+

नि:सन्तानपन : वैदेशिक रोजगारीमा जानुअघि किन गर्ने वीर्य भण्डारण ? (भिडियो)

२०८१ साउन  ७ गते ११:४६ २०८१ साउन ७ गते ११:४६
नि:सन्तानपन : वैदेशिक रोजगारीमा जानुअघि किन गर्ने वीर्य भण्डारण ? (भिडियो)

वैदेशिक रोजगारीमा जानेको संख्या लगातार बढिरहेको छ । यसले देशको जनशक्ति पलायन हुने मात्र होइन, निःसन्तानपनको समस्या पनि बढाएको छ ।

सुन्दा अचम्म लाग्ला तर यो आजको वास्तविकता हो । निःसन्तानपन केन्द्रमा आउने धेरैजसो पुरुष भन्ने गर्छन्, ‘रोजगारका लागि केही वर्ष परदेशमा बसें । श्रीमतीमा पनि कुनै समस्या छैन । मेरो कारणले नै बच्चा भइरहेको छैन । किन होला ?’

पक्कै पनि विदेशी भूमिमा बस्ने पुरुषहरूमा यो समस्या बढ्नुमा धेरै जोखिम कारक छन् । जसमा एउटा प्रमुख हो तापक्रम । तापक्रमले वीर्य उत्पादनमा कमी ल्याउँछ । प्राय: युवा चर्को गर्मी हुने क्षेत्रमा पुगेका छन् । यस्तोमा भित्रभन्दा बाहिर उच्च तापक्रममा काम गर्नेहरूको संख्या धेरै छ ।

पुरुषको शुक्रकीट उत्पादन शरीरबाहिर रहेको अण्डकोषमा हुन्छ । जसकारण शरीरको तापक्रमभन्दा अण्डकोषको तापक्रम कम्तीमा पाँच डिग्री जति कम हुनुपर्छ । अण्डकोषको तापक्रम सो अनुपातमा कम भए मात्र नियमित र स्वस्थ वीर्य रहन्छ । यस्तोमा अत्यधिक तापक्रममा काम गर्दा अण्डकोषको तापक्रममा असन्तुलन ल्याउँछ । चर्को गर्मीमा कसिलो अन्डर वेयर प्रयोगले थप तापक्रममा असर पार्छ ।

यस्तोमा एउटा अर्को समस्या भनेको भेरीको सेलले असर गर्नु । भेरीको सेलले असर गरेमा अण्डकोषको वरपरको नसाहरू फुलेर रक्तसञ्चार आवश्यक भन्दा बढी हुन्छ, जसले प्रत्यक्ष असर वीर्य उत्पादनमा गर्छ । यस्तोमा शुक्रकीटको चालमा परिवर्तन आउने, कम उत्पादन हुने, बनेको शुक्रकीटको बनावट पनि असामान्य हुनेसम्मको जोखिम रहन्छ ।

दोस्रो हो, समयावधि । गर्भ रहनलाई महिलाको डिम्बसँग पुरुषको शुक्रकीटको मिलन हुनुपर्छ । महिलाको डिम्ब महिनावारी भएको १० देखि १८ दिनको बीचमा मात्र निस्कन्छ । जुन १२ देखि २४ घण्टा मात्र सक्रिय हुन्छ । यो अवधिमा दम्पतीबीच यौन सम्बन्ध भएन भने सन्तान जन्मिने सम्भावना कम हुन्छ ।

३५ वर्षभन्दा कम उमेरका जोडीले कम्तीमा पनि एक वर्षसम्म साताको दुई दिन भन्दा बढी यौन सम्बन्ध राख्दा पनि बच्चा बसिरहेको छैन भने त्यसलाई बाँझोपनको समस्या भएको हो कि भनेर हेरिन्छ । यस्तोमा रोजगारीका लागि जाने पुरुषहरूमा कसैको योजना हुन्छ, विवाह गरेको एक महिनामा बाहिर जाने । कसैको भने वर्षमा वा दुई वर्षमा एक पटक आउने र सन्तानको योजना बनाउने हुन्छ ।

यस्तोमा भेटेको छोटो अवधि र अनियमित यौन सम्बन्ध राख्दा महिलाको अण्डा निस्किने समय परेन भने गर्भधारण हुन असम्भव हुन्छ । यसलाई पनि निःसन्तानपनको एउटा कारक मान्न सकिन्छ ।

तेस्रो हो, तनाव । वैदेशिक रोजगारमा हुने पुरुषलाई कामको तनाव, भागदौड, आर्थिक तनाव, वर्षौंसम्म श्रीमतीसँग छुटेको तनाव, उमेर गइसक्यो सन्तानको योजना बनाउन नसकेको तनावका कारण स्वदेश फर्किएर सम्बन्ध राखे लगत्तै सन्तान नबस्न सक्छ । तनावले टेस्ट्रोरोन हर्मोनको सन्तुलन बिगार्छ, जसले वीर्यको संख्यामा कमी ल्याउन सक्छ ।

तनावले शरीरमा फ्री र्‍याडिकल्सहरु (स्थिर भएर बस्न नसक्ने तर शरीरका लागि हानिकारक अणु) उत्पादन गर्छ । फ्री र्‍याडिकलहरुले पनि सामान्य अवस्थामा रहेको वीर्यलाई क्षति गर्न सक्छ । जसको प्रभाव गर्भधारणमा देखिन्छ ।

चौथो कारण खराब जीवनशैली पनि हो । यसले पनि पुरुषको सन्तान उत्पादन क्षमतामा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारिरहेको हुनसक्छ । कतिपयको खानपान नमिल्ने, समयमा खान नपाउने, डबल ड्युटी गर्ने, सुत्ने ठेगान नहुने, काम सकेपछि आराम गर्ने बेलामा अत्याधिक मदिरा खाने र धुम्रपान गर्ने जस्तो जीवनशैली अपनाउँदा पनि वीर्यको गुणस्तरमा खराबी ल्याउन सक्छ ।

त्यस्तै, रासायनिक तत्वको सम्पर्क, मोटोपना, उच्च मधुमेह भएमा पनि वीर्य उत्पादनमा असर गर्छ ।

वैदेशिक रोजगारमा जानेले वीर्यको क्षमता यथावत् राख्न के गर्ने ?

