+
+

अरुणलाई सम्झिँदै ‘भुलूँभुलूँ लाग्यो मलाई…’

रामबहादुर थापा/रासस    रामबहादुर थापा/रासस   
२०८१ साउन ६ गते १५:०७

६ साउन, गण्डकी । साँझ छिप्पिँदै गएपछि मधुरो उज्यालोमुनि कलाकार भुइँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतीक्षालयमा संगीतप्रेमी व्यग्र थिए, गीतसंगीत सुन्न र त्यसको तालमा रमाउन । विस्तारै गुञ्जिन थाल्यो, ‘तिमी रामराम भजी बाँच’ ।

यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५औँ स्मृति दिवस ‘अरुण स्मृति साँझ’ सुरु भयो । दिवसका अवसरमा नेपाल मगर युवा संघ, नेपाल मगर विद्यार्थी संघ, नेपाल मगर सांस्कृतिक संघ र नेपाल मगर विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पस एकाइ समिति बागलुङले संयुक्त रुपमा ‘अरुण स्मृति साँझ’ आयोजना गरेका हुन् ।

भजन गायक रमेश राजभण्डारीले अरुणले गाएको भजनसँगै उनीसँगका स्मृतिलाई कोट्याए । अरुणले आफ्नो जीवनकालमा यही एउटा मात्र भजन गाएको समेत उनले स्मरण गरे । गायक राई र राजभण्डारीको भेट ०३० तिर पोखरामा भेट भएको थियो । त्यो बेला अरुणले पोखराको डाँफे कला मन्दिरमा गीत गाउँथे ।

‘गायनसँगै गितारवादनमा पनि उहाँ सिद्धहस्त हुनुहुन्थ्यो’, राजभण्डारीले भने, ‘भारतीय गायक किशोरकुमारबाट बढी प्रभावित हुनुहुन्थ्यो अरुण थापामगर ।’ राजभण्डारीले नेपाली संगीत जगत्‌का अमर प्रतिभाका रुपमा उनलाई सम्झिए ।

अरुणका गीत युवा पुस्तामाँझ बढी लोकप्रिय रहेका राजभण्डारीले बताए । अरुणका अधिकांश गीतमा मानवीय संवेदना, प्रेम र वियोगको अभिव्यक्ति पाइन्छ । कार्यक्रममा राजभण्डारीपछि पालैपालो अरु कलाकारले अरुण थापा मगरका गीत सुनाए । आफ्ना मनप्रिय गायकका गीत सुन्दा दर्शक मुग्ध देखिन्थे । उनीहरु साँझ अबेरसम्म संगीतमा झुमिरहे । प्रेक्षालयमा घरी गहिरो मौनता छाउँथ्यो, घरी वाहीवाही चल्थ्यो ।

प्रेम र वैवाहिक सम्बन्धको दुःखान्तपछि अरुणले गाएका ‘जति माया लाए पनि…’, ‘चोट के हो व्यथा के हो…’ जस्ता लोकप्रिय गीतमा कलाकारलाई दर्शकले खुलेर साथ दिए । आफ्ना आदर्श गायकको सम्झनामा गायक शुभराम भारी, ताराप्रसाद श्रेष्ठ, किशोर थापालगायत पलेँटीमा प्रस्तुत भए । अरुण थापाको चर्चित गीत ‘ऋतुहरुमा तिमी…’ गायक श्रेष्ठले सुनाए । किशोर थापाले ‘भुलुँभुलुँ लाग्यो मलाई…’, ‘चोट के हो व्यथा के हो…’लगायत गीत गाए ।

कलाकार प्रेम बुढामगरले थापाको लोकप्रिय गीत ‘जति माया लाए पनि…’ र सागर सुनारले ‘आँखाको निद…’ सुनाए । शुभराम भारीले अरुण थापालाई समर्पित गर्दै नारायणगोपालद्वारा स्वरबद्ध ‘आजै र राति के देखेँ सपनी…’ र ‘अल्झेछ क्यारे पछ्यौरी…’ प्रस्तुत गरे । वाद्यवादनमा कलाकार सूर्य घतानेलगायतले साथ दिएका थिए । अरुण थापाका दर्जन बढी चर्चित गीत कार्यक्रममा प्रस्तुत भए । अरुणले आफ्नो जीवनकालमा झण्डै ५० गीत गाएका छन् ।

गायक अरुण थापामगरको सम्मानमा स्मृति साँझको आयोजना गरिएको नेपाल मगर विद्यार्थी संघ बागलुङका कार्यवहाक अध्यक्ष डम्मर बुढामगरले बताए । कार्यक्रममा नेपाल मगर संघका जिल्ला सदस्य संगम घर्तीमगरले अरुणको व्यक्तित्वबारे चर्चा गरे ।

उनले अरुण थापा जनमानसमा लोकप्रिय गायकका रुपमा स्थापित भए पनि तत्कालीन समयमा राज्यको उपेक्षामा परेको उल्लेख गरे । ‘सुरुको कालखण्ड सुखद् रहे पनि अरुण थापाको जीवन वियोगान्त ढंगले टुंगिन पुग्यो’, उनले भने, ‘उहाँ जत्तिको गायकलाई राज्यकै तवरबाट सम्मान दिइनुपर्थ्यो । तर आज मगर समुदायले मात्र सम्झनुपर्ने बिडम्वनापूर्ण अवस्था छ ।’

अरुणले विसं २०३४ मा गाएको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौँ’ बीबीसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो । नेपाली सुगम संगीतलाई विश्वजगत्‌मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई दिइन्छ ।

विसं २००९ माघ ११ गते भारतको कलकत्तामा जन्मिएका अरुणको विसं २०५६ साउन ५ गते काठमाडौँको एक होटलमा देहान्त भएको थियो । जीवनको आखिरीतिर गम्भीर रुपमा अस्वस्थ भई उनले मृत्युवरण गरे । ४७ वर्षको छोटो आयु बाँचे पनि गायक अरुण थापामगरले नेपाली सुगम सङ्गीतलाई कालजयी गीतहरु छोडेर जाएका छन् ।

अरुणले विसं २०३२ मा रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको संगीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठूलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गराएका छन् । यही गीतबाट अरुणको सांगीतिक यात्रा सुरु भएको थियो । उनको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन ।

विसं २०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरुमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?