+
+

संगठन विस्तारमा एमालेको लोभलाग्दो प्रगति

जनसंगठनहरुमा आवद्ध २३ लाखलाई प्रशिक्षण, शुद्धीकरण र सदस्यता दिइने

सइन्द्र राई सइन्द्र राई
२०८१ साउन ५ गते १९:२१
फाइल तस्वीर : नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्य शपथ लिँदै ।

५ साउन, काठमाडौं । मिसन–०८४ लाई लक्ष्य बनाएर पार्टी कार्यक्रम सञ्चालन गरिरहेको नेकपा एमालेले गत चुनावयता लोभलाग्दो सफलता पाएको निष्कर्ष निकालेको छ ।

विशेष गरी संगठन सुधार लक्ष्य अनुसार नै अगाडि बढिरहेको नेताहरुले निष्कर्ष निकालेका छन् । ‘आम चुनावमा हाम्रो पार्टीले लोकप्रिय मत पाए पनि दाबी बमोजिम नतिजा ल्याउन सकेन । त्यसपछि सञ्चालन गरिएको अभियानहरुबाट हामी उत्साहित छौं’, केन्द्रीय सदस्य रचना खड्का भन्छिन् ।

संगठन विभागको पछिल्लो बैठकले पनि मिसन–०८४ को लक्ष्य भेट्ने गरी संगठन सुधार भइरहेको निष्कर्ष निकालेको छ । विशेषगरी प्रदेश भन्दा तल्ला तहमा अधिवेशनबाट चयन भएको कमिटी र त्यसमा आवद्ध सदस्यको संख्या उत्साहजनक रहेको नेताहरु बताउँछन् ।

‘अहिले हाम्रो पार्टी सदस्य साढे पाँच लाख पुगेको छ । एघार वटा बाहेक सबै जिल्ला र प्रदेशको अधिवेशन भएको छ’, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल भन्छन्, ‘सबै जनसंगठनको नेतृत्व अधिवेशनबाट चयन भएका छन् ।’

संगठन विभाग सदस्यसमेत रहेका ढकालका अनुसार, एक विशेष जिल्ला कमिटीसहित अधिवेशन हुन बाँकी ११ वटै जिल्लालाई आगामी कात्तिकसम्म अधिवेशन गर्न निर्देशन दिइएको छ । अधिवेशन गर्न बाँकी वडाहरुले पनि यही समयभित्र अधिवेशन गराउनुपर्नेछ ।

नेकपा एमाले कास्की जिल्ला कमिटीको अधिवेशनमा नेताहरु ।

यसको अर्थ २०७९ मंसिरको चुनावमा एकल बहुमत ल्याउने पार्टीको दाबी पूरा नभएपछि सुरु अभियान अन्तर्गत केन्द्रीय कमिटी बाहेक सबै पार्टी संरचनाको पुनगर्ठन आगामी कात्तिकभित्र सकिनेछ ।

संगठन विभागका सदस्य शेरधन राई, कात्तिकपछि सिंगो पार्टी संरचना नै अपडेट हुने बताउँछन् । ‘नेकपाकालीन समयमा संगठनहरु अस्तव्यस्त रह्यो । फेरि एमाले पुनस्र्थापनापछि पुनर्गठनको अभियान चलाइयो । तर चुस्त नेतृत्व र कामयावी कमिटीहरु बन्न सकेका थिएनन्’, स्थायी कमिटी सदस्य राई भन्छन्, ‘हामीले विशेष अभियान अन्तर्गत बलियो र चुस्त कमिटीहरु गठन गरेका छौं, मिसन–०८४ का लागि यो एउटा बलियो आधार हो ।’

गत चुनावमा एमालेले एकल बहुमत ल्याउन नसकेपछि दुई महिना मिसन ग्रासरुट अभियान चलाएको थियो । चुनावमा अपेक्षित नतिजा आउन नसक्नुको समस्या पहिचान गर्न चलाएको उक्त अभियानका क्रममा सम्पूर्ण पार्टी पंक्ति परिचालन भएको थियो ।

एमालेले तयार पारेको दस्तावेजहरुका अनुसार, अभियानका क्रममा प्रदेश, जिल्ला, पालिका, वडा र टोलसम्म गरी २४ हजार १३२ वटा त बैठक भए । ६ हजार ९९५ वटा प्रशिक्षण कार्यक्रम र भेलाहरु आयोजना गरिए भने १३ हजार ४५९ कमिटी गठन/पुनर्गठन भए ।
२३ वटै जनसंगठनको नेतृत्व परिवर्तन गर्नेगरी महाधिवेशनहरु भए । महाधिवेशनसहित बैठकहरु दुई हजार २३० वटा भयो ।

