+
+

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १३:३५

६ साउन, हेटौंडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।

आइतबार संसदीय दलको बैठकमा सांसदहरूले राजीनामा दिन सुझाव दिएको माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । ‘संसदीय दलले राजीनामा दिन सुझाव दिएको छ । दलको सुझावलाई मुख्यमन्त्रीज्यूले कार्यान्वयन गर्नु हुनेछ,’ ढकालले भने ।

यसअघि जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए । ५ साउनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने कार्यसूची बनाएको थियो ।

२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट सरकारको नेतृत्व माओवादी केन्द्रका जम्कट्टेलले गरेका थिए । उक्त सरकार साढे २ महिनामात्रै टिक्यो र एमाले सरकारबाट बाहिरियो ।

१० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएर सरकार टिकाए ।

२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । फागुनमा एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भएको थियो ।

बागमतीमा अब एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?