूर्वाधार विधामा पनि पूर्ण अंक प्राप्त गरेको छ ।

३. जुरिच, स्विट्जरल्याण्ड : ९७.३ अंक सहित विश्वको बसोबासयोग्य सहरको सूचीमा तेस्रो नम्बरमा परेको छ स्वीस सहर जुरिच । यसले स्वास्थ्य तथा शिक्षाको विधामा पूर्ण अंक प्राप्त गरेको छ । यो हसर प्राचीन तथा आधुनिक संस्कृतिको सुन्दर मिश्रणका लागि लोकप्रिय छ । अत्याधुनिक पूर्वाधार संरचना तथा सार्वजनिक परिवहनले गर्दा यो सहर बसोबासका लागि आदर्शतम सहरको रुपमा रहेको छ ।

४. मेलबर्न, अष्ट्रेलिया : कुल ९७ अंकसहित चौथो स्थानमा परेको मेलबर्न सहर यसको सांस्कृतिक विविधताका लागि चर्चित छ । संस्कृति विधामा यो सहरले कूल ९५.८ अंक प्राप्त गरेको छ ।

जुरिचले जस्तै स्वास्थ्य र शिक्षा विधामा मेलबर्नले पूर्ण अंक प्राप्त गरेको छ जसले यहाँको सशक्त सार्वजनिक स्वास्थ्य तथा शिक्षा प्रणालीलाई दर्शाउँछ । सहरको सुविधा सम्पन्न पूर्वाधार प्रणाली तथा वातावरणले गर्दा यो बसोबास योग्य सहरको शीर्ष चारमा पर्न सफल भएको हो ।

५. काल्गरी, क्यानडा : स्थायित्व र स्वास्थ्य सेवाको विधामा पूर्ण अंक प्राप्त गर्न सफल काल्गरी सहरले बसोबास योग्यता सूचकांकमा समग्रमा ९६.८ अंक प्राप्त गरी पाँचौ स्थानमा परेको छ । सांस्कृतिक विधामा केही कम अंक पाए पनि सहरको शिक्षा तथा पूर्वाधारको पक्ष निकै सशक्त छ ।

६. जेनेभा, स्विट्जरल्याण्ड : कुल ९६.८ अंक सहित छैटौं स्थानमा रहेको स्विट्जरल्याण्ड सहर यसको उच्च गुणस्तरीय स्वास्थ्य सेवा तथा शिक्षा प्रणालीका लागि चर्चित छ । यो सहरको सांस्कृतिक पक्ष तथा पूर्वाधार प्रणाली पनि समृद्ध रहेको छ । अत्याधुनिक तथा सुविधासम्पन्न सहरी वातावरणका साथै भरपर्दो सार्वजनिक सेवाहरुका कारण जेनेभा सहरबासीहरुको रोजाइमा पर्दछ ।

७. सिड्नी, अष्ट्रेलिया : उच्च गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा तथा पूर्वाधारले युक्त सिड्नी सहर यसको बहुआयामिक कलात्मक दृश्य र सांस्कृतिक आकर्षणको विविधताका कारण विश्वको बसोबासयोग्य सहरको सातौं स्थानमा पर्न सफल भएको छ ।

सिड्नीको स्थायित्वयुक्त वातावरण र सुन्दर प्राकृतिक छटाले पनि यसको बसोबास योग्यतामा वृद्धि गरेको छ ।

८. भ्यान्कुभर, क्यानडा : कुल ९६.६ अंकसहित आठौं स्थानमा रहेको भ्यान्कुभरले शीर्ष दश सहरमध्ये संस्कृति विधामा सबैभन्दा धेरै अर्थात् ९७.२ अंक प्राप्त गरेको छ । सहरको उच्च गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा तथा पूर्वाधारका कारण सहरको जीवनको गुणस्तर उच्च रहेको छ ।

९. ओसाका, जापान : नवौं स्थानमा रहेको ओसाकाले ९६ अंक प्राप्त गरेको छ । ओसाकाले स्थायित्व र स्वास्थ्य सेवाको विधामा पूर्ण अंक प्राप्त गरेको छ । यद्यपि सांस्कृतिक विधामा ओसाकाको अंक शीर्ष १० मध्ये सबैभन्दा कम छ तर शिक्षा र पूर्वाधारलगायतले गर्दा पनि ओसाकाको बसोबास योग्यतालाई बढाएको छ ।


१०. अकल्याण्ड, न्युजिल्याण्ड :
विश्वको सबैभन्दा बसोबास योग्य सहरको सूचीमा दशौं नम्बरमा रहेको अकल्याण्डले कुल ९६ अंक प्राप्त गरेको छ ।

अकल्याण्डको स्वास्थ्य सेवा, शिक्षा तथा पूर्वाधारमा उच्च अंक रहेको छ । स्थायित्वयुक्त तथा अन्तरआबद्ध वातावरणले गर्दा अकल्याण्ड उच्च बसोबासयोग्य सहरको रुपमा स्थापित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?