+
+

तीन जना गुरुको सम्मानमा मिथिलाले स्थापना गरिन् पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १८:३१

काठमाडौं । अभिनेत्री तथा कुशल नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय करिअरका गुरुहरुको सम्मानमा पुरस्कार स्थापना गरेकी छन् । गुरु दक्षिणास्वरुप पुरस्कार स्थापनासँगै उनले कलाकर्मीलाई नगद राशि समेत प्रदान गरिन् ।

गुरुपूर्णिमाको अवसरमा आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरियो । संगीतकार गोपाल योञ्जनको नाममा स्थापित गोपाल योञ्जन संगीत साधना पुरस्कार संगीतकार शिलाबहादुर मोक्तानलाई प्रदान गरिएको छ ।

फिल्म लेखक, निर्देशक तथा गीतकार चेतन कार्कीको नाममा स्थापित चेतन कार्की गीति वाङ्मय पुरस्कार गीतकार श्रीपुरुष ढकाललाई प्रदान गरिएको छ । हास्यजोडी राजपाल थापा र ध्रुवरत्न हाडाको नाममा स्थापित हाडा एण्ड पाल हास्य वाङमय पुरस्कार हास्यव्यग्य जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरियो ।

स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा सहभागी हुन नसकेका हरिवंशको पुरस्कार भने उनका छोरा मोहितले ग्रहण गरे । समारोहमा पूर्वप्रहरी महानिरीक्षक दुर्लभकुमार थापा, अभिनेता नीर शाह, अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी, मिथिला शर्मा, गोपाल योञ्जन पत्नी रिन्छेन, चेतन कार्कीकी पत्नी गंगा, ध्रुवरत्न हाडाकी पत्नी मोहिनी र राजपाल थापाका छोरा कपिलले सम्मान प्रदान गरे ।

समारोहमा पूर्वप्रहरी महानिरीक्षक थापाले पूर्वप्रहरी कलाकारको संगठन नेपाल पूर्वप्रहरी कलाकार संघको उद्घाटन गरे । संघमा क्षेत्रबहादुर गुरुङ संस्थापक संरक्षक, मिथिला शर्मा वरिष्ठ सल्लाहकार र रामबहादुर थापा संस्थापक अध्यक्ष छन् ।

संस्थापक संरक्षक क्षेत्रबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको समारोहमा बोल्दै अभिनेत्री शर्माले अग्रजले कलासाहित्य संगीत, नृत्य हास्य लगायत विधामा रचेको इतिहासलाई अगाडि बढाउने वाचा गरिन् ।

विगतका दिन सम्झिंदै उनले भनिन्, ‘मेरो कलाकारिताको यात्रा महेन्द्र पुलिस क्लबको स्टेजबाट ९-१० वर्षको उमेरमा भएको थियो । त्यतिबेला राजपाल थापा, ध्रुव हाडा, चेतन कार्कीलगायत मेरो गुरु मात्र नभई मार्गदर्शक पनि हुनुहुन्थ्यो । अझ चेतन सर त मार्गदर्शकका साथै अभिभावक पनि हुनुहुन्थ्यो । आज उहाँकै कारणले तीन मिनेटको गीतले तीन दशकसम्म यात्रा गर्न सफल भएकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?