नेता–कार्यकर्ताको यति ठूलो परिचालनबाट निकालेको निष्कर्ष अनुसार नै प्रदेश, जिल्ला, पालिका र वडाको नेतृत्व चयन गर्न अधिवेशन गर्ने निर्णय भएको थियो । जसको उद्देश्य टिके नेतृत्व र काम चलाउ संगठनबाट बलियो पार्टी बन्दैन भन्ने थियो ।

किनकि तत्कालीन नेकपाको एकता भंग भएपछि पुनर्स्थापित एमालेमा ओलीले भर्चुअल माध्यमबाट काठमाडौंमै बसेर एक दिन वडा, अर्को दिन पालिका र अर्को एक दिन जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।

त्यसरी चयन भएको नेतृत्व र कमिटीले पार्टी हाँक्न नसक्ने निष्कर्ष मिसन ग्रासरुट अभियानमा नेताहरुले निकालेका थिए । सँगै, संगठनमा युवा उपस्थिति बढाउनैपर्ने निष्कर्षमा एमाले पुगेको थियो । जसका लागि अधिवेशनमार्फत एमालेले सबै कमिटीमा युवाहरुको अनुपात निश्चित गर्‍यो ।

पार्टी नीति बमोजिम प्रदेश कमिटीमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा कमिटीमा ३३ प्रतिशत संख्या ४० वर्ष मुनिका युवाहरु निर्वाचित भएका छन् । नीति नै बनाएर अधिवेशन गरिएकाले ठूलो संख्यामा युवाहरु एमालेमा आवद्ध भइसकेको केन्द्रीय सदस्य रचना खड्का बताउँछिन् ।

एमालेले २०८० सालभित्रै उपत्यका विशेषसहित आठवटै प्रदेश अधिवेशन गरेको थियो । वर्षभर जिल्ला, पालिका र वडा अधिवेशन चलिरह्यो । संगठनमा आकर्षण बढाउन केन्द्रीय कार्यालयले पनि वर्षभर कार्यक्रमहरु गरिरहेको थियो ।

मिसन ग्रासरुट अभियानकै सुझावका आधारमा एमालेले २०८० असारदेखि एक वर्षे विशेष कार्यक्रम सञ्चालन गरेको थियो । व्यापक जिम्मेवारी हेरफेरसहित फरक भूगोलमा नेताहरुलाई खटाइएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत १४ मंसिरदेखि १ पुससम्म ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ अभियान चलाइएको थियो । यो अभियानमा मध्यपहाडी लोकमार्गले छुने ३० जिल्लामा एक दर्जन बढी ठूला सभा र सयौं कार्यक्रममा दश लाख मानिस सहभागी भएको एमाले नेताहरुको दाबी छ ।

मध्यपहाडी लोकमार्ग समृद्धि यात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली ।

यसरी एक वर्षे अभियानकै क्रममा एमालेले ठूलो सफलता हासिल गर्न सकेको पार्टी बैठकदेखि दस्तावेजहरुमा लेख्न थालेको छ । ‘दशौं राष्ट्रिय महाधिवेशनपछिको साढे दुई वर्षको हाम्रो यात्रा सफल र प्रभावकारी रहेको छ । इतिहासकै प्रतिकूल परिस्थितिलाई हामीले सम्हालिएर सामना गरेका छौं । यसले हाम्रो प्रतिरोधी क्षमतालाई थप सुदृढ बनाएको छ’, गत ८–९ वैशाखमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठकमा ओलीले पेश गरेको प्रतिवेदनमा भनिएको छ ।

अध्यक्ष ओलीले दशौं महाधिवेशन (१०–१४ मंसिर २०७८) पछिका साढे दुई वर्ष भनेपनि वैशाख २०७९ को चुनाव अगाडिसम्म एमालेको गतिविधि खासै हुन सकेको थिएन । किनकि महाधिवेशनको ६ महिनापछि नै स्थानीय तहको चुनाव र त्यसपछि ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा चुनावमा एमालेको समय बितेको थियो ।

तर आम चुनावपछिको अवधिमा भने एमालेमा देखिने गरी संगठनात्मक गतिविधि चलिरहेको छ । अधिकांश अधिवेशनहरुमा ओली आफैं सहभागी भएर मन्तव्य राखेका छन् । ओलीले कारबाहीकै चेतावनी दिँदा पनि लगभग सबैजसो कमिटीहरुमा प्यानलगत मतदानबाट नेतृत्व चयन भएका छन् ।

नयाँ लक्ष्य निर्धारण

दुई महिने ‘मिसन ग्रासरुट’ र यही असारमा सम्पन्न एक वर्षे अभियान सकिएपछि एमालेले संगठनात्मक सुधारको नयाँ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । जसको नेतृत्व महासचिव शंकर पोखरेलले गरिरहेका छन् ।

