+
+

साढे ६ वर्षपछि बागमती सरकारबाट बाहिरिए जम्कट्टेल

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८१ साउन ६ गते २०:३२

६ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल साढे ६ वर्षपछि सत्ताबाट बाहिरिएका छन् ।

प्रदेशको पहिलो कार्यकालको पाँच वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय चलाएका जम्कट्टेल प्रदेशको दोस्रो कार्यकालमा तीन पटकसम्म विश्वासको मत पाएर मुख्यमन्त्रीमा टिकेका थिए ।

१८ महिना मुख्यमन्त्री भएका उनी नयाँ सत्ता समीकरण नेपाली कांग्रेस र नेकपा एमालेको पोल्टामा पुगेपछि सरकारबाट बाहिरिएका हुन् ।

सत्ता साझेदार दल नेकपा एमालेले २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

जम्कट्टेलले मुख्यमन्त्री र मन्त्री गरेर आफू साढे ६ वर्षदेखि लगातार सत्तामा रहँदै प्रदेशको संवैधानिक अधिकार प्राप्तिका लागि लडेर आएको र अधिकार पाउने बेलामा सरकार गुम्न पुगेको बताए ।

मुख्यमन्त्री कार्यालयमा आइतबार बिहान सरकारका उपलब्धि सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशलाई अधिकारसम्पन्न बनाइ विकासको गतिमा अगाडि बढाउन आफूले भूमिका खेलेको बताए ।

आफू सरकारमा रहँदा नीतिगत र पूर्वाधारको क्षेत्रमा धेरै काम गरिएको दाबी गरे । प्रादेशिक सडक गुरुयोजना बनाएर टुक्रे योजनालाई निरुत्साहित गर्ने काम भएको उनको भनाइ छ ।

जम्कट्टेलले आफ्नो कार्यकालबाट विकासको मूल नेतृत्व प्रदेश सरकार रहेको कुरा स्थापित गराउन भूमिका खेलेको दाबी गरे । आफूले प्रदेश सरकारमा रहेर गरेको कामको उपलब्धिको विवरण बजेट किताब भन्दा ठूलो हुने उनले सुनाए ।

जम्कट्टेल २८ माघ २०७४ मा डोरमणि पौडेल नेतृत्वको तत्कालीन नेकपा सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । नेकपामा एमालेका पौडेलले मुख्यमन्त्री लिएपछि माओवादी तर्फबाट उनले दोस्रो ठूलो हैसियतको मन्त्रालय सम्हाले ।

४२ महिना कानुनमन्त्री चलाएका जम्कट्टेल नेकपा विभाजन भएपछि मात्रै मन्त्री पदबाट छोटो समयका लागि बाहिर बसे ।

उनी २०७८ को भदौदेखि १० कार्तिकसम्म दुई महिना मात्रै सरकार बाहिर बस्नु पर्‍यो । तत्कालीन नेकपा फुटसँगै एमाले विभाजनको संघारमा पुग्दा २ भदौ २०७८ देखि १० कार्तिकसम्म अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा जम्कट्टेल सरकारबाट बाहिर रहे ।

एमाले विभाजनपछि १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्यको सरकार ढल्यो । १० कार्तिकमा राजीनामा दिएर उनी सरकारबाट बाहिरिइन् ।

शाक्यको बर्हिगमनसँगै कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट ११ कार्तिक २०७८ मा राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बने ।

एकीकृत समाजवादीका नेता पाण्डे नेतृत्वको सरकारमा जम्कट्टेल २५ कार्तिक २०७८ मा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भए ।

एक वर्षपछि दोस्रो प्रदेश सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ (२)बाट विजयी भए र बागमतीको मुख्यमन्त्री बने । त्यसपछि बागमतीमा नेकपा माओवादी केन्द्रबाट साढे ६ वर्षसम्म निरन्तर सत्तामा रहने एक्ला सांसद बने, जम्कट्टेल ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई २५ पुस २०७९ मा प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त गरे ।

त्यतिबेला एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्तासमीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकार गठन भएको थियो । त्यो सरकार साढे २ महिनामात्रै टिक्यो र एमाले सरकारबाट बाहिरियो ।

१० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिए । २० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्तासमीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो ।

एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भयो । यो सरकार पनि चार महिना मात्रै टिक्यो ।

नयाँ सत्तासमीकरण बनेसँगै बागमतीमा अब चौथोपटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ । मुख्यमन्त्री कांग्रेसलाई दिने सैद्धान्तिक सहमति बनिसकेको नेकपा एमाले बागमती प्रदेशका मुख्य सचेतक मधुसुदन पौडेलले जानकारी दिए । उनका अनुसार एमालेले ७ वटा मन्त्रालय मागेको छ ।

मन्त्रालय भागबन्डाको विषय टुंगिन बाँकी रहेको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले बताए । लम्सालले २ दललाई ७ र ६ वटा मन्त्रालयको टुंगो लाग्न सक्ने बताए ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?