वैदेशिक रोजगारमा जाने व्यक्तिले गर्न सक्ने राम्रो विकल्प भनेको वीर्य भण्डारण हो । एक पटक वीर्य भण्डारण गरिसकेपछि चाहेको बेलामा त्यसलाई प्रयोग गरी श्रीमतीबाट गर्भधारण गर्न सकिन्छ । विवाह नगरेका युवकले पनि भविष्यका लागि भनेर वीर्य भण्डारण गर्न सक्छन् ।

क्यान्सर भएर किमोथेरापी गर्नुपर्ने अवस्थाका युवकहरुले पनि भविष्यका लागि वीर्य भण्डारण गर्न सक्छन् ।

वीर्य भण्डारणको प्रक्रिया के छ ?

सर्वप्रथम, सरुवा रोग छ कि छैन भनेर रगत परीक्षण गरिन्छ । यदि कुनै समस्या देखिए पहिला त्यसको उपचार र नदेखिए वीर्य संकलन गरिन्छ । संकलन गरिएको वीर्यमा लेभल गरेर नाम र विवरण दिएर नाइट्रोअक्साइडको टयांकमा विस्तारै चरणबद्धरुपमा भण्डारण हुन्छ । सो शुक्रकीटलाई आफू तयार भएपछि प्रयोग गर्न मिल्छ । जसलाई ५, १० र १५ जति वर्षमा पनि सदुपयोग गर्न सकिन्छ ।

भण्डारण गरिएको प्रयोग कसरी हुन्छ ?

भण्डारण गरिएको शुक्रकीटलाई प्रयोग गर्ने दुई तरिका छन् । एउटा इन्ट्रायुट्रिन इनसेमिनेसन र अर्को आईभीएफ ।

इन्ट्रायुट्रिन इनसेमिनेसनमा तयार वीर्यलाई सिधै महिलाको पाठेघरमा छोडेर गर्भवती बनाइन्छ । यता आईभीएफमा वीर्यमा अण्डा राखेर भ्रूण तयार गरी बल्ल पाठेघरमा छोड्ने गरिन्छ ।

वीर्यको गुणस्तरमा कमी भसमाधान छैन ?

वीर्यको गुणस्तरमा कमी भइसकेपछि पनि पूर्ण सन्तुलनमा आउन सक्छ । तापक्रम, जीवनशैलीले गर्दा वीर्यको गुणस्तरमा ह्रास आएको छ भने केही महिना जीवनशैलीमा परिवर्तन ल्याए पूर्ण रुपमा सुधार आउँछ । तर केही समय भन्ने लाग्न सक्छ ।

स्वदेश फर्किने बित्तिकै गर्भधारण गर्नुपुर्व स्वास्थ्य परीक्षण

स्वदेश फर्किने बित्तिकै सन्तान योजना गर्न चाहानेले एकपटक विशेषज्ञलाई भेटर परामर्श लिई सामान्य परीक्षण गर्नु उचित हुन्छ । जसमा महिलाको हकमा रगत परीक्षण, पाठेघरको अल्ट्रासाउण्ड गर्न सकिन्छ ।

त्यस्तै, पुरुषमा वीर्य परीक्षण गरी गुणस्तर पत्ता लगाउन सकिन्छ । परीक्षणपछि समस्या देखिए सोही अनुसारको उपचार र चिकित्सकको सल्लाहमा सन्तान योजना गर्न सकिन्छ ।

पुरुषमा ४० वर्षसम्म वीर्य स्वस्थ रहन्छ’

महिलाहरुले जन्मिंदै निश्चित अण्डा लिएर आएका  हुन्छन् । तर पुरुषको हकमा भने बुढ्यौलीसम्म वीर्य उत्पादन हुन्छ । ४० वर्षसम्म शुक्रकीट स्वस्थ मानिन्छ । त्यसपछि उमेर र अन्य स्वास्थ्य समस्याले कमजोर हुँदै जान्छ ।

वीर्यको गुणस्तर बढाउन के गर्ने ?

शरीर स्वस्थ हुनु भनेको वीर्यको गुणस्तर पनि राम्रो हुनु हो । यसको गुणस्तर बढाउन स्वस्थ खानपान गर्ने, आठ घण्टा सुत्ने, तनावपूर्ण वातावरण, धुम्रपान, मदिराबाट टाढा रहने, दैनिक व्यायामका लागि केही समय छुटाउने, शारीरिक सक्रियता बढाउने गर्नुपर्छ ।

शुक्रकीटको मात्रा, बनावट र स्वरूपमा परिवर्तन देखिएमा सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । यस्ता सानातिना समस्यालाई एन्टिअक्सिडेन्ट प्रयोग गरेर सन्तुलनमा ल्याउन सकिन्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

डा. लता श्रेष्ठ वीर्य भण्डारण वैदेशिक रोजगारी
डा. लता श्रेष्ठ
लेखक
डा. लता श्रेष्ठ
प्रसूति तथा नि:सन्तानपन रोग विशेषज्ञ

डा. श्रेष्ठ  वात्सल्य नेचुरल आईभीएफमा कार्यरत छिन् । प्रसूति तथा स्त्री रोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९१३८ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?