गत २४ असारमा सम्पन्न सचिवालय बैठकले एक वर्ष अगाडि फरक क्षेत्र र भूगोलमा खटाइएका नेताहरुले पाउने नयाँ जिम्मेवारीबारे खाका तयार पार्न महासचिव पोखरेल नेतृत्वको कार्यालय टिमलाई जिम्मा दिएको छ ।

नेताहरुका अनुसार, आगामी चुनावलाई लक्षित गरेर आफ्नो निर्वाचन क्षेत्रमा समय दिन पाउने गरी जिम्मेवारी निर्धारण गर्ने तयारी भइरहेको छ । अर्थात् आ–आफ्नै कार्यक्षेत्रमा नेताहरु फर्कने सम्भावना बढी छ ।

तर आफ्नै क्षेत्रमा फर्कदा पनि संगठन सुदृढीकरण र शुद्धीकरणको अभियान रोकिने छैन । ‘नेताहरुको जिम्मेवारी फेरिएला, पार्टी सरकारमा पनि भएकाले नेताहरुको भाषा फेरिएला’, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल भन्छन्, ‘तर मिसन–०८४ को अभियान रोकिदैन । एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य बनाउने लक्ष्य फेरिदैन ।’

सदस्य संख्या नबढाएसम्म बलियो पार्टी बन्न नसक्ने एमालेले निष्कर्ष नै निकालेको छ । ‘पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नका लागि जिल्ला र पालिका तहमा कुल मतदाताको ६ प्रतिशत र प्रत्येक वडामा न्यूनतम ३ प्रतिशत पार्टी सदस्यता पुग्नेगरी सदस्यता विस्तारको योजना बनाउनुपर्छ’, गत वैशाखमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलको प्रतिवेदन थियो ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक ।

महासचिव पोखरेलले ६ प्रतिशतको लक्ष्य बमोजिम थप्नुपर्ने सदस्य संख्याको विवरण जिल्ला र प्रदेशगत रुपमै निकालेका थिए । उक्त प्रतिवेदन अनुसार आगामी २०८३ सालभित्रै समग्रमा ५ लाख नयाँ सदस्यता थप्नुपर्ने दायित्व एमाले पंक्तिसामु छ । र, अहिलेकै गतिमा काम गर्दा लक्ष्य भेट्टाउन सहज बनिसकेको नेताहरुले निष्कर्ष निकालेका छन् ।

‘२०७७ सालमा एमाले पुनर्स्थापना हुँदा अढाइ लाख जति सदस्य रहेछौं, अहिले दोब्बर भयौं । अब योजनाका साथ लाग्दा एघारौं महाधिवेशनसम्म दश लाख पुग्छौं’, ढकाल भन्छन् । जनसंगठन समन्वय मोर्चाका प्रमुख समेत रहेका ढकालका अनुसार, अबको साढे दुई वर्षभित्रै दश लाख पार्टी सदस्य पुर्‍याउने प्रष्ट खाका तयार भइसकेको छ ।

‘हामी पार्टी बाहिरका युवा पंक्तिलाई जनसंगठनहरुमा आवद्ध गराइरहेका छौं । जनसंगठनमा रहेकाहरुलाई प्राथमिकतामा राखेर पार्टी सदस्य बनाउँछौं’, स्थायी कमिटी सदस्य ढकाल भन्छन् । पछिल्लो तथ्याङ्क अनुसार, एमालेको २३ वटा जनसंगठनहरुमा २३ लाख २० हजार ६१० मानिस आवद्ध छन् ।

अधिवेशनका क्रममा भएको सदस्यता नवीकरण र वितरण अनुसार सबैभन्दा धेरै सदस्य पार्टीको महिला संगठन (अनेम संघ)मा छ । संगठन विभागका अनुसार अनेम संघमा ५ लाख, मजदुर संगठन जिफन्टमा ४ लाख, विद्यार्थी संगठन अनेरास्ववियुमा ३ लाख, राष्ट्रिय युवा संघमा ३ लाख, उत्पीडित मुक्ति समाजमा एक लाख सदस्य छन् ।

‘जति सदस्य भनेर जनसंगठनहरुले बुझाएका छन्, त्यो सबै सत्य नहोला । तर निरन्तर गतिविधि गरिरहँदा दाबी गरेको संख्या अनुसारकै कमिटी बन्छ’, खड्का भन्छिन् ।

यीनै जनसंगठनमा रहेका २३ लाख सदस्यलाई फिल्टर गरेर पार्टी सदस्य र नेता बनाउने प्रक्रिया बढाउने स्थायी कमिटी सदस्य ढकाल बताउँछन् । ‘जनसंगठनहरुमा आवद्ध २३ लाखलाई हामी प्रशिक्षण दिन्छौं, शुद्धीकरण गर्छौं र सदस्य बनाउँछौं’, उनी भन्छन्, ‘तिनै विशाल पंक्तिबाट आउनेले भोलि एमाले र मुलुकको नेतृत्व गर्नेछन् ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?