+
+

ओली प्रधानमन्त्री बन्दा खुसी छु, तर विश्वासको मत दिन सक्दैनौं : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १६:१०

६ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा आफू खुसी भएको तर विश्वासको मत भने नदिने बताएका छन् ।

विगतमा एमालेसँग दुईवटा चुनावमा सहकार्य गरेको भन्दै लिङ्देनले आफूहरूले भोट दिएका व्यक्ति प्रधानमन्त्री बनेको भन्दै खुसी व्यक्त गरे ।

‘केपी शर्मा ओली प्रधानमन्त्री बन्दा स्वाभाविक रुपमा प्रतिपक्षी दलमध्ये म बेसी खुसी छु, किनभने दुई दुई पटक मेरो पार्टीले उहाँलाई मत दिएको छ, मैले पनि मत दिएको छु’, उनले भने ।

गत आम चुनावमा राप्रपाले प्रतिनिधि सभामा ३ क्षेत्र र प्रदेश सभामा ४ क्षेत्रमा एमालेको सहयोग लिएको र एमालेलाई प्रतिनिधि सभामा १० ठाउँ र प्रदेश सभामा २२ ठाउँमा सहयोग गरेको लिङ्देनले बताए ।

‘अन्य राजनीतिक दलसँग पनि सम्बन्ध राम्रै छ र एमालेसँग विशेष सम्बन्ध छ । एमालेले नेतृत्व गरेको सरकार बन्दा उहाँ प्रधानमन्त्री अर्थमन्त्रीजी पनि हामीसँग तालमेल गरेको व्यक्ति हुनुभएको छ । त्यसकारण हामी खुशी छौं’, उनले भने ।

तर नयाँ गठबन्धन बनेपछि एमाले महासचिव शंकर पोखरेलले एक टेलिभिजनमा दिएको अन्तर्वार्ताले आफूहरु झस्किएको लिङ्देनले बताए ।

‘यो गठबन्धनले समानुपातिक समावेशी समाप्त पार्ने जस्तो कुरा गर्नुभयो, त्यो नगरे स्थिरता हुँदैन भन्नुभयो’, उनले भने, ‘कांग्रेस एमाले मात्र भएको देश कस्तो हुन्छ होला ?’

२०६२/६३ को जनआन्दोलनको मुख्य उपलब्धि समानुपातिक समावेशी रहेको भन्दै लिङ्ेदनले प्रमुख दुई दलले यसलाई समाप्त पार्ने खतरा रहेको बताए । ‘त्यसकारण यो खतराबाट देशलाई जोगाउन राप्रपा प्रतिपक्षी कित्तामा बस्नुपर्ने जरुरी देखियो’, उनले भने, ‘स्थिरता नहुनुमा समावेशी समानुपातिक र साना दल होइन, तपाई ठूला दलको क्रियाकलाप हो ।’

संसदीय अंकगणितले मात्र स्थिरता नदिने भन्दै लिङ्देनले दुई ठूला कम्युनिस्ट पार्टी मिल्दा पनि ५ वर्षसम्म सरकार चल्न नसकेको उदाहरण दिए । उनले भने, ‘समस्या साना दल होइन, तपाईंहरूको चरित्र हो, प्रवृत्ति हो ।’

अहिले कांग्रेस र एमाले सत्ताका लागि मात्र मिलेको भन्दै उनले देशका लागि मिलेको भए माओवादी र राप्रपालाई पनि सँगै आउने वातावरण बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?